Skip to content

पन्थदेउरालीमा पुग्दा एक विवेचना


मानव जीवन कति लामो या कति छोटो भन्ने ।किनकि मानिस धेरै लामो समयसम्म बाँचे सयवर्ष बाँच्ला । त्यो पनि गतिहीन अवस्थामा । गतिहीन अवस्थामा बाँच्नु र मर्नुमा के नै भिन्नता हुन्छ र ? सकृय जीवन नै मानवको यथार्थ जीवन हो । निस्कृयता र बुढ्रयौली जति जति बढदै जान्छ मानिस त्यति त्यति सबैसँग टाढिदै जान्छ र अपहेलित बन्दै जान्छ । त्यसो हुँदा सकेसम्म मानिसले आफूलाई सक्रिय बनाई राख्नु पर्छ । हुनत भन्ने गर्दछन् तनले मानिस बूढ्यो भए पनि मनले र भावनाले मानिस कहिल्यै बुढो हुँदैन ।

जेहोस् म कता जान थालेको हुँ त्यो बाटो छाडेर जीवनका ओराली उकालीतिर पो धाउन थाले छुँ । हुनत मानव जीवन नै यात्राको मूल हो । यही यात्रामा हिड्दा हिड्दा मानव कहिल्यै नफर्कने गरी यात्रा समाप्त गर्दछ । यही जीवन यात्राभित्रका अनेकौ यात्राहरूमा यसपटक मलाई पाल्पाकाो मस्याम जान मन लाग्यो ।

धेरै वर्षपछि यही २०७४ साल जेष्ठ २८ गते म मेरो घरबाट मस्याम जानको लागि करिब दश बजे झोला बोकेर हिँडे, कावासोतीको फलफूलचोकबाट बुटवल जाने बसमा चढें । गाडी ठाउँ ठाउँमा रोकिदै यात्रु चढाउँदै अघि बढिरहेको थियो । जेष्ठको अन्तिम सातामा पनि आकाशमा कतै पनि बादल थिएन । घामको कडा किरणले बसमा उकुस मुकुस अनुभव हुँदै थियो र शरीरबाट तरर पसिना बगिरहेका थिए । डण्डा, चोरमारा अरुणखोला दुम्किबासमा गाडी त्यति धेरै अडिएन मानिस झार्ने र चढाउने काम चाँडो चाँडो गर्दै गाडी दाउन्नेको उकालोतिर लम्कियो । उकालो चढ्दै जाँदा शीतलोको अनुभव हुँदै गयो । रमणीय वन दाउन्ने देवीको मन्दिर नजिक जाँदा सानो बजार, गर्मीले अत्याएको वेलामा गाडी विसाउने तथा निजी वाहनहरूमा आएका यात्रीहरूले खाजा तथा खाना खाने ठाउँ, दक्षिणतिर हेर्दा खेतका फाँटहरू देखिने र पूर्व–उत्तरतिर हेर्दा दाउन्नेको डाँडो, दाउन्नेदेवीको मन्दिर, बौद्धगुम्बा साथै गुम्बा र मन्दिरमा जाने सुन्दर सिँढीभएको बाटो, दाहिने देब्रे तल माथि या चारैतिर सुन्दर वनले यात्रीको मनै लोभ्याउने भएता पनि हाम्रो गाडी भने यहाँ झर्ने यात्रीलाई झारेर अघि बढ्यो । यात्रीहरूले दाउन्ने देवी र बुद्धलाई गाडीभित्रैबाट स्मरण गर्दै दशऔंली जोडेर वरदान मागे ।

गाडी वरघाटमा पुगेर करिब १० मिनट जति अडियो । गाडी अडिन के थालेको थियो थालमा कसैले काँक्रा, कसैले फलफूल, कसैले मिनेरलवाटर आदि खानेकुरा लिएर गाडीभित्र पसे । कसैले पानी किने भने कसैले काँक्रा किने । मैले पनि काँक्रोको एउटा चिरो किनेर खान थाले । गाडी मूल बजारमा पुग्यो तर मानिस त्यति गाडीमा चढेनन् । एउटी १६। १७ वर्षे नानीको गाडीमा प्रवेश भयो ।युवा होस् या युवती आउने जाने् क्रम हुनु अस्वभाविक मानिदैन । तर यी नानीको अङ्गप्रदर्शित फेसनले सबैको नजर त्यतै तान्यो । हाम्रो पूर्वीय दर्शनमा ऋषि मुनिहरूले तपस्या गर्दा इन्द्रको सिंहशान नै हल्लिन थालेपछि अप्सरा पठाएर कामुक अङ्ग प्रदर्शनले ऋषिको तपस्या नै भङ्ग गराए जस्तै म बबुरो कलियुगको मानिस नै परें मेरा नजर पनि मनमा उठेका असंख्य कल्पना र भावनालाई त्यागेर तिनै युवतीमा अडिए । हुनत मलाई थाहा छ कि लुप्ततामा जुन आनन्द र जिज्ञासा हुन्छ त्यो नग्नतामा हुँदैन । उखानै छ नाग्गिन पाएँ भन्दैमा धेरै नाग्गिन हुँदैन । नाग्गिए पछि के नै बाँकिरहन्छ र कौतुहल्ता जति समाप्त हुन्छ । उनी सरासर म बसेकै सिटमा आएर झ्यालतिर बस्न पाउँ न हजुरबा भन्न थालिन् । पहिरनमा अर्धनग्न भए पनि बोलीमा भने उनी शिष्ट थिइन् । म देब्रेतिर सरेर उन्लाई दाहिनेतिरको सिट छाडिदिएँ । उमेरको हिसावमा त मैले भन्न पर्ने केहिरहेन किनकि उन्ले नै हजुरबाको नातो लगाइसकेपछि । मैले मौनता तोड्दै भने ‘कहाँसम्मको साइत हो नानी ?’

मुस्कानपूर्ण आवाजमा उत्तर आयो ‘बुटवल’ ।

म चुप रहन सकिन, साह्रै गर्मी छ, सारा शरीर ढाक्ने गरी कपडा लगाउन पनि नसकिने, नाग्गै हिड्न पनि नमिल्ने, आजको जमाना पनि जति सक्दो नाग्गिनु नै अति सभ्य ठानिने …. आदि कुरा म बोल्दै गएँ ।उन्ले सुन्दै गइन् । उन्को गहुँगोरो अनुहारमा लालीमा भरिदै गयो, सायद उन्ले लगाएको कपडामा व्यङ्ग कसेजस्तो उन्ले ठानिन् होला ? म अगाडि बढ्न चाहिन । उनी पनि आफ्नो अर्धनग्न रूपलाई सरसर्ती नियाल्दै केही बोल्न चाहिनन् । मलाई आफन्त भेट्नको लागि पिपलडाँडा झर्नु थियो झर्नको लागि मैले गाडी रोक्न लाग्दा एउटा युवकले सिट ओगट्न अगाडि बढे, जोडी मिल्दो युवकलाई स।ँगै राखेर गाडीबाट ओर्लन पाउँदा ममा सन्तोष पलायो ।

पिपलडाँडामा झर्न त झरें तर त्यहाँ पनि विवाहको ठूलो भोज रहेछ । म अलमलमा परे । नबोलाएको ठाउँमा कसरी जाने । फर्कु पनि कसरी ? भाइ टीकाराम र हरिले देखिहाले र मलाई लिन बाटोमा आइपुगे । निम्ता नगरेर के भयो त । देवता र पितृले डोर्याएर ल्याइहाले । मैले पनि मुस्कुराउँदै भनिहाले –‘निम्ता नगरिएको मानिस यदि आइहालो भने सबैले भन्ने कुरा त यही नै त हो ’। भोज पनि खाइयो, सबैसँग भेटघाट पनि भयो । बिदा माग्दै म बुटवलतिर हानिएँ । आजको रात बुटवलमै बिताउनु थियो र रामचन्द्र भाइ(फुपूको छोरा) मोटर साइकल लिएर लिन आए । उन्को घरमा गइयो । म त्यहाँ पुगेको थाहा पाएर भान्जा नवराज पनि भेट गर्न आउनु भयो । गीता (रामचन्द्रकी श्रीमती)ले चिया पकाइन् र सबै जनाले आनन्दसँग सुख दुःखका कुरा गर्दै खाजा खाइयो ।

‘जाने होइन ? ’गीताले आवाज निकालिन् ।

‘ए ! जानी हो, सबै जना जाऊँ’ रामचन्द्रले मतिर फर्केर भने । कहाँ जाने किन जाने मलाई कौतुहलता जाग्यो र सोधी हालें । कहाँ र केको लागि जाने ? गीताले भनिन् –‘यहा निशुक्ल फिजियोथेरापी गरिन्छ, विभिन्न रोगलाई यसले निको पार्छ आदि आदि कुराहरू सुनाइन् र हामी सबै तेत्यै लागे म । एक दिनको उपचारमा म पनि सहभागी भएँ ।

भोलिपल्ट विहानै उठेर म पाल्पको तत्कालीन् मस्याम गाउँ विकास समिति र परिवर्तित तिनाउ गाउँपालिका वडा नं ६मा जाने तरखरमा लागें । रामचन्द्रले वाइकमा राखेर बसपार्कसम्म पुर्याइ दिए । बस हिड्न तयार रहेछ, म पनि बसमा चढेर अघिल्लो सिटमा नै बसें । आडमा बालक साथमा लिएर एक जना करिब २५वर्षे युवती बसेकी थिइन् । बालक अति नै सानो थियो सायद बोली फुटेको धेरै भएको थिएन जस्तो लाग्थ्यो । हात जोडेर नमस्कार गर्यो, मुसुक्क मुकुरायो । मैले पनि नमस्कार हात जोडेर नै गरें । मैले ती युवतीलाई तपाईंको घरमा म जस्तो बूढो कोही छ भनेर सोधे, उनले ‘किन’ र भन्ने प्रश्न राखिन् । मैले पनि यी बालकले नचिनेर पनि मलाई नमस्कर गर्दै हँसिलो मुहार देखाए । यो हाम्रो घरको पारिवारिक प्रभाव हो । हामीले सबैलाई आदर गर्दै हँसिलो अनुहारमा हात जोडेर नमस्कार गर्दछौ । यस बालकले पनि कसैलाई देख्यो कि हात जोडेर नमस्कार गर्दछ । मलाई लाग्यो घर नै बालबालिकालाई सुमार्ग या कुमार्गमा लाने र प्रथम पाठशाला हो । नैतिकता, इमान्दारिता, स्वावलम्वीपन, अनुशासन, बोलीचाली सबै सबै चीज बालबालिकाले घरबाटै सिक्दछन् । गाडी सिद्धबाबाको थान काट्नै लागेको थियो । सबैले शीर झुकाए नमस्कार गरे, मेरो शीर पनि झुक्यो । अब गाडी रुपन्देहीलाई छाडेर पाल्पामा प्रवेश गर्यो । बाटो तल तिनाऊ खोला बगिरहेको थियो भने बाटो माथि डरलाग्दो पहरो थियो । केही मिनेटमै गाडी दोभानमा पुग्यो । बाटोको आडाका घरहरूले बाटोलाई सिङ्गारेका थिए । दोभानको सानो फाँट दुइवटा नदीको सङ्गम, वरिपरि हरियाली वन, नयाँ नयाँ घरहरू र मोटरको बाटोको निर्माण आदिले मनै लोभ्याउने दृश्यलाई अवलोकन गर्दै गर्दै अगाडि बढिरहेको बेलामा गाडी केराबारीमा गएर रोक्कियो ।

वास्तवमा केराबारीको सानो बजार ठाउँको अभावले होला पहिलाभन्दा त्यति परिवर्तन भएजस्तो लागेन । त्यहाँबाट गाडी अगाडि बढ्यो तर मेरो आँखा भने सत्यवती डाँडामा गएर अडिए । सत्यवती डाँडाको नाम त्यो डाँडामा एउटा ताल छ । त्यो तालको नाम सत्यवती ताल भनेर जानिन्छ । त्यहाँ पाल्पाको कृषि विकास कार्यालयमा कार्यरत छँदा त्यहाँ मेला लाग्ने दिनमा पुगेको थिएँ । मेला एकरातमात्र लाग्छ । यस मे्लामा नेपालबाट मात्र नभै भारतबाट पनि भक्तजन आउँछन् भन्ने कथन छ । मेला लाग्ने तिथि र वर्ष कहिले कहिले पर्छ भन्ने कुरा मैले बिर्से । यहाँको एउटा अनौठो किम्वदन्ती के छ भने सत्यवती माई बहिरी भएकोले यहाँ जो कोहीले वर माग्दा सबैले सुन्ने गरी ठूलोस्वरमा कराएर माग्नु पर्ने र भनिन्छ अर्को किम्वदन्ती पनि छ वर मागेको पुरा हुने नहुने कुरा पनि स्वत त्यही रातीमै जानकारीमा आउँछ । कसरी भन्ने प्रश्न आउन सक्छ । उत्तर पनि सजिलो छ । भक्तले लिएर गएको लिङ्गो तालको किनारमा एउटा चिनो राखी गाडी दिनेपछि गएर त्यो लिङ्गोमा करिब दुई अङ्गुलजति पानीले भिजेको देखिएमा वर पाइएको नभिजेको खण्डमा वर नपाइएको । सबैले थरि थरिका वर मागेको सुनिएको थियो मैले पनि विएस्सी कृषि पढ्न जान पाउँ भनेर वर त मागेको थिएँ तर लिङ्गोमा चिस्यान बढे नबढेको जानकारी भने लिन सकिन । तर केही महिनापछि मैले पञ्जाव कृषि विश्वविद्यालयमा पढ्न जाने मौका भने पाएँ । मलाई लाग्यो पाल्पा धार्मिक स्थल, प्राकृतिक सौन्दर्यता, भौगोलिक बनावट आदिको हिसावले एउटा सुन्दर जिल्ला हो ।पाल्पा ऐतिहासिक, राजनीतिक, समाजिक, शैक्षिक क्षेत्रको हिसावले पनि एउटा महत्त्वपूर्ण जिलला हो । विक्रमी १६औं शताब्दीतिर धर्मात्मी राजा मणिमुकुन्दशेनले राज्य गरेको यो राज्यको फैलावट पूर्वमा कोशी र पश्चिममा रुरुक्षेत्र, उत्तरमा मुक्तिनाथ र दक्षिणमा हरिहर क्षेत्रसम्म फैलिएको थियो भनिन्छ । शेनवंशीय राज्यसत्ताले पाल्पाको इतिहासमा महत्त्वपूर्ण स्थान ओगटेको छ । भैरव, हृषिकेशजस्ता देवताले यस क्षेत्रलाई धर्ममय बनाएको छ । मनमा यी कुराहरू खेलिरहँदा मेरो गाडीमा जाने गन्तव्य स्थान डुम्रे थियो त्यहाँ पुगें र ती सानो बाबुलाई बाइबाइ गर्दै गाडीबाट तल झरें ।

डुम्रेको सडकको किनार त घरैघरले भरिए छन् । खोलावारि खोलापारि घरै घरले भरिएका मैले चिन्ने कुनै मानिस पनि त्यहाँ देखिन । पुलमा एकजना मानिस उभिएर फोन गरिरहेका र म उनको नजिक पुगें । उन्ले एक्कासि सोधे तपाईंको घर कता पर्यो ? पहिला म पर्वते हो हाल मेरो घर कावासोती नवलपरासीमा पर्छ । उन्ले मलाई ढाप मार्दै भने मैले तपाईंलाई चिने तपाईं सदानन्द जैसी हैन ? मलाई करै लाग्यो ‘म सदानन्द जैसी हो’ भन्न । उनी बोल्दै गए –‘डमबहादुर कार्कीलाई बोलाएको छु । यहीं भेट हुन्छ । तपाईँ कता लाग्ने ?’ ‘म मस्याममै जानु छ’ । पर्खनु होस्, म मोटरसाइकलको जोहो गर्छु । यो उकालो चढ्न यो उमेरमा सम्भव छैन । पारि जाम, चिया खाम, डमबहादुर आउनुहुन्छ उहाँसँग भेट गरौं आदि भनाइ युद्धबहादुरजीले भन्दै पुल तर्न लाग्नुभयो र एउटा होटेलमा बसेर चिया बनाउन भन्नुभयो । डमबहादुरको र मेरो भेट त भयो तर बात चित केही गर्न नपाउँदै एक जना शिक्षक मोटर साइकलमा मस्याम जान आउनु भयो । युद्धबहादुरजीले शिक्षकलाई रोकेर उहाँ हाम्रो साथी हो मस्याम हटियासम्म लगिदिनु पर्यो भन्दै उहाँ मतिर फर्केर चिया खान छाडिदिनुहोस् मौका छोप्नु होस्, लौ जानुहोस् भन्दै मलाई बिदा गर्नुभयो । म आनन्दसँग मोटर साइकलमा मस्यामको हटियामा पुगे । मैले कुरा गर्दै जान थाले पुराना साथीहरूको नाम लिन थाले । मलाई चिन्ने बुढाहरू थुप्रिन थाले । रमाइलोसँग एक घन्टा जति बिताइयो ।

यहाँ बस्दा मलाई अति पुरानो पर्वतबाट बुटवल नून बोक्न जाँदाको, पढ्नको लागि आसाम जाँदाको आसामबाट घर आउँदाका घटनाक्रमहरू पर्दामा चलचित्रका घटनाक्रमहरू झर्दा झैं मेरा मानस पटलबाट एक एक गरेर झर्न थाले । म सात कक्षमा पढ्दा किताव किन्न पाल्पा आउनु पर्थ्यो । जीवन अति कष्टदाइ थियो । नून, तेल, कपडा अर्थात उपभोगका सबै चीज किन्न आउने बजार नजिक भनेको पाल्पा थियो र पाल्पा पछिको बजार बुटवल थियो । मेरो बाबु आसाम आयल कम्पनी डिगवोइमा लाहुरे हुनु हुन्थ्यो । घरमा बुटवल गएर नून र मटीतेल ल्याउने कोही थिएन । ढाक्रेहरूसँग किताव पनि किन्ने साथै नून र मटीतेल पनि ल्याउने गरी म पनि बुटवल जान हिंडे । मेरी हजुरआमा भन्दै हुनुहुन्थ्यो– ‘कलिलो छ उमेर, भो नजा,बरु अनिलो नै खाउँला । हैजा लागेर मानिस मर्दछन् । बुटवल जान सजिलो छैन’ । मैले हजुरआमालाई किताप किन्न तानसेन जान परेपछि बुटवल पनि पुग्छु भनी अनुमति सिलएँ । यति बेलाको दुई वटा स्मरण अँझै ताजा छन् । एउटा स्मरण त मोहन डाँडाको हो । त्यहीं हैजाले एक जना गाउँले मरेको चर्चा ढाक्रेहरूले निकाले अनि त्यस रात त्यही बस्ने तरखर भयो । चारैतिर दिसा गरिएको थियो । एउटा बेलको रूखको फेदमा भएको पानी ल्याएर खाना बनाउन र त्यही पानी पिउनु पर्ने भए पछि मलाई साह्रै घृणा लागेको र यस्तो पानीले पकाएको खाना कसरी खाने र पानी कसरी पीउने कुरा मैले राख्दै थिएँ । सबैले सपासप खान थाले, एक जना बृद्धले भन्दै थिए यात्रा र यात्रामा पाइने चिज सागर हो त्यहाँ के मिल्छ के मिल्दैन चियो चर्चो गर्न हुँदैन । त्यो भन्नु विवशता थियो होला ? मलाई पनि भोक त लागेको नै थियो । खाना खानु बाहेक अरु कुनै उपाय थिएन । आज मलाई लाग्छ त्यतिवेला हैजाको मुख्य कारण नै प्रदुषित पानी थियो । अर्को अविस्मरणीय कुरा रानीघाटको लामो घाट त्यो घाट्,सानो डुँगाबाट तर्न परेको र डुँगामा पहिलो पटक तर्दा निकै डर लागेको । घाट तरिसकेपछि रुद्र शमसेरले रानीको वियोगमा बनाएको रानीमहलको सौन्दर्यताले मोहनी लगाएको । यसपछि उकालो चढ्दै डाँडोमा पुग्दा शीतलो हावा सरर बगेको चारैतिरको रमणिय दृश्यको सजिलै अवलोकन गर्न पाइने, उत्तरतिर फर्कदा हिमाली शृङ्खलाको अवलोकन, दक्षिणतिर फर्कदा माडिफाँटको मोहकता प्रवासको पोखरीको स्वच्छ जल आदिलाई नयन पटलमा ल्याउने काम गर्ने स्थानको नाम हो श्रीनगर । श्रीनगरबाट तल झर्दा सुन्दर बजार, दरबार, मन्दिरहरू, टुण्डिखेल आदि हेर्दै बर्तुङ अनि प्रवास नयाँपाटी डुम्रे हुँदै मस्यामको उकालो चढेपछि पन्थदेउराली पुगिने ।

पन्थ भनेको बाटो हो । पन्थी भनेको यात्री हो । शब्दकोष अनुसार देउरालीको अर्थ पहाडको उकालो सिद्धिने ठाउँ या भञ्ज्याङ परेको ठाउँमा बटुवाहरूले ढुङ्गा चढाउँदै जाँदा देवलजस्तो भएको थुप्रो या वनदेवी पनि भनी अर्थ्याएको छ । यहाँ बुटवल जानको लागि पहिलो पटक जानेव्यक्तिलाई (जसमध्ये म पनि पर्थे लाई) ढाकर(डोको)मा लिङ्गो ठड्याएर बोकाको आवाज निकाली (वावागर्दै) टाङमा लौरा राखेर जुरुक्क उठाउने गरेको एउटा अनौठो भोगाइ भोग्न पर्दथ्यो । नयाँ पन्थी जो कोही होस् यो भोगाइ भोग्नै पर्थ्यो । यसलाई पन्थी सजेको भनिन्थ्यो । भञ्ज्याङमा पुगेपछि पातीको लिङ्गो देउरालीको थुप्रोलाई परिक्रमा गर्दै देउरालीमा चढाउँदै मस्याम हटियातिर लागिन्थ्यो । यो प्रथा मोटर चल्न थालेपछि समाप्त भएको थियो तापनि हाल पनि देउरालीको थान भने यथावत छ । मस्यामहटियाबाट तल झरेपछि सिस्नेखोला दोभान हुँदै खस्यौली÷बुटवल पुगिन्थ्यो ।

मेरो यस पटकको मस्याम यात्रामा स्थानीय चुनावको प्रचार प्रसार तीब्र गतिमा चलेको र साथीहरू चुनाव प्रचार प्रसारमा लागेकोले त्यहाँ बसेर साथीभाइलाई रोक्न मन नलागि पुन आउने बाचा कवोल सहित म नवलपरासीतिर फर्के ।

सदानन्द अभागी
कावासोती नगर पालिका वडा नं –७ शान्ति चोक,
२०७४ साल असार १५ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *