विषय प्रवेश :
अपार सृष्टिका अभिषेक भन्नु नै नूतन र वन्दनीय कविता तरूहरू नै हुन् । ती जो शताब्दीऔंदेखि पुरातन धरोहर र कीर्तिकारक समेत रहेका छन् । वाचाल वाणिमा जब बैखरीले प्रवेश पाइन् अनि अविजित यात्रामा अगाडि सरिन् । सम्मोहन शक्तिले कविलाई प्रकृतिको अजस्र भान्ते बनायो । कविकर्म र अन्य कर्ममा पार्थक्यता रहन्छ । खोजका सिकन्जाहरू परिधिका साँघुरा घेरामा निवृत्त हुनु हुँदैन । छैनन् पनि । मानिसका सपना र जपनाले त्यो तिरोहित तुल्याएको छ । मिठास वचनहरू सम्पूर्णतामा सुन्दर आभूषण हुन् ।
सन्दर्भमा यतिखेर नेपाली नवोन्मेष गद्यकविता र त्यसका परिधिमा कविवर भूपिरहेका छन् । कर्मकाण्डीय नामका उपर्नाले सोभित रहँदा चाहिँ –भूपेन्द्रमान शेरचन । मसुर व्यापारिक घरानाका तात्कालीन कुलीन सुपत्र । केही वर्ष ठेक्का पट्टामा पनि रमे रमाएका । अन्तष जीवनका परिवृत्तहरूमा भोग्दै जाँदा अनुभूतिका आरनमा खारिएर निस्कँदाका उम्दा कवि –भूपि शेरचन ।
ती जो आफूलाई काव्यका होनहार सुपात्रहरू छौं भन्छन् । आज तिनीहरू कै समष्टि कर्तव्य कविता शक्तिको ऊर्जा र ‘वेभ’ पुटिन नगरिकन पर्गेल्नुमा नै रहेको छ । कार्याती कतिको सम्भव छ या छैन ? त्यो ज्ञात छैन । अघिल्तिर अज्ञातको गर्त गहिरो र गहाभिमुख छ । किन्तु पारितोषिक छैन । अज्ञानताहरू परिभ्रमण गर्नै नसकिने पनि त होइनन् । थिएनन् । थिए केवल संअतूल जोश र जाँगरहरू ।
समग्रता नै ज्ञाताज्ञात छ ।
अकिञ्चन नयनाभिराम छ । सन्तापका महाजालहरू अनेक एकाङ्कीका सूत्राधारहरूलाई वकालतनामा सहितका वारेसमा पठाएर ज्ञानीलाई तर्कमा तान्न खोज्छन् । गर्तमा धकेल्न खोज्छन् । बाँध्न खोज्छन् –हर क्षण । तर निर्निमेष खुला छन् –मनका फाटकहरू पनि । नस कसेर राखिएका प्रमाणहरू अब कविताका प्रकम्पनहरू व्यहोर्न तम्तयार भई बसेका छन् ।
विश्व वेदनमा अलिखित कल्पनाका जलप लगाइएका छन् । ताडित छन् –पवित्रताका परम संघर्षणहरू । समूल उद्वीजहरू । मुमुक्षुका लागि ईश्वरझैँ विराजमान यो आकास गंगामा त्यस्तो कुनै अजेय र अपरिमेय तत्वादि छैनन् जसको परासम्मिलन हुन नसकोस् । परीक्षणका खातिर ललक गर्न नसकियोस् ।
