Skip to content


मभित्र नै जन्मेकीछे प्रेरणा,
कहिल्यै नमर्ने गरी
शायद, मेरो मृत्यूपर्यन्त पनि बाँच्छे ऊ
हरेक कदममा म उनको साथ लिने गर्छु,

कसैले व्यक्तिविशेष नसम्झिनु मेरी प्रेरणालाई
ऊ परिवर्तित छे,
अहिले भावना बनेकीछे,
जो निश्चल छ,
दुरुस्तै ऊ जस्तै,
त्यतिबेला जस्तै सुन्दर,
जतिबेला
उसलाई मानवको रुपमा पाएर झुक्केको थिएँ,
जतिबेला
उसलाई आफ्नो प्रतिविम्बको रुपमा अनुभव गरेर भ्रमित थिएँ,

जे होस्,
मेरो मनमा दरिलो खम्बा गाडि
दरबार बनाई बसेकीछे
जसको गजुरले मेरो मस्तिष्कलाई छुने गर्छ

उसको बगैंचाको बास्ना तनभरि फैलिरहेछ
निक्कै सुगन्धित फूल,
“माया” नै फुलाइछे क्यार!

गजबछ,
कहिलेकाहीं, हामी साक्षात्कार पनि गर्छौं,
कहिले ऊ रिसाउँछे, म कुर्लिन्छु
ऊ हाँस्छे, म फुर्किन्छु

हो,
उही प्रेरणा,
जसको लागि म गाउँछु,
गजल कोर्छु,
गम्भीर हुन्छु,

किनकि म प्रेम गर्छु,
कुनै व्यक्तिविशेषलाई होइन,
कुनै मानवरुपी पत्थरलाई होइन,
म त मेरो भावनासलाई प्रेम गर्छु,
प्रेरणासँग प्रेम गर्छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *