पैसठ्ठी जेठ पन्ध्रमा तिमी आयौ
साँच्चै आम जनताको दैलोमा चाहिँ कहिले आउँछौ
बालुवा चाल्ने कहाँ चाहिँ कहिले आउँछौ
गिट्टी कुट्ने कहाँ चाहिँ कहिले आउँछौ
मालिकको दासता भएको ठाउँमा चाहिँ कहिले आउँछौ
साँच्चै पैसठ्ठी जेठ पन्ध्रमा तिमी आयौ
राजतन्त्रेलाई धुलो चटायौ
तर यहाँ सबै नेतामा राजामहाराजा बन्ने लालसा बढ्दै गएको छ
होइन होइन कदापि होइन
अरुलाई महाराजा बनाउन बलिदानीले गणतन्त्र ल्याएको होइन
राजतन्त्रेले गद्दी छाडेपनि सम्पत्ति नेपाल सरकारको भएको छैन
अहिलेसम्म कसैको बाउले वास्ता गरेको छैन
हे गणतन्त्र ! तिमीलाई कसैको राजतन्त्र स्वीकार्य छैन
मलाई पनि कसैको राजतन्त्र स्वीकार्य छैन
चाहे त्यो मलाई एकदमै मनपर्ने पार्टी किन नहोस्
मलाई तिमीहरूको पनि राजतन्त्र स्वीकार्य छैन
यो मेरो गणतन्त्र प्रतिको निष्ठा हो
गणतन्त्र एउटा युग बदल्ने आवाज हो
गणतन्त्रको आवाजमा भिराइएका तगारोहरूबाट मुक्ति छ
दासताको बन्धनबाट छुटकारा छ
साँच्चै गणतन्त्र तिमी उन्मुक्ति हौ
तिमी साङ्लो तोड्ने क्रान्तिकारी हौ
तिमी पाउको जञ्जीर तोड्ने बाहक हौ
त्यसैले तिमीले सबै ठाउँ आउनै पर्छ
दुःखीजनकहाँ आउनै पर्छ
सोझा सिधाकहाँ पनि आउनै पर्छ
तिमी बन्धन चुँडाली आऊ
संसारलाई अग्रगमणमा लान आऊ
हे गणतन्त्र तिमी कैद भएर नबस
सम्पूर्ण सर्वहारा कहाँ सपूत बनी आऊ
सर्वत्र आऊ, सर्वत्र छाऊ
सबैठाउँबाट राजतन्त्रे हटाऊ
दुःखीजन सबैलाई उन्मुक्ति दिलाऊ
शहिदको सपना साकार बनाऊ
हो ! शहिदको सपना साकार बनाऊ
नोट :– गणतन्त्र त आयो अब तुरुन्तै संस्थागत पनि गर नेपाल सरकार भन्दै २०७३ जेठ १५को नवौं गणतन्त्र दिवसको उपलक्ष्यमा सम्पूर्ण शुभ-चिन्तकहरूलाई शुभ-कामना सहित
२०७३ जेठ १३
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