सृजामाता नै भवकी अधिष्ठात्री हुन् । तुमुल ध्वनि मै विराजमान छन् वेद र उपनिषद्का टकमिश्रित महकहरू । मुन्धुम र बाइबलले समेत राहत दिएका छन् – कैँयौँ मनष्तात्विक प्रतिछाँयाहरूलाई । हुन् त पाषाण युगमा पनि कविता कल्पहरू यथास्थानमा विराजमान थिए –विशाल खगोलका परिवृत्त परिधिमा । परिसीमाको व्यतिरेकी विश्लेषण भित्र समास रमाएर समय तन्नेरी भएकै हो । तत्पश्चात् जीवननन्दिनी शक्ति लिएरै पृथ्वी शश्यसालिनी भएकै हुन् । धरणाी पोटाएकै हुन् । पवन खिलेकै हुन् । सूर्योपासनाको वन्दना खुलेकै हो । चन्द्रोदयको सम्पुष्ट आस्था झङ्कृत भई झुलेकै हो । वाद, विवाद र प्रतिवादको दरकार छैन । रहेन ।
सभ्यता सोपान भनेका गहन मानक बोकेका आख्यान, अनाख्यान र नाटकादिहरू हुन् । विचारले असल र ठूला कदका मानिसहरू जता लाग्छन् – जीवनको मानक पथ त्यही नै हो । अग्निगर्भमा शलीलका थोपा छिटाहरू समाहित छन् । विद्वत् जनहरूबाट सामयिक स्वरमा सार्थक उक्ति बोलिएका छन् । मनका सत्ताहरू अँझै कैँयौँ सहस्राब्दी पन्याला हुने छैनन् तबसम्म । जबसम्म कविताको मानकता र महकमा अन्वितिमय कान्तिको कमि हुनेछैन ।
कविता संस्कृतिको संवाहक । भावक अनि अभिभावक ।
भूपिका कविताको अन्तर्य :
भूपि आधुनिक नेपाली गद्य कविताका सर्वप्रिय र चर्चित मानक धरोहर हुन् । देवकोटाले भूपि जन्माए वा भूपिले देवकोटा अन्माए ? यो शोध र सन्धानको विषय हो । केवल विषयसूचीको फलक अन्तर पर्न सक्छन् । अनुच्छेद र संकथनहरू गुरुचेला बन्न सक्छन् । आफ्नो स्पर्धि र मानक आफैँ हुन रुचाउने भूपिजस्ता कवि यो देशमा अब विरलै जन्मनेछन् । जन्मे पनि सार्थक समयमा समाजले चिन्न निकै ऊर्जा खर्चनु पर्ने हुन्छ । एउटा युगमा एउटा भूपिले जन्मने सौभाग्य पाए भने त्यो घटना सुखद् संयोग मान्नु पर्ने हुन्छ । सृष्टि रोकिदैन । भूपि कलेवरहरू उद्घाटित हुन् अवश्य पाउँछन् । त्यो पनि धेरै कठोर तन्मय साधना साथ ।
आज पनि नेपाली गद्य कविता सरहद्मा एकअनेक नामका भूपिमय सफल संस्करणहरू नजन्मेका त कहाँ हुन् र ? तथापि भूपिको पार्थिव र चेतनामय जन्म नेपाली माटाकै लागि एउटा महान् उत्सव सावित भयो –कविता क्रान्तिका ससिम कित्ताहरूमा । स्वेच्छामा रमाएर ती जो मानिसहरूले अकण्टक झ्याली र नगराहरू ध्वनित गरे । तुमुल गानमा सरिक भएर चण्डी र च्याब्रुङ नाचे । काकाजोरी विजोरी र तेलकासा तथा घ्वाइँकासाका खेल खेले । कर्विमनको टीका लगाएर गौरवको पुरस्कार पनि थापे ।
यो नेपाली कविता इजलासमा एक नूतन संघटन सावित भयो ।
उनी ‘निर्झर’ र ‘नयाँ झ्याउरे’सँगै जन्मेका हुन् अनि ‘घुम्ने मेचमाथि अन्धो मान्छे’सँगै हुर्कने र ‘परिवर्तन’ नाटकमा लहलहाउँदै लहरिने मौका पाउने त्यस्ता एक्ला साधक हुन् जसले आफूले रचेका गुणवत्तापरक रचनाहरूको शाखबाट कहिल्यै पनि पछि फर्केर हेर्नु परेन । काश ! नेपाली कवितामा सैयौं भूपिहरू एकसाथ अनेक लय र छन्दका द्रुम गोडमेल गर्दै जन्मेका भए ? यदि त्यस्तो हुन्थ्यो भने आज यसरी आधुनिक नेपाली गद्य कविताको प्रस्तर भार भूपि एक्लैले थाम्नु पर्दैनथ्यो होला ।
