आँखाले
देह पिउन पाउनुको मजा
कानले
श्रवणीय सुखद् समाचार
ग्रहण गर्नुको आनन्द
गोडाहरूले
सार्थक यात्रा
गन्तव्यमा पुर्याएको सन्तुष्टि
अवर्णनीय छ,
धरणीको कायाभन्दा माथि
धेरै माथि कावा खाइरहेका
निर्बन्ध
पुलकित
अहर्निष
व्योमपथमा
कानेखुसी गर्दै
उडिरहेका भालेपोथी
खेचर
आहा !
देह पिउने आँखाभन्दा
आवाज नियाल्ने कानभन्दा
सन्तुष्टि चुम्ने गोडाभन्दा
धेरै सुखी छन्,
चराहरूको राज्यमा
चराहरूको प्रदेशमा
न झुट छ
न लुट छ
न त फुट छ,
मानिसले दुरुह आविष्कार कोरल्यो
अकल्पनीय प्राप्ति भोग्यो
मानिसका सबै असम्भव
पूरा भयो/गर्यो
सबै जित्यो
तर मानिसले
मानिस जित्ने
द्यूतक्रीडामा
हार बेहोर्यो
र सोही रन्कामा
मानिस उद्देश्यविहीन
लखरलखर दौडिरहेछ ।
पेशल आचार्य
