Skip to content

ह्या नयाँ वर्ष पनि कहीँ हुन्छ र ?


बकबास जस्तो जीवनमा
कति आए नयाँ वर्षका पुरियाहरू
मन पर्दा नपर्दै आए
मन हुँदा हुँदै पनि गए
दिनहरू
साथीले दाउ देखाएर मारेका तासका पत्तीजस्ता
कसैलाई जिताइदिन बसेका हामी खालेहरू
कसैलाई हराइदिन ओथाएका हामी जुवाडेहरू
अब के नयाँ वर्षको फुइँ छाँट्नु
पचास हुन आँटेका वयले
अब के नयाँ वर्ष मनाउनु ?
यो नयाँ दिनमा
उही पुराना प्युरीबाट सम्झनाको बत्ती नकाती सुखै छैन
यी पालिस लगाएका दिनमा
सपनाका मलामी नगएको क्षणै छैन
ह्या नयाँ वर्ष पनि कहीँ हुन्छ र ?

तात्तो न छारो
यो ठिटी घुमाउनेले गरेको भद्दा मजाक हो
यो डेटिङ् फेटिङ् जानेहरूको निहूँ मात्रै हो
गाउँमा कहिल्यै
नयाँ वर्ष आउदैन
गाउँमा कहिल्यै
नयाँ स्फूर्ति पलाउँदैन
छोराछोरीहरू परदेश गएका छन्
रित्ता गुँड रूघेँर बसेका छन्
वृद्ध बाबुआमाहरू
नयाँ वर्षमा हरेह पछिल्लो वर्षझैँ झस्किन्छन्
न छोरो पो आइहाल्छ कि
न छोरी पो आइहाल्छे कि
मात्र कार्बन कपीझैँ तिनका छायाँचित्र मात्र आउँछन् बरा !
कहिले स्काइपमा
कहिले भाइबरमा,

अहिले फेरि नयाँ वर्षको
गुलुप झुलेको छ
सहराँ
उरुङ् मान्छेहरू खर्किएका छन्
रिसोर्टमा
क्याफेमा
होटलमा
तर सबैका घर रित्ता छन्
रोएका छन् सबैका बाबुआमाहरू
कलेँटी परेका छन् सबैका नानीका ओठहरू
ओथाएको छैन भार्याको आँखामा अश्रुविन्दुका बुँदहरू
भाव र अभावले सधैं झुत्ती खेल्दाछन्
सकसमा परेका जीवनका धर्काहरूमा
पानी नपरेर मकै सुकेका छन्
चैते धानमा झार बढेको छ
मल पाइँदैन सजिलोसँग
भूकम्पपीडित पालमा घोचो समाएर
हुरीमा तालु छेकिरहेछन्
सरकार चिल्ला कुरा कोरल्न मै व्यस्त छ
यस्ता उरुङ बासी चित्रका माझमा
ह्या नयाँ वर्ष पनि कहीँ हुन्छ र ?

।। समाप्त ।।

पेशल आचार्य
हाल: मन्थली रामेछाप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *