Skip to content

‘राजेश’ – ३ः नासोको सुरक्षा


रातको बाह्र नाघेको सङ्केत घण्टीको आवाजले दिन्छ । मोटरबाइक तीव्र वेगमा अघि बढ्दै छ । सप्तकोशी आफ्नो अथाह विशेषताले युक्त भएर हिँड्दै छिन् । बाइकका दुई प्राणीलाई पनि शितलता अनुभूत गराउँदै छिन् ।

त्यत्तिकैमा कोशी व्यारेजमा तैनाथ सुरक्षाकर्मीको सिठी बज्छ । बाइक रोकिन्छ । सोधपुछ सुरु हुन्छ । प्रकाश अलमलमा पर्छ । मालतीको शिर निहुरिरहन्छ ।

“उहाँ मेरी भाउजू हुनुहुन्छ । दाइ विराटनगरमा सिकिस्त हुनुहुन्छ । त्यसैले रातारात हिँड्न परेको हो साहब !” सत्यमा थोरै असत्य मिसाएर प्रकाश मुख खोल्छ ।

उमेर कलिलै देखेर सुरक्षाकर्मी मालतीको सिउँदो नियाल्छ । सिन्दुरको ठाउँमा माटो लेपेको पाउँछ । केही त अवश्य गडबड छ भनेर आशङ्का गर्छ । रातारात नेपाल टपाएर भारतमा नेपाली चेली बेच्ने दलाल त होइनस् भनी केरकार गर्छ ।

निकैबेरको गलफत्तीपछि प्रकाश मालतीको गोडामा ढोग्दै भन्छ– “हाम्रो संस्कारमा आमा र भाउजूमा केही फरक छैन । मैले मालती भाउजूलाई आमा नै सम्झेको छु । आमालाई बेच्ने पुत्र आजसम्म जन्मेको छैन । हामीलाई छाडिदिनुस् साहब !”

अन्ततः दुवै मुक्त भए र अघि बढे । इनरुवामा समेत उही स्पष्टीकरणले काम गर्यो । विराटनगर क्षेत्रमा व्यवधान नआएकाले टाउको दुखाउनु परेन । गन्तव्यमा पुगेको अनुभूत भएपछि मालतीले लामो श्वास फेरिन् ।

प्रकाश भने मित्र राजेशको नासोलाई सुरक्षितसाथ अज्ञातस्थलमा ल्याउन र लुकाउन सकेकोमा मख्ख परिरह्यो ।

नन्दलाल आचार्य
तपेश्वरी–१, गल्फडिया, उदयपुर
मो. नं. ९८४२८२९२०६
हाल– शिक्षक, श्रीमहावीर मावि, विषहरिया–४, सप्तरी ।

(‘राजेश’ लघुकथोपन्यास–२)

Leave a Reply

Your email address will not be published. Required fields are marked *