दरबारको प्राङ्गणमा
एउटा श्रमिकको
सुन्दर सपनाको हत्या भयो
सुस्केरा र चित्कार
आँसु र रगतमाथि
एउटा विश्वासघातको
हदै कुरुप विम्बको
रचना भयो,
दरबारमा
माक्र्स, लेनिन
र लाल झन्डाको बेपार
तब भयो
जब दरबारको प्राङ्गणमा
एउटा श्रमिकको
सुन्दर सपनाको
नृशंश हत्या भयो,
जीवन नौका
मझधारमा
ढलपल ढलपल गर्दै
ओतको आसमा
जब प्रसून लिएर
दरबार गयो
त्यसैक्षण
सर्वहाराको
दरबारको प्राङ्गणमा
एउटा श्रमिकको
सुन्दर सपनाको
हत्या भयो,
चारो टिप्न
इलमको खोजीमा
आङ ढाक्ने
धरो नपाएर
आसा ओढेर
विश्वास ओच्छयाउँदै
एउटा सर्वहारा मन
सिँयाल खोज्दै गयो
दरबारको प्राङ्गणमा
एउटा श्रमिकको
सुन्दर सपनाको
हत्या भयो,
विरहरूका सहयात्री
आदर्शका उत्तराधिकारी
समता फूलबारीका
माली
निष्ठाको जप गर्दै
अथक पाइताला उचालेर
मुक्तियुद्धमा
सरिक भयो,
उदात्त वीरगति
सुखदुःख
हृदयका तारहरूमा
जब झङ्कृत भयो
दरबारको प्राङ्गणमा
एउटा श्रमिकको
सुन्दर सपनाको
हत्या भयो,
क्रान्ति, परिवर्तन
याम आयामको
सस्तो गीत भयो
जागिर खोज्दा
जब ज्यानै गयो
यसपटक फेरि
तामसी दरबारको
जड प्राङ्गणमा
एउटा श्रमिकको
सुन्दर सपनाको
हत्या भयो ।
पेशल आचार्य
