Skip to content

फरक छ मेरो गाउँ र शहरको कथा


फरक छ मेरो गाउँ र शहरको कथा
जेठो छ मेरो गाउँ मेरो शहरभन्दा
पाखुरीको पौरखमा कुलो खन्छ
मेरो गाउँ खुसीहरूमा सधैंं रमाउँछ
अनि यो मेरो शहर
खुसी किनेर सधैंं रुन्छ
मेरो गाउँ बिहानै चराहरूको
चिर्वीरसँगै मेलापात पुग्छ
गोधुलिमा साँझ घर पस्छ
यता मेरो शहर घाम लमतन्न लागेर
हुर्केपछि उठ्छ
गोधुलिनै नभेटी
अनि साँझ मधुशाला डुब्छ
मेरो गाउँ सधैंं सिङ्गारिएर
प्राकीर्तिक छटाहरूमा
रम्छ अनि रमाउँछ
अनि मेरो शहर बिधुवा ओढेर
भट्टीमा अर्ध नंग्न जुद्छ
पानीको कल कलमा मेरो गाउँ
कोइली बास्छ काफल पाकेको खबर भन्छ
सुमधुर संगीतमा ढुकुर बास्छ
रमेर रमितामा पश्चिम लालीसँगै \
गुंडतिर अनुशासित पस्छ
यता मेरो शहर साँझ पस्केर आधुनिकतामा
कोलाहलको नाङ्गो नाच्छ
काकाकुल पस्केर धाराहरूमा
सहजताको स्वाङ्ग रच्छ
अभावहरूको दलिनमा
पाउडर दलेर अनुहारभरी
पुर्पुरोमा भाग्य खोज्छ
उता मेरो गाउँ पर्व र चाडहरूमा
मालश्री गाउँछ शिलोक भाका गाउँछ
सद्भावको पिंढीमा विश्वासको थैली खोलेर
भरोसाको अठोटको सत्य बाड्छ
त्यही बेला मेरो शहर उन्मत्त भएर
ढर्राहरूको कम्मर भाच्दै
विश्वासघातको पहिरो खन्छ
बा आमा त हुन्छन मेरो शहरमा पनि
तर माया खोज्न गारो हुन्छ
न्यानो त हुन्छ मेरो शहरमा पनि
तर मुटुको स्पन्दन हुन्न त्यहाँ
यही बेला हजुर बा हजुर आमासँग मेरो गाउँ
माया र मल्हम बोकेर दन्त्य कथा सुन्छ
सिकन्दरको कथा सुन्छ
गुल वकावालिको कथा सुन्छ
सत्कार र आदरको कथा सुन्छ
जुटेर गाउँनै
परिवार पस्कन्छ मुटुहरूमा
मायाको भकारीनै छुन्छ
यता मेरो शहर
व्यस्तताको बोस्ता ओढेर मथिंगलमा
अभावहरू ओछ्याएर भावनाहरूमा
आडम्बर ओढेर सग्लो खोज्छ
मेरो गाउँ दिल खोलेर उन्मुक्त हाँस्छ
मेरो शहर हाँसे जस्तो हाँस्छ
पीडाहरू गुम्स्याएर ढर्राहरू हाँस्छ
गाउँ पाखे सम्झेर हाँस्छ
साटेर स्वाङ्ग हाँसे जस्तो हाँस्छ
छिमेकी चिन्दैन
आदिम भएको छ मेरो शहर
कालो तुवाँलोमा धमिलो क्षित्तिज भित्र
आजकल मेरो शहर सास फेर्छ
किर्ते तमसुकमा ल्याप्चे खोज्छ मेरो शहर
मेरो गाउँलाई सारै हेप्छ
हिजो बाले पढाइ खर्च पठाउदा
साँचेर बाँचेको मेरो शहर
आजकल अलि बढिने मात्तिएको छ
घमण्डले धेरै पात्तिएको छ
रंगीन कारोबारमा डुप्लिकेट साटेर
काग भएको छ मेरो शहर
मर्यादामा शकुनी हाँसेर
कुटिलताको दुशासन बाँचेर
द्रौपदीहरू नग्याउँछ हरेक साँझ
मासुमा पल्किएको छ मेरो शहर

अचेल म शहर अघाएर
गाउँ खोज्दैछु
बैशाखमा वर्षातको सुगन्धित
माटोको सुवास खोज्दैछु
हजुर बा हजुर आमाका अर्तीहरू
अनि कथाका ठेलीहरू सुन्न आतुर छु
अनमोल प्रेमको रसपान खोज्दैछु
पोल्टामा माल्दिदीले लुकाएर ल्याएको
भुटेको भटमास खोज्दै छु
चाम्रे अनि गुन्द्रुकको अचार खोज्दैछु
अघाएर शहर यो
पाइला गाउँको खोज्दै छु
अचेल म शहर अघाएर
गाउँ खोज्दैछु
गाउँ खोज्दैछु !!
—————————–
नव वर्ष २०७३ क्यालिफोर्निया- शुभकामना २०७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *