मोजाको भकुण्डो


त्यसबेला गाउँघर विश्व कपको ज्वरोले रनक्क तातेको थियो । विश्वकप खेल्ने सबैजसो टोलीका सबैजना प्रशंसक थिए । जसरी खेलमा टिम बाँडिएका थिए त्यसैगरी समर्थकहरू पनि बाँडिएका थिए । कोही ब्राजीलका, कोही नेदरल्याण्डका, कोही अर्जेन्टिनाका अनि कोही जर्मनका । कोहीकोही त एसियन टिम कोरिया र जापानका पनि ।

खेल प्रेमीहरूको दिनरात सबै समय फुटबलमै बित्न थालेको थियो । पसल–बजार, भात–पानी, स्कुल–सिनेमा सबैतिर खेलकै मात्र चर्चा हुन्थ्यो । उम्रेदेखि खुम्रेसम्मका सबैलाई विश्व कपमा कसले जित्ला भन्ने चर्चा र चासो थियो । कुरैकुरामा एकापसमा कोहीकोही त बाझ्ने गर्थे । गफका सिलसिलामा कोहीकोही तातो रिस भएकाहरू तातिन्थे पनि । साथी साथीमा कतिको बोलचालै पनि बन्द भयो । कसै कसैको पढ्ने लेख्ने समूहमा विभाजन आयो । कतिपय अवस्थामा मिल्ने साथीहरूको पिटापिटकै स्थिति बन्यो । खेलले सबैमा उत्साह थपिदियो ।

केटाकेटीहरू पनि जोसिए । आमाबाहरूको त झन कुरै नगरौँ । कतिले समयमा अफिस जान नसेकाका कारण हाकिमका खप्की खाए । आमाहरूले भान्सामा पकाएका दालमा नून हाल्न बिर्सिए भने तरकारीमा खोर्सानी उधुमै राखेर परिवारजनलाई हायलकायल पारे । ससाना नानीबाबुहरूले पनि धेरै दिन स्कुलका कक्षा ‘मिस’ गरे । अनि स्कुलमा सर र मिसका गाली पनि खाए ।

स्थिति यसरी अगाडि बढ्दै गयो । प्रविधिले गर्दा होला मानिसहरू अहिले विश्वका हरेक घटनालाई चाख मानेर हेर्न थालेका थिए । विज्ञानले विश्वलाई एउटै गाउँजस्तै बनाएको छ । फुटबलको कथा पनि यस्तै भएको थियो ।

आरम्भ मैदले गाउँमा बस्छ । ऊ घर नजिकैको सरकारी सामुदायिक स्कुलमा तीन कक्षामा पढ्छ । ऊ उमेरले त्यस्तै नौ वर्षमा हिँड्दै होला । ऊ सानैदेखि फुटबल भनेपछि हुरुक्कै हुन्छ । यो पटकको विश्व कपले उसलाई अँझ फुटबलमा रौसे बनाएको छ । उसले यो विश्व कपका सबै खेलहरू नेपालको समय नमिलेका कारण हेर्न पाएन । रातभरि गेम हेरेर दिउँसो स्कुल जानुपर्ने भएकाले उसलाई समय नमिलेको हो । टेलिभिजनले विश्व कपमा खेलिएका सबै खेलहरू भोलि पर्सिपल्ट दोहोर्याएर देखायो । तिनीहरूलाई उसले चाख दिएर समय मिलाएर हेर्यो । स्कुलका होमवर्क पनि गर्दै फुटबल पनि हेर्दै गर्दा उसलाई अति नै आनन्द आयो । विश्व कपका सबै खेलहरू निकै मन परे –उसलाई ।

अफ्रिकी टिममा उसले घानाको खेलशैली निकै मन परायो । तर उसका साथीहरूले उसलाई घानाको समर्थन गरेकामा जिस्क्याउँथे । भन्थे –‘ए घाना पुरानो जमाना ।’ ऊ चुपचाप सहन्थ्यो । जवाफमा फिस्स हाँसिदिन्थ्यो । साथीहरूलाई चिढ्याउने उसको उद्देश्य हुँदैनथ्यो ।

‘अहिले फुटबलमा बाँडिएर साथीहरूलाई रिसाउने किन बनाउनु । भोलिपर्सी स्कुलमासँगै पढनुपर्छ ।’ – ऊ आफ्ना नरिसाउने साथीसँग भन्थ्यो ।

‘खेल हेरेर मनोरञ्जन पो लिने हो त । साथीभाइमा किन टेक लिनु ?’ आरम्भले झगडा गर्न तम्सिएका आफ्ना साथीहरूलाई निक्कै सम्झायो ।

‘जसले भा पनि नजिती छाड्दैनन् । यहाँ हामी साथीभाइमा इख लिएर बस्छौं ।’ –एक दिन त स्वस्तिकले पनि कुरा बुझेछ ।

सबै साथीका माझमा भन्यो । उनीहरू अब कसैको कसैले विरोध नगर्ने तर फुटबल खेल्ने टुङ्गामा पुगे ।

‘फुटबल खेलको राजा हो’ भन्ने कुराले आरम्भलाइ सकारात्मक असर पारेको छ । उसले आफ्नी आमा गीतालाई नयाँ फुटबल किनिदिने प्रस्ताव राख्यो । भन्ने बित्तिकै उनले त्यो किनिदिन सकिनन् । आरम्भ खिन्न भयो । तर यसबेला भने केही भनेन ।

पछिपछि चाहिँ ऊ आमासँग कहिले खेलाडीकै जस्तो जर्सी अनि कहिले फुटबल किनिदिनु भनेर कचकच कचकच गर्थ्यो । आमा गाउँकै एउटा सानो बोर्डिङ् स्कुलमा पढाउथिन् । उनको तलब थोरै थियो । मँहगीले घरखर्च टार्न धौधौ हुन्थ्यो । फुटबल र जर्सी विश्व कपले गर्दा छोइ नसक्नु मँहगा भएका थिए । आफ्नो प्यारो छोराले भनेको उनले कानले सुनिन् मात्र । तर फुटबल किनिदिन सकिनन् ।

उनलाई पनि आफ्नो असक्षमताले दुखी बनायो ।

आरम्भका बा वैदेशिक रोजगारीमा गएका थिए । उनले विदेशमा त्यति राम्रो काम पाएका थिएनन् । त्यसैले उनले घरमा पैसा पठाउन सकिरहेका थिएनन् । यस्ता घर व्यवहारका कुरा आरम्भलाइ थाहा छैन । ऊ सानो बालकै भएकाले व्यवहार पत्तो नभएको हो । बालकहरू रहर गर्छन् तर सबै रहर आमाबाले पुर्याउन सकेका हुँदैनन् ।

एक महिनापछि लगभग फुटबल खेलको रौनक सकियो । यसपाली धेरै मानिसले सोचेभन्दा फरक जर्मनीको टिमले विश्वकप जित्यो । विचरा अर्जेन्टिनाका समर्थकहरू धुरूधुरू रोए । धेरै मानिसहरूले नचिताएको परिणाम आएकाले मानिसहरू तीन छक्क परेका छन् । केटाकेटीहरू विश्व कपकै प्रभाव अब नयाँ पुराना भकुण्डाहरू निकालेर मैदानमा उफ्रिन पाफ्रिन थाले ।

मैदले गाउँ नै फुटबलमय बनेको छ ।

गाउँको तिले चौर अब धेरै मानिसहरूको बिहान बेलुकी व्यायाम गर्ने, खेल्ने अनि कुद्ने ठाउँ भएको छ । आरम्भ आफ्ना मन मिल्ने साथीहरू लिएर चउरमा गई फुटबल खेल्न थालेको छ ।

मनिष, टनिष, रमेश, स्वस्तिक, दिनेश र प्रनिश आरम्भका मिल्ने ६ जना साथीहरू हुन् । ती सबैजना कक्षा तीनमा पढ्छन् । उनीहरूसँग ऊ अब बिहानबेलुकी फुटबल खेल्न जाने गर्छ ।

चउरमा बसेर नयाँ फुटबल किन्न उनीहरूले सल्लाह गरे । आरम्भले भन्यो – ‘सबै मिलेर पैसा उठाऊँ र बल किनूँ न ।’

सबैले पचासपचास रूपैयाँ उठाउँदा तीनसय पसाच मात्रै भयो । त्यति पैसाले फुटबल नआउने । अनि आरम्भले एउटा नयाँ जुक्ति निकाल्यो । अब मोजाको भकुण्डो खेल्ने । खेल्न त खेल्ने तर मोजाहरू कहाँबाट ल्याउने ? उनीहरूले आपसमा सल्लाह साउती गरे । उनीहरूले आआफ्ना घरबाटै एकएक जोर नयाँपुराना मोजाहरू ल्याए । कसैका मोजा नधोएका गनाउने परेछन् । कसैका पुराना र कहीँकहीँ औंला छिर्ने जत्रा प्वाल परेका । कुनैका भने कुर्कुच्चै भ्वाँङ परेका । उनीहरूले सबै मोजा जम्मा पारे र अर्को जुक्ति निकाले ।

‘अब दुइटा मोजालाई काटी एउटै बनाएर पुराना थाङ्नाहरू कोच्नु पर्छ’ – मनिषले भन्यो ।

‘होइन एउटै बनाउने होइन डबल बनाएर लुगा र कागज बेसरी खाँद्नु पर्छ ।’ – प्रनिषले प्रस्ताव राख्यो ।

‘यो राम्रो भएन । त्यो राम्रो भयो ।’ यसो भन्दाभन्दै ती केटाकेटीले गजबको फुटबल तयार पारे । खुसीले बाख्राका पाठा बुर्लुकबुर्लुक उफ्रिएझैँ सबै तिले चउरमा उफ्रिए । केटाकेटीहरू खुसीले नाचेको देखेर गाउँलेहरू पनि दंग भए ।

उनीहरूले खेल हेर्न आएका दुई जनालाई थपेर चारचारको समूहमा आफूलाई बाँडे । अनि ठूलो साथीलाई चाहिँ रेफ्री चुनेर फुटबल खेल्न थाले ।

यत्तिकैमा कालो मैलो भएर आकासबाट दरररररर गर्दै दर्के पानी पर्यो । सबैका लुगा निथ्रुक्कै भिजे । फुटबलका रौनकमा सबै मोहित भैसकेका थिए । कसैलाई दर्के पानीको वास्ता भएन । उनीहरू पानीको बेवास्ता गर्दै भिजीभिजीकन खेलिरहे ।

लाग्थ्यो, मैदले गाउँको तिले चौरमा मिनी विश्व कपको रिर्हसल भैरहेछ !

लगभग एक घन्टा जति खेलेपछि उनीहरू फुटबल खेलबाट बाहिरिए । लुगामा हिलैहिलो लागेको थियो । कसैका हात पाखुरामा ससाना चोट पनि थिए । उनीहरूमा अलिअलि डर चढ्न लाग्यो । बा आमाले के भन्ने हुन् ? सबै डराए ।

भोलिपल्ट उनेरू मध्येको मनिषलाई हन्हनी जरो आयो । मनिषकी आमाले उसलाई गाली गरिन् । सबै साथीहरू मनिषको घरमा आएर माफी मागे । आफूहरूको खेलले मनिषलाई जरो आएकोमा उनीहरूले विनम्रतापूर्वक माफी मागेका थिए ।

बालकहरू नक्कल गर्न असाध्यै मन पराउँछन् । त्यो फुटबल लीला पनि लगभग नक्कल कै रमाइलो हो । मोजाको भकुण्डो खेल्ने भएकाले कसैकसैले उनीहरूलाई गिज्याए पनि । कसैकसैले चाहिँ दसबीस रूपैयाँ दिने भनेर भने । ती केटाकेटीले कसैको एक पैसा लिएनन् । बरू उनीहरू सबै जम्मा भएर तिले चौरको कुनामा बैठक गरे ।

मोजाको भकुण्डो खेल्ने सबै साथीहरूले एउटा निर्णय गरे । अब हामी खाजालाई घरबाट दिएको पैसामा पाँचदस कटाएर दुईचार महिना पैसा जम्मा गर्ने र एउटा राम्रो फुटबल किन्ने । यो जुक्ति आरम्भको थियो । सबैले हाँमा हाँ मिलाए । अनि मजाले हाँस्दै गाउँदै सबै आफ्ना घरतर्फ लागे ।

विश्व कपलाई यसरी आरम्भ र उसका साथीहरूले मोजाको भकुण्डोले बिदाइ गरे । अर्को पटकको विश्व कपसम्म छालाको भकुण्डो किन्ने उनीहरूको बाल निर्णय सर्वसम्मतिले पारित भयो ।

पेशल आचार्य

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *