कुन्तीको नियति भोग्दैछ
वर्तमान
जो चाहेर पनि
कर्णलाई
आफ्नो सन्तान भन्न सक्दिन,
पिपिरी बजाएर
जुलुस दौडिरहेछन्
युवाहरू
काँधमा दायित्वको
जुवा छैन
उन्माद
आज फेरि
ज्वारभाटाको
सोपान चढ्दैछ
मान्छे सस्तियो
मान्छेकै बजारमा
अब महँगी किन्न
या जीवन निखन्न
मान्छे आफैँ
मासा तोलामा
जोखिन्छ यहाँ,
यतिन्जेल
बाग्मती लेदो छादेर
टक्क अडिएको मुग्लिन उत्रिएको
नाइट बसको यात्रु भएको छ,
घोषणापत्र देखाएझैँ
चुनावमा
कराउँदै छन् साहुनीहरू
कुर्ताको गोल गलाबाट
झोलिएका बुबुहरू
देखाएर,
कचपल्टिलो
निद्रा रुप्स्यागमा बोकेर
अद्र्धनिद्रामा
धर्मराउँदै छ यात्री
कुन होटलमा
संघीयता पाकेको छ
कुन ढावामा
धर्मनिरपेक्षता भार्सिएको छ
मुग्लिनमा उत्रिएको यात्री
र जनताको नियति अहिले उस्तैउस्तै छ ।
पेशल आचार्य
