पल्टिरहन्छ
घिस्रिरहन्छ
शहरका गल्लीहरूमा
हरघरका पेटीहरूमा
नजर लगाउँछ नालीहरूतीर
टिप्दै हिड्छ भातका सीताहरू ।

माघको कठ्याङ्ग्रिने चिसोमा ऊ बरु चिसो मान्दैन
तर
देश गुम्ने खतरा देख्दा सपनीमा
मुटु चिसो हुन्छ बरफभन्दा बढी ।

रेडियो सुन्नै पाउँदैन
पत्रिका पढ्नै जान्दैन
तर पनि सुनेको छ
सुस्ता कालापानीको व्यथा
पढेको पनि छ
गोर्खालीको गाथा ।

भोकभोकै हिड्छ कैयौँ दिनहरू
अनिँदो हुन्छ प्रायः रातहरू
भोकलेभन्दा देशको हालत देखेर
मुटु पोलिन्छ उसको
जाग्रामले होइन देशको चिन्ताले
आँखाहरू रसाउँछन् ।

मान्छेहरू उसलाई खाते सोच्छन्
वचनले घोच्छन्
छेस्काले घोच्छन्
बौलाहा भन्छन्
मायालुहरू निष्ठुरी बन्छन् ।

उसले योजना बुन्छ
पेटीहरूमा निदाउँदै गर्दा
नालीको फोहोर केलाउँदै गर्दा
चन्द्र सूर्यको अष्तित्व
बचाउने योजना ।
तर
उसको योजना
योजनासम्म पनि बन्दैन ।

उसले चिनेको छ
देशलाई घात गर्नेहरू
देशका सपुत को हुन्
यो पनि चिनेको छ
देशघाती सन्धिहरू
जलाइदिने अठोट गर्छ
तर
उसको अठोट
अठोटसम्म पनि बन्दैन ।

बुद्ध आफ्नो देशमा जन्मेकोमा
ऊ गर्व गर्छ
आफू पनि बुद्ध बन्ने सोचेको हुन्छ
परिस्थितिले ऊ हिटलर बन्ने
निश्चित भएको छ
रणनीति तय गर्छ
शैतानका घाँटी निमोठ्ने
तर
उसको रणनीति
रणनीतिसम्म पनि बन्दैन ।

उसले आभास गर्छ
देश दुखेको
राष्ट्रियता झुक्नै लागेको
ऊ दृढ छ
फेरि लड्नुपर्नेछ देशका लागि
चढाउने छ रगत हाँसी हाँसी
अस्तित्वको मन्दिरमा
मात्र माथिको आदेशको
पर्खाईमा छ।

हो ऊ
सोचले एउटा
देशभक्त हो
बलभद्र जस्तै
अमरसिंह जस्तै
भीमसेन जस्तै
आधुनिक देशको
आधुनिक देशभक्त ।

वीरेन्द्र कठायत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *