तोल्स्तोई बूढाको एउटा मार्मिक कथा छ । कथामा मृत्युको देवताले एकदिन आफ्नो दूतलाई पृथ्वीमा पठोउँछन् । एउटी आइमाईको मृत्यु हुनेवाला थियो । तिनको आत्मालाई लिनाको लागि देवदूतलाई पठाइएको थियो । देवदूत ती महिलाको लाश वरिपरि विजोग भएका नानीहरुको अवस्थाले हड्बडाउँछन् । एउटी सानी बच्ची लाश भएकी आमाको दूध चुसिरहेकी थिई । एउटी बच्ची रोइरहेकी थिई । अर्की बच्ची रुँदारुँदै त्यहीँ निदाएकी थिई । ती अबोध नानीहरुलाई हेरचाह गर्ने, माया दिने कोही थिएनन् । उनीहरुका बुबा पहिले नै मरिसकेको थियो ।
देवदूतलाई यति धेरै टिठ लाग्यो । ती महिलाको आत्मा लिएर जान सकेन । खाली हात फक्र्यो । आफ्नो मालिकसित बिन्ती बिसायो – मलाई क्षमा गर्नु होला, मैले तपाईले भनेको स्त्रीलाई लिएर आउन सकिनँ उसले तीनवटै बच्चीहरुको कारुणिक अवस्था बेलिविस्तार लाउँदै भन्यो –त्यस्ता नानीहरुसित छुटाएर ती महिलालाई ल्याउन मेरो मन मानेन । ती महिलालाई केही समय आयु थपिदिए हुँदैन । कम्तीमा बच्चीहरू त हुर्किन पाऊन् । नत्र त तिनको रेखदेख गर्ने नै कोही हुन्न् ।
देवदूतले मृत्युको देवतालाई साफसित हकारे –तँ ज्यादा बाढो हुँदैछस् । जसको मर्जीले मृत्यु भएको छ । त्यसलाई रोकन खोज्ने तँ को होस् । जसको मर्जीले जीवन मिल्छ, त्यसकै मर्जीले मृत्यु हुन्छ । तैँले विधिको विधान मिचेरर ठूलो पाप गरिस् । यसको सजाय तैँले भोग्नैपर्छ । तँ आफ्नो सजाय भोग्न पृथ्वीमा गिर्नैपर्छ । जवसम्म आफ्नो मूर्खता उपर तीनचोटि हाँस्तैनस्, तबसम्म तँ स्वर्ग फर्किन पाउदैनस् ।
देवदूतलाई जाडोको दिनमा नांगै भुतुंगै पारेर पृथ्वीमा झारियो । असाध्य ठण्डीको दिन थियो । एउटा सार्की आफ्ना नानीहरुलाई जाडोका लुगा किन्न सहर गैरहेको थियो । त्यो सार्की सहर जाँदा बाटोको छेउमा एउटा नांगो भुतुंगो मानिस जाडोले कठ्याङ्ग्रिएको देख्यो । त्यो मानिस त्यही देवदूत थियो जसलाई दण्डित गरेर पृथ्वीमा झारिएको थियो ।
उसलाई देखेर सार्कीलाई दया आयो । आफ्ना नानीहरुलाई कोट र कम्बल किन्न लगेको पैसाले त्यही मानिसलाई लुगाफाटो किनिदियो । र उसलाई घरतिर लिएर हिंड्यो । त्यो बेवारिसे मानिसप्रति दयाभाव राख्तै उसले भन्यो –हेर तिम्रो दुःख देख्न सकिनँ । छोराछोरीलाई लुगा किन्न ल्याएको पैसा तिम्रो निम्ति खर्च भयो, तिमीलाई देखेर । अनि मैले छोराछोरीलाई कपडा नकिनेको कारणले श्रीमती पक्कै रिसाउँछिन् । यसमा तिमीले दुःख मान्नुपर्दैन । सबै कुरा दुईचार दिनमा ठीकठाक भैहाल्छ । नभन्दै सार्की घरमा पुगेपछि सर्किनी रिसले आगो बनी । अपरिचित मान्छे लिएर आएकोमा ऊ पागलै बनी । आफ्नो घरमा देवदूत आएको कुरा न त सार्किलाई थाहा थियो । न त सर्किनीलाई थाहा थियो । कुनै पनि घरमा देवदूतको आगमन हुनु भनेको परम सौभाग्यको कुरा थियो । नानीहरुलाई कोट र कम्बलको के कुरा; सार्कीको घरमा अब हजारौँ खुशीहरुको वर्षात् हुनेवाला थियो । कारण देवदूतको आगमन हुनु नै ठूलो भाग्य खुल्नु थियो । तर यस कुराको ज्ञान र हेक्का सर्किनीलाइृ रत्तिभर पनि थिएन । मान्छेको अबोध अज्ञानता देखेर देवदूत पहिलोचोटि हाँस्यो ।
सार्कीसित उसले केही दिनमै जुत्ता सिउन, छालाको काम गर्न सिक्यो । उसले यति राम्रो जुत्ता सिउन थाल्यो । सारा मान्छेहरू त्यही सार्कीको घरमा जुत्ता सिलाउन आउन थाले । राजादेखि रंकसम्म सबै ओइरिन थाले । चारै महिनामा सार्की धनी भयो ।
एकदिन राजाको मानिस ज्यादै किमति छाला लिएर सार्कीको घरमा आयो । उसले त्यसलाई छाला दिंदै भन्यो –यो दामी छाला छ । यसको राजालाई जुत्ता सिइदिनु अरे । स्लीपर सिइदिने होइन नि । त्यतिखेर रुसमा मरेको मानिसलाई छालाको स्लीपर लगाएर मशानघाट लगिन्थ्यो । देवदूतको पालो जुत्ता होइन स्लीपर सिलाइदियो । स्लीपर सिलाएको देखेपछि सार्की रिसले बौलायो । तँ पागल भइस् अब मलाई समेत फाँसीको सजाय गराउने भइस् । तँलाई जुत्ता सिउनु भनिएको थियो कि स्लीपर सिउनु भनेको थियो । दाउरो उठाएर उसलाई कुट्न खोज्यो । ऊ फेरि एकचोटि खिलखिलाएर हाँस्यो ।
केहीबेरमा सम्राटको मानिस दौडिंदै आयो र भन्यो –त्यो मैले दिएर गएको छालाको जुत्ता नबनाउनू स्लीपर बनाउनू किनभने राजाको मृत्यु भैसक्यो । देवदूतले त्यो कुरा जानेरै स्लीपर सिएको थियो । सार्कीले स्लीपर सिलाएकोमा जति गाली गर्यो, त्यसमापश्चाताप गरी क्षमायाचना गर्यो ।
एकदिन अर्को घटना पनि घट्यो । एउटी बूढी महिला तीनवटी जवान केटीहरू लिएर सार्कीको घरमा आई । तीनवटै केटीको लागि जुत्ताको अर्डर दिन आएकी थिई । देवदूतले ती केटीहरुलाई चिनिहाल्यो, ती केटीहरू त्यही मृत आइमाईका बच्चीहरू थिए । त्यो बूढी आइमाईले सबै कुरा बेलीबिसतार लगाई –यी मेरा छिमेकीका छोरीहरू हुन् । विचरा यिनकी आमा गरिब थिइन् । घरमा भुटिभाङ केही थिएन । असमयमै उनी छोडेर गइन् । मेरा आफ्ना बालबच्चा कोही थिएनन् । धनसम्पत्ती टन्नमन्न थियो । यिनै बच्चीहरुलाई पालनपोषण गरें, स्याहारें । यिनीहरुको ठूलो भाग्य, धनदौलतको वैभवमा हुर्किन पाए । मेरो सारा सम्पतीको मालिक हुन पाए यी केटीहरू । अहिले यिनको विवाह राजपरिवारमा हुन गैराखेको छ । त्यसैले जुत्ताको अर्डर गर्न आएकी ।
देवदूत ती बुढी आइमाईका कुरा सुनेर चकित भयो । मैले आशा गरे जस्तो यदि यी केटीहरुकी आमा बाँचेकी हुन्थी भने यिनीहरुको कति ठूलो दुर्गति हुन्थ्यो । अनिकाल, भोक र गरिबीमा बाँच्नु पर्थ्यो । सुख वैभव कुन चराको नाउ हो त्यो देख्न भोग्न पाउँदैनथे । यति ठूलो सम्पत्तिको हकदार हुन पनि पाउन्नथे । सम्राटको परिवारमा विवाह हुने कुरा त सोच्न पनि सकिन्नथ्यो । आमाको मृत्यु हुनु नै यिनीहरुको लागि सौभाग्यको द्वार खुल्नु थियो ।
देवदूतलाई आफ्नो भूल थाहा भयो र तेस्रोचोटि आफ्नो मूर्खतामा हाँस्यो र उसले सजाय भुक्तान गर्यो । त्यसपछि स्वर्ग फर्किन पायो ।
प्रत्येक मान्छेको भविष्य अज्ञात छ । प्रत्येक मान्छेको भविष्य रहस्यको पर्दाभित्र कैद छ । रहस्य र संभावनाको गर्त भित्र रहेका कुराहरुलाई हामीले अग्रिम निर्णय गर्नु नै बेकार छ ।
तोल्स्तोईको कथामा म बुच्चे काकाको भाग्य जोड्न खोजिरहेको छु । बुच्चे काकालाई सम्झिँदा म धमिलो स्मृतिको बाल्यकालमा फर्किन्छु । हाम्रै घरमाथिको गल्लीबाट साझेखेतको गोठतिर लगेको गाईको लर्को सम्झिन्छु वाइस पच्चीसवटा गाईगारुको पछिपछि वस्तु धपाइरहेका बुच्चेकाकाको मधुरो अनुहार सम्झन्छु । बुच्चे काका सानैदेखि बाँझागाउँको गाईगोठमा हुर्किए । पढ्नुलेख्नु कुनचरीको नाउँ हो उनलाई थाहै भएन । गाईवस्तुको संगतमा उनी अरु पढन्तालेखन्ता दाजुभाइको बीचमा अनपढ गोठालो बने । सोह्र अठारको किशोरवयमा बुच्चेकाकाको जीवनमा त्यतिखेर देख्नको लागि साह्रै त्रासदी पूर्ण घटना घट्यो ।
बर्खे धान रोपाई गरिरहेको बेलामा कुलाको पानीको विषयमा एकजना राई बूढासित लाप्पा पर्छ । लाप्पा लाप्पा मै चोटलाग्ने गरी कुटपिट चल्छ । बुच्चेकाका क्रोधको दावाग्नीमा जलेर कम्मरको खुकुरी फुत्त झिक्छन् । राईको ढाडमा एकदुई ट्वाक लगाउँछन् । त्यसको केही दिनमा राई बूढो त्यही कारण वा अन्य कारणले प्याट्ट मर्छ । अदालत र कानूनले बुच्चेकाकालाई हत्याको मूल अभियुक्त किटान गर्छ । विचरा अनपढ गोठाले जीवन बिताएका बुच्चेकाका पुलिसको फन्दामा पक्राउ पर्नुअघि नै भाग्छन् । कसोकसो गर्दा उनी मुङ्लान पस्न सफल हुन्छन् । कहिल्यै बाँझागाउँको गोठ नछोडेका बुच्चेकाकालाई ठूलो सास्ती ब्यहोर्नुपर्छ । ज्यानकेसमा उनको सर्वस्वहरण गरी अंश लिलाम गर्छ ।
ठूलो हण्डर, जोखिम र कष्ट व्यहोर्दै भारतको मेघालय (कोइलाखात) पुग्छन् । त्यहाँ पुगेर पनि लामो समय कोइला काट्ने, कोइला बोक्ने ज्यामी काम गरे अरे उनले । रहँदै बस्तै जाँदा ती सोझो अनपढ काका आफ्नो इमान्दारिता र भोलाभालापनले कोइलापहाडका खासी मालिकहरुको मन जित्न सफल हुन्छन् । खासीहरुले नै उनलाई विश्वास गरेर करौडौँ रुपैयाको काम दिन्छन् । उनीहरुबाट कोइलाका पहाडहरू ठेक्कामा लिएर कोइला निकाल्ने र त्यसको व्यापार गर्न थाल्छन् । उनको काम र इमान्दारिताले सबैको विश्वास जित्दै जान्छन् ।
कोइलाको व्यापार उधुम फस्टाउँदै जान्छ । उनी अब साधारण कोइला काट्ने कोइला बोक्ने मजदूरको रुपमा रहँदैनन् । उनी मेघालयको त्यो फेटमा साइला मालिकको रुपमा परिचित हुन थाल्छन् । समयक्रममा हेर्दाहेर्दै उनी लखपति, करोडपति, अरवपतिको हैसियतमा पुग्छन् । चरचरी फुटेका गोडा लिएर गैंटी र सावेल सहित कोइला पर्वतको अँध्यारो सुरुङमा छिर्ने बुच्चे काका चिल्लो कारमा सवार हुन थाल्छन् । उनलाई देख्ने मानिसहरुको लागि आँखै अगाडि एक चमत्कार घटित हुन्छ । उनले करोडौँ कमाएको करा; भारतका सिलगुडी लगायतका सहरमा कयौँ तले आलिशान महल बनाएको कुरा, गाडी, व्यापार, उद्योगमा लगानी गरेको कुरा कयौँ नेपालीलाई रोजगारी दिलाएको कुरा लोमहर्षकारी किस्सा बनेर गाउँमा आउन थाले । नभन्दै गाउँबाट मजदूर गर्न मेघालय (कोइलाखानी) गएर आउनेहरुले प्रत्यक्ष देखेर उनको समृद्धिको बखान गरे । उनकै सहकर्मी बालवयका साथीहरुले उनको प्रगतिमा जीव्रो टोके । चकित बने । उनीहरुकै मुखबाट निस्केको कुरा सुनें –जहानसिंह किराँतीको मृत्यु नै बुच्चे साइलाको जीवनमा भाग्योदय हुनु हो । किराँती नमरेको भए, बुच्चे बाँझागाउँको गोठैमा गोठालाको गोठालो हुन्थ्यो । ऊ भने पक्राउ खाइने डरले भागेर इन्डिया पस्यो । सबै कुरा नियतिको खेल रहेछ । कथंकाल पक्राउ खाएको भएपनि सर्वस्वसहित जन्मकैद परेको मान्छे जेलमै कुहिसक्थ्यो होला । आफ्नो भाग्य अजमाउन नै ज्यान मारेको रहेछ उसले ।
बुच्चेकाकाका सहकर्मी साथीहरुले भने जस्तो आफ्नो भाग्य अजमाउन सचेतनपूर्वक मारेको त किमार्थ होइन । तर मानिसको जीवनमा संयोगहरू यसरी घटित हुन्छन् । कुनै कुनै कुरा यथार्थमा पनि यस्तो हुन्छ र ? भने जस्तो गरी घटित हुन्छन् । नियतिका चक्रले मान्छेलाई घुमाउँदै घुमाउँदै कहाँदेखि कहाँ पुर्याउँछ ।
जीवनको एउटा मार्ग अबरुद्ध हुँदा जीवनकै असंख्य मार्गहरुका द्वार खुल्दारहेछन् । बुच्चे काकालाई सोच्छु । ज्यानकेसले मातृभूमिमा स्वतन्त्रपूर्वक बस्ने बाँच्ने संभावनाको द्वार सधैंको लागि थुनियो । तर जीवनमा त असीम संभावनाका अरु द्वारहरू पनि हुँदा रहेछन् । बुच्चे काकाले मातृभूगोलको सीमा पारी पुगेर भाग्यका अज्ञात ढोकाहरू खोलिदिए । सायद बुच्चे काकाले पनि सोचेका थिएनन् होला यी नियति र भाग्यको खेलहरू ।
२०७०/०१/०४
