Skip to content


भित्ताको स्तक्रिनमा म हेरिरहेको थिएँ । फेरि एउटा सपनाले आकार लिइरहेको दृश्य नांगो आँखाले म चौथोपल्ट हेरिरहेको थिएँ ।

चौथो सपना थियो त्यो ।

—–

पहिलो सपना बुनिएको साँझ हुरी चलेको थियो । बाटामा रुखहरू लडेका थिए । भुइँमुनि हुनुपर्ने जरा भुइँमाथि थिए ।

ऊ त्यसरी टाँसिएकी थिई, जस्तो कि भर्खर एउटा हरर फिल्म जस्तो सपना थियो उसको आँखामा ।

‘नडराऊ ।’

यति शब्द पनि बलियो थियो । हुरीले उडाएको एउटा पात गाडीको ऐनामा टाँसिएका बेला बोलेको थिएँ म ।

हाँगाहरू पछारिएको सडकमा म सिमसिम पानीमा भिज्दै बाहिर निस्किसक्दा उसले जोरले मेरो हात समातेकी थिई ।

‘नजाऊँ ।’

‘अनि ?’

‘यहीँ बसौँ यत्तिकै ।’

‘यत्तिकै ?’

‘हुरी थामिँदै छ ।’

‘फर्कुं न त !’

‘होस् ।’

उसको आँखामा लतपतिएको कालो रङ पुछ्न मन लाग्यो । आँखा छोपेको केश सम्हाल्न मन लाग्यो । मलाई थाहा भएन, गाडी बाहिर थामिएको हुरी कतिबेला गाडीभित्र पस्यो र थुनियो । हामी होटल गएनौँ । जानु नै परेन ।

अस्पतालको भित्तामा देखिएको त्यो सपना उत्सवको थियो ।

उत्सवले सपनाको खोलबाट निस्किएर विपनाको भुइँ टेक्ने कल्पनाले म बुरुक्क उफ्रिरहेका बेला स्क्रिन बन्द भयो । जहाँ म उसको पेटभित्र लुकेको कालो छायाँ हेरिरहेको थिएँ । त्यो छायाँ मेरो खुनबाट बनिएको थियो ।

—–

‘बुझ्यौ ? संसारभरका स्त्रीहरू भाग लगायो भने एक पुरुषलाई चारओटी पर्छ ।’

उसले मेरो हातलाई आफ्नो हातले बेह्रेर साङ्ली बनाएकी थिई । उभिएको हामीलाई ताकेर सुयोगले तर सुनाइरहेको थियो मलाई । सुनिरहेकी थिइन् उनी ।

‘कसरी ?’ उनले सोधिन् ।

‘त्यति संख्या छ रे केटीहरूको । अमेरिकाको एउटा समाचार पत्रिकाले भने अनुसार ।’

मलाई पत्यार लागेन ।

—–

सुनीतालाई मैले पाँचतल्ले सुपर मार्केटको टप फ्लोरमा भेटेको थिएँ ।

तिनी तीन बहिनीसित थिइन् ।

‘मैले नै फोन गरेकी हुँ तपाईंलाई,’ उनले भनिन् । तीन बहिनी छुटेर कता गइन् ।

‘नम्बर कहाँबाट पाउनु भो ?’

‘म्यारिज ब्युरोबाट ।’

‘तपाईंले मेरो फोटो र बायोडाटा हेर्नुभएको छ । म साधारण

केटी हुँ ।’

‘म काममा व्यस्त छु । सबैले कर गरिरहेका छन् ।’

‘के गर्नुहुन्छ त ?’

‘यही महिना सोचेको ।’

होटल लोयडमा संगीत बज्यो । उपहार दिनेहरूको ताँतीबीच तीन बहिनीमध्ये एकले भनिन्- ‘अलिक क्लोज हुनूस् न, फोटो खिच्छु ।’

मैले पहिलोपल्ट उसलाई अँगालो मारेँ ।

—–

‘हुन सक्छ पनि, हुन सक्दैन पनि,’ मैले भनेँ, ‘सुनीतालाई मैले जसरी पाएँ, त्यसलाई हेर्दा होइन नै लाग्छ ।’

सुयोगले नसुन्ने र सुनीताले सुन्ने गरी म बरबराएँ ।

—–

सुयोगको डिनर पार्टीबाट फर्किंदा गाडीमा भनिन्, ‘त्यत्रो ठूलो घरमा एक्लै बस्न दिक्क लाग्न थाल्यो ।’

‘जान्दछु म । डाक्टरकोमा जाऊँ न,’ उपाय बताएँ । काखमा कोही आए उसले यसो नभन्ने हो ।

‘खै, मिसक्यारेज भइहाल्छ, डाक्टरले पनि केही गर्न सक्दैन ।’

‘डाक्टर भगवान् होइन ।’

‘भगवान् ? तपाईंको मुखबाट भगवान् ?’

‘तिमीलाई बुझाउन भनेको मात्र ।’

महिनादिनमा हामी साथ थियौँ । ड्राइभ गर्दै उनलाई हेरेँ र मैले भनेँ, ‘भगवान् तिमीले बनाएर भयो । तिम्रो मान्यताले भयो । भगवान् भनेको नीति शिक्षा मात्र हो । मैले बाटाबाट उठाएर ल्याएको चिल्लो ढुंगालाई तिमी शिवलिंग देख्न सक्छौ । तर, शिवलिंग के हो, त्यो देख्न सक्दैनौँ ।’

‘तर भगवान्सित डराउन सिक्नुस्’-उसले भनी ।

—–

विशाल अस्पतालभित्र म माउथफ्रेसर स्प्रे गर्न व्यस्त थिएँ । अब डा सलोन भेटिनेछन् र सोध्नेछन्, ‘फेरि मिस्टर मिलन ?’

तीनपल्ट भइसकेको थियो यसरी सोधेको ।

डा सलोनले सुनीतालाई भित्र लगेकी छन् । म बाहिर भित्तामा टाँसिएको स्क्रिनमा हेरिरहेको छु । मसित मजस्तै एक पुरुष साथमा छन् । तिनी पनि हे रिरहेका छन् ।

‘मेरो सपना हो,’ मैले भनेँ ।

‘विपना होला,’ तिनले भने ।

‘आधा सपना, आधा विपना होला ।’

ऊ बाहिर थिई । अहिले म भित्र थिएँ ।

‘मिस्टर मिलन, अब भयो,’ डा सलोनले मलाई भनिन् ।

‘उसमा केही गडबड छ ?’ मैले सोधेँ ।

‘गडबड त छैन तर ऊ असुरक्षित नहुन सक्छ ।’

‘प्लिज डा सलोन, मेरो इच्छा यो होइन ।’

‘इच्छाले जीवन चल्दैन मिस्टर ।’

‘म इच्छैले चलाइरहेको छु ।’

‘यो तपाईंको मात्र भ्रम हो । अतिच्छा विनाशकारी हुन्छ ।’

‘प्लिज डाक्टर ।’

अहिले ऊ भित्र थिई । म बाहिर ।

मैले डा सलोनको हातमा चौथोपल्ट पनि त्यही सुईं देखेँ ।

—–

सुनिटानेस्ट पुगिसकेका थियौँ । ऊ अंग्रेजीमा लेखेको घरप्लेट पढ्दा सुनीतालाई सुनिटा पढ्छे ।

मैले म्यासेज हेरेँ एमडीको थियो ।

म फ्रेस भएर बाथरुमबाट निस्कँदा पनि उनी सोफामै थिइन् । उनले सोधिन्- ‘नाम के राख्ने ?’

‘फेरि ?’ अलिक कडा उठेको स्वर फेरि धीमा गर्दै मैले भनेँ, ‘तीनपल्ट भयो तिमीले सोधेकी र मैले तीनपल्ट नै भयो उत्तर दिएको ।’

‘भन्नूस् न !’

‘उत्सव नै हो ।’

‘यसपल्ट काव्य राखौँ न ल ?’

मैले उसलाई हेरेँ । किन यसो भनिरहेकी छन् ? फेरि म्यासेज आयो । फोनमा हेरेँ । एमडी नै थियो ।

उनले नै भनिन्- ‘एमडी ?’

‘हो ।’

‘जानुपर्छ होला ।’

‘हो ।’

उनी पेट मुसार्दै सिरानीले मुख छोपेर ढल्किइन् ।

‘म गएँ ।’

त्यत्तिकै तिनले ‘बाई’ भनिन् ।

अफिसको एमडी च्याम्बरमा म सबैभन्दा धेर लागेको खुसीसाथ उभिएको थिएँ । कम्पनीको नयाँ प्रोजेक्टको फाइल मेरो हातमा थियो ।

‘बुहारी कस्ती छन् ?’ एमडीले काँधमा धाप मार्दै भने- ‘छोरीजस्तो लाग्छ मलाई ।’

—–

त्यो रात कलबेल बजाउन परेन । खुल्लै थियो ।

ओछ्यानमा खुनको टाटो देखेर मलाई असाध्यै डर लाग्यो । तिनी थिइनन् ।

टेबलमा चिट्ठी थियो ।

चारपल्ट भयो मेरी छोरीहरूको हत्या भएको । ती अनमोल काव्यहरू थिए । तर, तपाईंको जिदलाई मैले यसैकारण कदर गर्नुपर्‍यो कि तपाईं मेरो लोग्ने हुनुहुन्थ्यो । लोग्ने हुनु एउटा घमण्ड पनि हुन सक्छ । किनभने, म लोग्ने होइन । मलाई लाग्यो, यो लोग्ने कुनै दिन मलाई पुरुषप्रति घृणा गर्ने शब्द नबनोस् । मैले घृणालाई माया गर्नुपर्छ भन्ने कुरा पहिलोपल्ट काव्यको हत्या हुँदा नै थाहा पाएकी थिएँ । उनीहरूलाई हाम्रो संसारमा आउन वर्जित थियो । त्यसमा मैले पनि तपाईंलाई सहयोग गरिरहेकी थिएँ । तर, म नहुँदो हुँ, तपाईं हुनुहुन्थ्यो ? यो प्रश्नले मलाई सधैँ सतायो मिलन । मैले तपाईंको आमालाई सम्झिएँ । तपाईंलाई जन्माएर तिनी रमाइ होलिन् । तर, तपाईंको आमा नभएको भए तपाईं हुनुहुन्थ्यो ? यो प्रश्नले पनि मलाई सतायो मिलन । तर, म थिएँ, तपाईं हुनुहुन्थ्यो तर काव्यहरू किन हुन सकेनन् ? यो प्रश्नले मलाई होइन, तपाईंलाई किन सताउँदैन ?

त्यसउता केही लेखिएको थिएन । मैले कतिपल्ट त्यही कागजलाई ओल्टाइपल्टाइ गरेँ थाहा छैन । मेरा आँखाअघि मरेका सपनाहरू झुन्डिरहेका थिए । हड्डी बनिन नसकेका स-साना मान्छेका आकृति, मासु बनिन नसकेका मान्छे आकृतिका खुनका डल्लाहरू । अस्पतालको भित्तामा टाँगिएको स्क्रिन होइन, त्यो मेरो आँखा हो । जहाँ चारवटी काव्यहरू देखिएपछि मैले हत्याको योजना बुनेको हुँ । डा सलोनको चर्को आवाज मेरो कानमा कसैले मूला नै खाँदै जस्तो पसिरहेको थियो ।

‘यो अपराध हो मिस्टर मिलन ।’

‘म छोरो चाहन्छु डा सलोन ।’

अहिले यी वाक्यका हरेक अक्षर यति तिखा थिए, जति सुनीताको शरीरभित्र पसेका ती सुईका टुप्पाहरू थिएनन् । ती भ्रुणहरूलाई दुई फ्याक पार्ने र मेरो युद्ध जितिदिने ती सुईहरूले मेरो आँखा किन फोर्न सक्दैन ?

मलाई लागेको थियो, हरेक पुरुषलाई एउटै स्त्री परोस् । एउटै छोरा होस्, जस्तो म थिएँ । तर, ती खुनका डल्लाहरू जसको मैले हत्या गरिसकेको थिएँ, उनीहरू मेरा वरिपरि थिए । घुमिरहेका मासुबिनामा मान्छेहरू । केवल खुनका डल्लाहरू । मलाई सोधिरहेका थिए हजारौँ प्रश्न । म मौन थिइनँ । म मौन थिएँ । तर, कतिबेरसम्म ?

मैले भनेँ- ‘म हत्यारा होइन ।’

मैले नै भनेँ- ‘म हत्यारा हुँ ।’

म सुनीतालाई लिन कहिल्यै गइनँ ।

त्यो दिन म सोझै थानामा गएको थिएँ ।

म भनिरहेको थिएँ- ‘इन्सपेक्टर मलाई पक्रिनुहोस् ।’

उनीहरू मलाई हेरिरहेका थिए तर देखिरहेका थिएनन् ।

– मनोज बोगटी
http://nepal.ekantipur.com/news/2014-09-28/7515.html

प्रकाशित: आश्विन १२, २०७१

Leave a Reply

Your email address will not be published. Required fields are marked *