‘धनवाद तिम्रो जनवाद हाम्रो एकदिन दाँजौंला’ भन्दै अधुनातन नेपाली कविता साहित्यमा सुक्री बिक्रीको मोरमोलाहिजा ननापिकन हाम्फालेको पहाडी नदीझैँ भूपि आफ्नो बौच्छार देखाउँदै सदावहार पयश्विनी भएर निरन्तर लेखिरहे । चिरन्तन बगिरहे । वाङ्मयिक समुद्रमा गएर मिसिनु परे पनि उनले कुनै गुनासो कहिल्यै कसैसँग गरेनन् । केही मागेनन् । फिरादी आलेखनको कायामा उनको दम्भ कहिल्यै समाजले आँकलन गरेन । मानष वागमा फूलेका कवितालाई नमन गर्दै साहित्यको अरण्यमा क्रमश: सजाइरहे । यही नै उनको महानता हो । महानताहरू सदैव नमनीय छन् । न्योछावर जँच्छन् ।
२०४४ सालतिर हुनुपर्छ । साल सम्वत् बिर्सिइयो । ‘कामना’ नामक सिने मासिकलाई उनले आफ्नो दिल खोलेर अन्तवार्ता दिने क्रममा भनेका थिए –‘कम्युनिष्ट विचारबाट प्रभावित भई कर्मनिष्ट हुन खोज्दा कवि बन्न पुगिएछ ।’ व्यावहारिक कर्मनिष्टताका परिपाक र वृत्तीय परिचायक हुन् –भूपि ।
बोलेको कुरा गरी पुर्याए । सोचेको प्लट लेखी सिध्याए ।
कविता लेखेरै सार्थकताको अनुपम प्रमाणहरू जो दिएका छन् । धरै कविहरू कविताका आवरणमा रहरहरू लेख्छन् । रहर क्रमश: लेखनीको जरुरत र व्यशनपरक जहर बन्दै जान्छ अनि लेखनले लोकप्रियताको व्यासशैली द्रूतत्तर रुपले अख्तिायार गर्छ ।
कवि जीवनको आरम्भताका भूपेन्द्रमान सर्वहाराको नाममा कविता साहित्यको गोरेटोमा हिँड्न थालेका भूपि क्रमश: ‘नयाँ झ्याउरे’मा आउँदा केही क्रान्तिकारी र जनवादी कविताका कोसेलीहरू लिएर आएकै हुन् । त्यसपछि ‘निर्झर’ले उनको सुकोमल र लक्षित प्रगतिवादी प्रचेतलाई खुल्न दिएको थियो । सो कविता सँगालोमा उनले उच्च प्रगतिवादी दृष्टिकोण राखेर केही थान कविताहरू लेखे । जब उनको ‘घुम्ने मेच माथिको अन्धो मान्छे’ नामक तेस्रो कविताको पुस्तक आयो अनि आफ्नै पूर्ववर्ती स्वआस्था र विश्वासमा पनि हिम पहिराहरू खस्न थालेका हुन् । यता भने धेरै समकालीन कविहरूले एउटा सुखद् आश्चर्यमा परेर नाक खुम्च्याउँदै जीव्रो टोके ।
भन्नेहरूले भनेका छन् –भूपि तीनचोटी जन्मेका छन् । जसरी देवकोटा र इन्द्रबहादुर राईहरू पनि तीनतीनचोटी नै जन्मेका थिए । देवकोटा ‘मुनामदन’ सँग, ‘शाकुन्तल’सँग र ‘सुलोचना’सँग । इन्द्रबहादुर राईचाहिँ कृतिगतभन्दा पनि आन्दोलनगत विशेषताहरूसँग जन्मिएका । यथार्थवादी कथाकार इन्द्रबहादुर राई, आयामेली कथाकार इन्द्रबहादुर राई र लीला लेखनवादी आख्यानकार इन्द्रबहादुर राई । तर भूपिको जन्मको मूल्याङ्कनीय परिचायक विशेषता भनेको कृतिपरक देवकोटीय नभएर विशेषतापरक ‘ईबरा’ को जस्तै हो । बेग्लै हो । नौल्याइँले मानिसमा नाम दिने रहेछ । नूतनताका ध्वजापताका नै स्रष्टा र साधकका अजरामर आवरुहरू रहेछन् । भूपि त्यो विशेषणका पउल हकदार जो मानिए ।
नेपाली आधुनिक कवितामा देवकोटा पछि सबैभन्दा बढी पढिएका कवि नै भूपि हुन् । यो मुद्दा कविताको इजलासमा मात्र नभएर व्यवहारका पाठशालामा पनि धेरै पढाइएको छ । चर्चा र बिक्री मात्र स्थायीत्वको मानक होइनन् । हुनै सक्दैनन् । ती जो चर्चाका इर्दगिर्दमा रमाउने एकखाले वकिलहरू छन् –हाम्रो नेपाली समाजमा । तिनीहरूले भूपिका सम्बन्धमा बहस गरेका सबै मुद्दाहरू पेशी सारिसारिकन पनि हारेका छन् ।
प्रगतिवादी भूपि, यथार्थवादी भूपि र व्यङ्ग्यवादी भूपि –यिनको परिचायकको विषयसूची समेत हो । यिनको पहिलो सँगालो ‘नयाँ झ्याउरे’मा भएका प्राय:जसो कविताहरूले यिनलाई प्रगतिवादी भूपिको मेखाला पहिराई दिए । जब यिनको ‘निर्झर’ कविताको सङ्ग्रह निस्कियो अनि यिनी यथार्थवादी कविका रुपमा जमेका हुन् । त्यसैगरी २०२६ सालमा प्रकाशित भएको ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ कविता सङ्ग्रहले चाहिँ यिनलाई व्यङ्ग्यवादी कविका रुपमा खुलासा दिएको मात्र नभएर विशिष्ट कविका रुपमा प्रतिस्थापित गर्ने काम पनि गर्यो । यही नै नेपाली कवि र कविताका लागि सगुन बोकेको समाचार थियो ।
समकालीन वृत्तका कविहरू जो अहिले नामी र दामी कहलिएका छन् तिनीहरू प्राय:जसो सबै भूपिकै शैलीको ….. समातेर हिँडिरहेका छन् । अहिलेका कविहरू शैलीवादी र समाजसापेक्ष साक्ष्यसूक्ष्म विषयका विविध भावमय अणु धारालाई कवितामा समातेर निरन्तरको यात्रामा यात्रारत छन् ।
भूपिले गोपालप्रसाद रिमालको जस्तो प्रगतिवादी र बालकृष्ण समको जस्तो बौद्धिकतावादी कविता रचनाको जोखिम पनि उठाउन चाहेनन् । पछिल्लो कृति ‘घुम्ने मेचमाथिको अन्धो मान्छे’ले अघिल्ला दुईवटा कविता सँगालामा भएका कविताहरूलाई ससम्मान जित्ने काम मात्र गरेनन् । नामेट नै गर्ने काम गरे । अरूबाट नभई आफैँबाट गौरवपूर्ण पराजीत भई इतिहासको धरोहर कायम गर्ने भूपिलेपछिल्लो सँगालामा भएका सबै कविताहरू विभिन्न सन्दर्भ र ढपमा लेखेर आज उनी नेपाली साहित्यका ‘टप फाइभ’ सहित्यकार र ‘टप थ्रि’ कविहरूमा परेका छन् ।
स्तरीयता, लोकप्रियता र बिक्रीका हिसाबले कुनै साहित्यिक संस्थाले गरेको सर्वेक्षणमा देवकोटालाई नम्बर एकमा, बीपी कोइरालालाई नम्बर दुईमा, पारिजातलाई नम्बर तीनमा, शंकर लामिछानेलाई नम्बर चारमा र भूपि शेरचनलाई नम्बर पाँच चर्चित साहित्यकारमा गणना गरिन्छ ।
बीसको दसकमा उदाएका उम्दा कवि भूपिले लेखेको कविताकै शैलीले अहिलेसम्मका चर्चित र बिकाउ कविहरू कविताको मण्डीमा जजमानी गरिरहेका छन् । यो क्रूर र सत्य सन्धान हो ।
भूपिको ‘हामी’ कविताको थिम कहिल्यै पनि पुरानिने छैन ।
नेपाली राजनीतिको पोखरीमा जबसम्म पानी धमिलिइरहन्छ तबसम्म यो कविताले आफ्नो शक्तिशाली उपस्थिति देखाइरहन्छ ।
उनी भन्छन् –हामी रङ रोगन उडेका
टुटे फुटेका क्याराम बोर्डका
पुराना गोटी हौं ।
जोआफू खुसी जुट्न पनि नसक्ने
कसैले पछाडिबाट जुटाइदिनु पर्ने
जो आफू खुसी फुट्न पनि नसक्ने
कसैले पछाडिबाटै फुटाइदिनु पर्ने
हामी मानिस कम र बर्ता गोटी हौं ।
कम्ता पेचिलो छैन यो कविता ।
त्यसैगरी ‘मैनबत्तीको शिखा’ र ‘शहिदहरूको सम्झनामा’ कविता पनि कालजयी कविताको कोटीमा रहन सफल भएका कविताहरू हुन् ।
कविता हृदयको रचना हो । कविता लेख्ने कारखाना संसारको कुनै कुनामा छैन । हुँदैन । धनका कुलीन भनाउँदा मानिसहरूले कविताको कहिरन हालेको थाह छैन । जो मनको कुलीन छ उसले कविताका बिस्कुनहरू सुकाउने र उठाउने हुन् । अन्तहीन विषयमा कविता लेख्न सकिन्छ । लेखी पनिरहेका छन् । कविहरूले नै यो समाजको निर्माण गरेका हुन् । भूपिका कालजयी कविताको वकालत जिन्दगीभरि गरेर पनि थाक्न र हार्न सकिँदैन । उनले लेखेका कविताहरू कस्ता छन् भनेर एकफेर घुम्ने मेचमाथिअन्धो मान्छे नामक कविताको पुस्तक पढ्नै पर्ने हुन्छ । ठाँटसँग जीवन बिताउने भूपिले आफूलाई कविता पथमा पनि विचलित हुनु परेन । जुनबेला शंकर लामिछानेको सुगन्ध नेपाली निबन्धमा चुलिएको थियो त्यही बेला नै भूपि नेपाली कविताका सगरमाथा बनेर अग्लिएका थिए । दुई फरक विधा लेखे पनि यी दुई स्रष्टाहरूको सामिप्यता गाढा र गूढ रहेको हुनाले नेपाली साहित्यले त्यो उर्वर बेलामा आफूलाई धन्य बनाएको छ ।
भूपिका कविताले जीवनमा निराश बनेका सबै उद्वीजहरूलाई आसाको सञ्चार गर्ने कार्य गरेका छन् । व्याख्येय प्रकृतिका जीवनातिरेक सोचका भँगालाहरूमा भूपि कहिल्यै पनि चुकेका छैन । कविता हुन् या मुक्तक भूपिका काव्यिक उच्छलनले नेपाली साहित्य समग्रमै आलोडित भएको छ ।
कविता मानष शक्तिको उपज भए पनि यिनले धेरैजसो कविताहरू चाहिँ हृदय केन्द्रबाटै लेखेका छन् ।
समापन :
कविताको आलोकमा रमाएको तात्कालीन समाजलाई दिशानिर्देश गर्दै आफ्ना सूक्ष्म भावानुभतिका मिहीन दर्शनका कारण सबै प्रकारका मानिसहरूलाई काव्यिक सान्त्वनाको मल्हम लगाएका छन् ।
लेखकहरूलाई सर्वप्रथम विधा छुट्याउन गाह्रो हुने रैछ । अनि सोपश्चात् के सामल दिने भन्ने कुराले घर गर्ने रै’छ । दिएको अन्तर्वस्तुको शालीन प्रस्तुति हुन सकेन भने पनि लेखिएको कुराबाट लेखक सन्तुष्ट हुन सक्दैन । लेखनको असन्तुष्टि भनेकै विभिन्न तनावको कारक हो । लेखनमा कार्यकारण सम्बन्ध स्थापित भएको हुन्छ । भूपिले त्यो अभाव कहिल्यै पनि झेल्नु परेन ।
हृदय केन्द्रबाट उब्जेका उपजीव्यतालाई उनले जसरी कलात्मक बान्कीका साथ प्रस्तुत गरे त्यसमा उनी केकस्तो प्रकारले सुखी र खुसी थिए पछिल्लो छिमलका भाइ पुस्ता कविहरूले पनि पर्गेल्न सकेका छैनन् । केवल अन्धाले हात्ति छामेको भावमा छामेका छन् । यतिखेर चाहिँ वर्तमानका सरहदमा बसेर हेर्दा उनको मूल्याङ्कन हुन नसकेको लागेको छ । नयाँ सोचका समालोचकहरूलाई । नयाँ पथका अभियन्ताहरूलाई । कविता कलरबका भान्ते र अनुजले उनको कवित्व शक्तिलाई नेपाल र नेपाली साहित्य रहे भएसम्म नमन गरिरहने छन् । पूजित भइरहने छ –उनको कविताको शक्ति मुक्ताकासमा । युगयुगले उनलाई सम्बोधन गरिरहने छ । गाइने छ अजस्र भावधाराका गीतहरू फूलका वागहरूमा बसेर । दीनहीनहरूका भावनात्मक आसाका भरोसा भूपिले जति कविताहरू लेखेर समाजको पोल्टामा हालिदिए ती अब कुनै दिन नेपाली जाति र समाजले कोटेसनमा बोले भने पनि त्यो आश्चर्य नमाने हुन्छ ।
शक्ति हो वाणि । ऊर्जाको कल्पना । लयका समुद्रमा भावका पयश्विनी तब मात्र प्रवेश गर्छन् जब चेतनाले ज्वारभाटाको काम गर्छ । आजको नेपालमा नश्लीय सिण्डीकेटमा लेखक बन्ने र बनाइने बहस उठेका छन् । विधाका नाममा केवल टिनएजनर रहर र जीवनमा सार्थक हुन नसकेका कुण्ठाका महागित र लघु महाख्यानका तिजोरी खोलेर समाजलाई दिग्भ्रमित पार्ने खालका साहित्य नामका ढाँटका पुरियाहरू खोलेर लोकतन्त्रको बजारमा बेचिएको छ –जो त्यो अहिलेको विकृति हो । विसंगति हो । भाटगिरी र चाटुकारिता हो । यसमा समर्थनका ताली दिनै पर्छ भन्ने कुनै दवाव नदिए हुन्छ –लेखनका ठेकेदारहरूले ।
पेशल आचार्य
महालक्ष्मी नगरपालिका –१०, ललितपुर ।
हाल: सहायक प्राचार्य, मन्थली उमावि, मन्थली ।
