Skip to content

अस्तित्व माथि हमला


तिमीले सास फेर्ने तरिका उस्तै छ
तिम्रो र मेरो पाखुरा पनि उस्तै छ
तिमीले चलाउने आैलाहरूपनि
ठ्याक्कै मेरैजस्तो छ
तिम्रो शरीमा भएका
धमनी र सिरा पनि मेरैजस्तो
तिम्रो छाती भित्रको मुटु मेरै जस्तो छ
महाशय !
अब भन त म को हूँ ?
सायद तिमीमा पनि जवाफ नहुन सक्छ ।।
••••
भन्नेहरूले सजिलै भनिदिए
यो कामी हो, यो दमाई हो
यो सार्की हो, यो ब्राह्मण हो
तर कसैले भनिदिएनन्
हामी सबैका पुर्खा यौटै हो भनेर ।।
•••
म आफ्नो खुसीलाई जलाएर आगोमा
बाँचिरहेको छु यतिबेला
उड्दैछन् मेरा सपनाका फिलिङ्गाहरू
हराउँछ सेकेन्ड भरमै ओठको हाँसो
जसरी हराउँछ बालुवामा पानी
हो त्यसरी नै हराउँदै छ जिन्दगीको खुत्रुकेबाट
भाग्यका सिक्काहरू
•••
भन्नेहरूले भनिदिए मेरो सीप देखेर
साइला तेरो भविष्य उज्ज्वल छ
म हौसिदै पसिना बगाइरहेँ
तर कत्ति खेरआरनको धूलो जस्तै उड्यो
थरीथरीका सपनाका रङ्गहरू
जसरी घामले उजाड बनाउँछ रूख
खहरेले चिराचरा बनाउँछ हरिया पाखाहरू
अनि भोकाएका मसानघाट जस्तो
कस्तो विडम्बना !
•••
भन्नेहरूले भनिदिए
मेरो पसिना सगरमाथाले बगाउने पसिनाजस्तो
तिम्रो पसिना पनि मेरै जस्तो
विडम्बना भन्नेहरूले भनिदिएनन्
तिम्रो पसिना मेरोभन्दा अलि भिन्न
म सोचिरहेको छु
किन देखिएन सर्वेक्षण गर्दा
मेरो पसिनामा भिन्नता ?
भन्न सक्छौ ?
•••
भन्नेहरूले भनिदिएकै हुन् त्यतिबेला
मेरो शरीरमा दगुरिरहेको रगतको रङ्ग
लेखमा फुलिरहेका गुराँसजस्तो
विडम्बना भन्नेहरूले भन्नै बिर्सिदिए छन्
त्यतिबेला तिम्रो रगतको रङ्ग
खङ्ग्रङ्ग सुकेको पातजस्तो ।।
•••
यतिबेला
म यो सोचिरहेको छु
मेरो कलाले सजावट तिम्रो शरीर
कसरी चल्न सक्यो समाज
किन निषेध गरिएन मन्दिर छुन ?
देखिनु पर्ने हो तिम्रो शिरको टोपीमा
मेरो निधारबाट झरेका पसिनाले बनाएका दाग
यतिबेला यस्तै यस्तै सोचिरहेको छु
यो समाज मेरो सीप चलाउछ,
कला चलाउछ, श्रम चलाउँछ
विडम्बना मैले छोएको पानी चलाउँदैन ।।
••••
जब म बाटो हिँडिरहेको हुन्छु
तब देख्नेहरूले बायाँबाट हिँड्नु भन्दिन्छन्
सम्झाउछु,बुझाउछु, दायाँबाटै हिँड्न खोज्छु
कस्तो विडम्बना भन्नेहरू आक्रोसमा आएर भन्दिन्छन्
यो रास्ता पुस्तौँ देखि हाम्रो नाममा छ ।।
•••
सरकार फेरिएको फेरिएकै छ
शरीरमा कपडा फेरिए जसरी
तर विडम्बना
हामी प्रति हेर्ने दृष्टि कैल्यै फेरिएन ।।
****
विक्रम पवन
बेथान~४, रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *