Skip to content

त्याे सेताे क्यानभास


पहिला पहिला
म बच्चा हुँदा
गुरूले लेख्नु हुन्थ्यो
त्यो ठुलो कालोपाटीमा
ती सेता बाङ्गातिङ्गा धर्काहरू !

हो,
हो ती रंगहिनझै लाग्ने
सेता धर्काहरू
कहिले कपुरी ‘क’ बन्थ्यो
कहिले अनार ‘अ’ बन्थ्यो
कहिले लेखिन्थ्यो
र तिनको अस्तित्व हुन्थ्यो
फेरि मेटिन्थ्यो
र तिनको अस्तित्व गुमनाम हुन्थ्यो
लेखिनु र मेटिनु
अनि मेटिनु र पुन: लेखिनु
त्यसको नियति हो सायद,
म सोच्थे

समय फेरिएको छ
हिजोबाट आजमा
त्यो बच्चाबाट – यो गुरूमा
र म फेरि लेख्दैछु
त्यहीँ कपुरी ‘क’
र अनार ‘अ’
फरक यति छ,
कालोपाटीमा हिड्ने सेता धर्काहरू
आजभोलि दौडिन थालेकाछन्
सेतोपाटीमा राता-निला भएर

त्यो बच्चा गुरु हुदाँसम्म
कालोपाटी सेतो हुदाँसम्म
चकले मार्करको रूप लिदाँसम्म
अहँ अँझै त्यस्तै छ हाम्रो समाज
आज पनि सेता जीउँदा धर्काहरू
घुमिरहेका छन् हाम्रा वरिपरि

जसरी म बच्चा छदाँ
बेर्नु हुन्थ्यो सेतो फरिया शरिरमा
र म मुकदर्शक भएर हेर्थे आमालाई
मात्र हेर्थे
र आमा हेर्नुहुन्थ्यो एकोहोरो
त्यो भित्तामा झुन्डिएको तस्बिरलाई

आज बीसौं वसन्त पछि
त्यो तस्वीर त्यहीँ छ भित्तामा
तर आमाका रहरहरू,
सपनाहरू,
र खुसीहरू
थाहा छैन, मरे कि बाउसँगै
या जीउँदै छन् आजसम्म (?)

समय फेरियो
तर समाज फेरिएन
कालोपाटीमा लेखिने
सेता धर्काहरूको रंग फेरियो
तर जीउँदा सेता धर्काहरू
जीउँदैछन् आज पनि
या मरिसके
मरेका आफ्ना रहर, सपना र खुसीहरूसँगै (?)
सायद ऊ
नफुल्ने फूल बनेको छ,
नमुस्कुराउने ओठ बनेको छ

कहिलेकाहीँ लाग्छ,
सेतो बोर्डमा
रातो रंग पोतिए जस्तै
पोतिदिएको हेर्न मन लागेको छ,
उनको त्यो खाली सिउँदो “सिन्दुरले”
कोही,
कोही त ल्याई देऊ
ए “क्रान्तिकारी” भन्नेहरू हो
उनको सिउँदो रंगाउने रंग
कहीँबाट पैंचो मागेर
किनकि मलाई
रंगिएको हेर्न मन लागेकोछ
‘रातो रंग’
उनको “सेतो क्यानभासमा”

सर्वाधिकार
जितेन्द्र तुलाधर

मझेरीमा पहिलो पटक प्रकाशित मिति – 2016-05-06 07:20:57 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *