Skip to content


‘त्यो मरिछ नि !’ आइमाईको अनुहार उज्यालो देखियो ।

‘को मरिछ ?’ ऊ झसँग भयो ।

‘त्यही क्या ।’

‘को त्यही ?’

नाम याद गरिएन । जे भयो राम्रै भयो । मर्ने समय आएपछि एकदिन सबैले मर्नुपर्छ । आइमाईले नाम भन्न नचाहेको उसले राम्रैसँग बुझ्यो । कसैको मृत्युमा पनि खुसी हुने आइमाई कस्ती होली ? ऊ खिन्न भयो । र भन्यो, ‘जो मरे पनि मृत्यु शोक हो । अर्काको शोकमा यसरी खुसी हुने आइमाई मैले आजसम्म देखेको छैन ।’

‘मेरी बहिनी होइन दु:खी हुनलाई !’ उसले भनी ।

‘जो भए पनि मृत्युमा खुसी हुने मानिसको मगज सहीचाहिँ हुँदैन ।’ उसलाई दिक्दार लाग्यो । कस्ती आइमाइसँग कुरा गरिरहेको छु जस्तो भयो । त्यसपछि ऊ चुप लाग्यो । र, टेलिभिजन खोल्यो । टेलिभिजनमा ब्रेकिङ न्युजतिर आँखा दौडियो ।

‘राष्ट्रकै चर्चित लेखकको मृत्यु…!’ उसको मुटु ढुक्क फुल्यो । बरू, कुनै डरलाग्दो सपना भइदिए हुने । अथवा, अरू कसैको नाम भइदिए हुने । उसले एकछिन आँखा चिम्लिएर सोच्यो ।

‘एउटा लेखकको मृत्यु..!’ उसले सोच्न नपाउँदै पुन: त्यही नाम दोहोरीयो । राइटरको मृत्यु बायोग्राफीसहितको भिडियो पनि प्रसारण हुन थाल्यो ।

परिचितजस्तो लाग्ने सडक पार गरेर एक हूल पुलिस एउटा घरको गेटमा पुग्छन् । गेट परिचित नै हो । उसले अनुमान गर्‍यो । क्यामेराले राइटरको घर कैद गर्छ । घर झनै परिचित हो । त्यही परिचित घरको ढोका फोरेर एक हूल पुलिस भित्र छिर्छन् । पुलिससँगै भर्‍याङको प्रत्येक खुड्किला उक्लिँदै क्यामेराले भित्ताका परिचित तस्बिरहरू कैद गर्छ । र, झन्डै सडेको अवस्थामा एक युवतीको लास बाहिर निकाल्छ । पुलिस भ्यानमा लास राखेर केही सोधखोज गर्छन् र साइरन बजाउँदै बाटो लाग्छन् ।

‘देशकै होनहार राइटरको मृत्यु !’ टीभी प्रस्तोताले थप जोड दिएर भन्छ, ‘एक सातादेखि आफ्नै घरमा मृत अवस्थामा रहेकी राइटरको लास सड्न थालेपछि मात्र छिमेकीले थाहा पाएका थिए र पुलिसलाई खबर गरेका थिए…!’

मृत्यु रहस्यमय छ ।

राइटरले विष पिएकी थिइनन् । न उनले पासो लगाएकी थिइन् । उनको शरीरमा त्यस्ता कुनै निसान पनि थिएनन्, जहाँ कसैले हातपात गरेको आशंका गर्न सकिन्थ्यो ।

‘यहाँहरूले देखिहाल्नु भो, घर शान्त थियो । बिलकुल शान्त । त्यहाँका कुनै सामान तल–माथि भएका थिएनन् । बैठकका पर्दा खुलै थिए । एक थान सोफा, एक थान टेबल, एक थान टेलिभिजन र भित्तामा मुस्कुराइरहेका पदक र राइटरका सुन्दर तस्बिरहरू यथावत् थिए ।’ राइटरको किचन, बाथरुम र मिनीबार पनि सुरक्षित नै देखिन्थे । त्यहाँ कुनै काँचका गिलास र रिकापीहरू फुटेका थिएनन् । तर, एउटा आश्चर्य छ । त्यो के थियो भने, राइटरको किताब भण्डारमा एउटै किताब छैनन् । सबैलाई थाहा भएकै कुरा हो, राइटर पुस्तकप्रेमी थिइन् । यसअघि राइटरको घरमा जानेले उनको एउटा लाइब्रेरी भएको स्पष्टै देखेका थिए । तर, यतिबेला त्यो लाइब्रेरीमा एउटै किताब छैनन् । राइटरको घरबाट किताबहरू कसरी गायब भए ? के राइटरले मर्नुअघि सबै किताब बेचिन् ? यो सोच्नुपर्ने कुरा हो ।

कि कसैले राइटरको किताब भण्डारमा आँखा लगाएको थियो ? यो अनुसन्धानको विषय थियो । पुलिस तत्काल किताब खानाको निरीक्षणमा लाग्यो । थाहा भयो राइटरको मृत्यु हुनुअघि उनको घरअगाडिको आँगनमा ठूलो आगो बलेको थियो । हुन सक्छ, त्यतिबेला तिनै किताब जलेका थिए । किनभने, मोह र वितृष्णा एकअर्काका परिपूरक हुन् । ‘मोहलाई वितृष्णाले जित्यो भने सबै कुरा घृणामा बदलिन्छ’ भन्ने पनि उनै थिइन् । के थाहा उनको पुस्तक मोह पुस्तक घृणामा बदलिएको पनि हुन सक्छ । ‘जीवनभन्दा सत्य अर्को कुनै किताब हुन सक्दैन भन्ने महसुस भएको दिन मेरो पुस्तक मोह सकिनेछ,’ उनले लेखेकी थिइन् ।

जे होस् राइटरको मृत्यु रहस्यमय छ…. ।

तँछाँड–मछाड गर्दै समाचारका हेडलाइनहरू कुदिरहेका थिए । ऊ स्तब्ध थियो ।

‘थाहा छैन जिन्दगी कतिबेला सकिन्छ । कतिबेला सबै सपनाको अन्त्य हुन्छ । तर, यो भेटमा हामीले गरेका कुरा सधैँ रहिरहन्छन् । पात्र फेरिन्छन् त्यो अर्कै कुरा हो । टेबुल यही हुनेछ, काँटा–चम्चा यिनै हुनेछन् । रक्सी अथवा कफीको स्वाद उस्तै हुनेछ । तर, हामी हुने छैनौँ । ऊ त्यो होटल मालिक पनि हुनेछैन ।’

प्रस्तोताले केही साताअघि छापिएको राइटरको अन्तर्वार्ताको हेडलाइन पढेर सुनायो ।

‘जिन्दगीका सबै आयामभन्दा बेग्लै आयाम, जिन्दगीका सबै आनन्दभन्दा बेग्लै आनन्द र जिन्दगीका सबै पीडाभन्दा बेग्लै पीडा यदि केहीमा छ भने त्यो प्रेममा छ । मानिस त्यस्तो प्राणी हो, जसले पलपल मरेर पनि त्यही प्रेम अनुभूत गर्न मन पराउँछ । र, पटकपटक मर्न मन पराउँछ । जिन्दगीको परिभाषा एउटा प्रेम हो, अर्को मृत्यु ।’

यो राइटरले नै लेखेको पंक्ति हो ।

‘यो संसारमा एउटा इतिहास समयले रच्छ । र, अर्को इतिहास मानिस आफैँले निर्माण गर्छ । मानिस आफैँले निर्माण गरेको इतिहास त्यो सभ्यता हो, जसले भावी पुस्तालाई एउटा शिक्षा छोडेर जान्छ । गहिरो प्रभाव जमाएर जान्छ । र, स्थापित हुन्छन् थुप्रै मान्यता । जहाँ उभिएर एउटा सभ्यताको सुरुआत सधैँ मुस्कुराइरहन्छ…!’ केही समयअघि प्रकाशित एउटा कथामा राइटरले लेखेकी थिइन् । उनले लेखेका यी हरफजस्तै अब उनी इतिहासका हरफमा मुस्कुराउने छिन् ।’

प्रस्तोताले राइटरको मृत्यु बायोग्राफी अन्त्यतिर पुर्‍यायो । अन्तिममा फेसबुक र ट्वीटरहरूमा राइटरको मृत्युवारे दु:ख व्यक्त गर्नेहरूबीचको संवाद प्रस्तुत गर्‍यो ।

– मृत्युको कारण डिप्रेसन हो रे ! किनभने, राइटर बेरोजगार थिइन् ।

– केको बेरोजगार, बेरोजगार त बरू हामीलाई भन्न मिल्छ, उनका त एक दर्जन उपन्यास हिट छन् ।

– यो नेपाल हो साथी, यहाँ राइटरको कुनै तलब हुँदैन ।

– आत्महत्या त हुनै सक्दैन किनभने राइटर आत्महत्याको विरोधी थिइन् । आत्महत्या जिन्दगीको सबैभन्दा ठूलो कायरता हो । यो मैले उनको उपन्यासमा पढेको थिएँ ।

– उनी धोका खाने राइटरचाहिँ होइनन् है ! बरू, धोका दिएकाले आघात भएको हुन सक्छ ।

– उनका सबै उपन्यासमा लोग्ने मानिसलाई यति धोका ख्वाइएको छ । यो पढेपछि उनलाई धोका दिने आँट सायदै कसैले गर्‍यो होला ।

समाचारका खुराक मानिसहरू आ–आफ्नै सोच र क्षमताले तयार गरेका थिए । जवाफहरूको बीचमा राइटरको मृत्यु पुन: सवाल बनेर उभिएको थियो ।

आइमाई पनि नजिकै आएर ती सबै कुरा हेरिरहेकी छ भन्ने उसले चाल पायो । उसलाई आइमाइसँगै उसको प्रसन्नता उभिएको अनुभव भयो । ब्रेकिङ न्युज र छेउमा उभिएकी आइमाई… राइटरको मृत्यु र उसको प्रसन्नता… उफ् ! उसलाई खपी नसक्नुहुन्छ । र, आँखा चिम्लिन्छ । आँखा चिम्ले पनि राइटरको मृत्युको खबर जोडजोडले कान हुँदै मन–मस्तिष्कमा गएर ठोक्किइरहन्छ । त्यसपछि मुटुमा पुग्छ । लोग्नेले आफ्नो उपस्थिति मन नपराएको बुझेपछि आइमाई किचनतिर लाग्छे । केहीबेर अलमलिएर प्लेटमा मासुका परिकार र रक्सीको गिलास लिएर उपस्थित हुन्छे ।

दुवै गिलासमा रक्सी भरेर आइमाईले एउटा उसलाई दिन्छे । उसले गिलास समात्न सक्दैन । गहिरो मौनताले उसलाई छोप्छ । आइमाईले उसको गिलास टेबलमा राखिदिन्छे र आफूले पिउन थाल्छे । उसलाई आइमाईले आफ्नै रगत रक्सीको गिलासमा राखेर पिइरहेकी छ जस्तो लाग्छ । प्लेटमा राखेको मासुको परिकारमा उसलाई आफ्नै मुटुका टुक्रा फ्राई गरेर राखेको अनुभव हुन्छ ।

कसरी मर्न सकी होला ? म कसरी यति निष्ठुर भएँ ? उसले आफैँलाई सोध्छ । एक सातादेखिको घुर्की अब सदाका लागि समाप्त भएको थियो । त्यो दिन पनि फोन नउठाएकै कारण ऊ रिसाएको थियो । शंकाको बादलले पटकपटक उसलाई अँध्यारो बनाउँथ्यो र यसरी नै ऊ मौन हुन्थ्यो । तर, के थाहा यसपटकको मौनतामा जिन्दगीभरिको मौनता समेटिने छ । उसले सोचेकै थिएन, यतिबेला राइटरले फोन नउठाउनुको कारण उनको आफ्नै मृत्यु हुन सक्थ्यो । ऊ घोरिन थाल्यो ।

राइटरले एकपटक भनेकी थिइन्, ‘कुनै दिन म यत्तिकै मर्छु । मानिसहरूले मेरो लास गनाएपछि थाहा पाउनेछन् ।’ उफ् ! कसरी उनले बोलेको कुरा सत्य साबित भयो ? ऊ रन्थनियो ।

आइमाईले उसको हात समात्न खोजी । उसले वास्तै गरेन ।

‘दु:ख लाग्यो ?’ उसले सोधी । ऊ फेरि बोलेन । चुपचाप बसिरह्यो । मानौँ ऊ ढुंगा भयो ।

‘मरी त मरी । अब दु:ख मानेर के हुन्छ ?’ आइमाईले भनी । ऊ मूर्तिवत् बसिरह्यो ।

‘आज खाँदैनौ ?’ आइमाईले सोधी ।

ऊ बोलेन ।

‘त्यसो भए खाना खाऊ ।’ आइमाई उठेर किचनतिर गई ।

राइटरको मृत्युमा आइमाईले गरेको अट्टाहासले उसलाई भित्रभित्रै औडाहा बनायो । एकपटक जुरुक्क उठ्यो । फेरि थ्याच्च बस्यो । किन मरी होला ? आफैँलाई सोध्यो । कसरी मरी होला ? उसलाई पनि मृत्युको अनुभव गर्न मन लाग्यो ।

‘अब राइटरसँग कहिल्यै भेट हुने छैन । न त अब कुनै संवाद नै हुन सक्छ । त्यसकारण, हामीले केही वर्षअघि उहाँसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौँ ।’ प्रस्तोताले राइटरको मृत्युको कथा सकेर पुरानो अन्तर्वार्ता प्रसारण सुरु गर्‍यो ।

ऊ झस्कियो । हो त अब राइटरसँग कहिल्यै भेट हुने छैन । न त कुनै संवाद नै हुनेछ । उसको मन अमिलो भयो । भित्र कतै बाँउडिएर आयो र बग्न थाल्यो आँखाबाट राइटरसँगको प्रेम । राइटर निर्जीव थिइन्, जसको प्रेम मात्र शब्दहरूसँग थियो । तर, तिनै शब्दलाई सिरानीमा राखेर उसले राइटरसँग अथाह प्रेम गरेको थियो । राइटर निश्छल हुन्थिन्, जसलाई ऊ प्रेम गर्थ्यो । राइटर सधैँ कुमारी हुन्थिन्, जतिबेला उसले उनलाई स्पर्श गर्थ्यो ।

तिनै शब्दहरूबाट एकाएक उठेर हरेक रात राइटरले पनि उसलाई प्रेम गर्थिन् । आँखा, निधार र गाला हुँदै ओठमा पटकपटक चुम्बन गर्थिन् । पहिलो गाँस उसलाई ख्वाएर त्यही हातले आफू खान्थिन् । अनि भित्रै राखूँलाजस्तो गरेर उसलाई छातीमा टाँसिरहन्थिन् । र भन्थिन्, ‘प्रिय पुरुष ! म मायामा भोको छु । मलाई तिम्रो प्रेममा तृप्त हुन देऊ । सेक्स दोस्रो कुरा हो ।’

सेक्सको के कुरा, राइटरले हरेक रात ऊसँग प्रेमको तृप्ति खोज्थिन् । सेक्समा त ऊ सधैँ हार्थ्यो । किनभने, हारेको पुरुषलाई राइटरले झन् बढी माया गर्थिन् । यो सत्य हो, मायाकै लागि ऊ सधैँ हार्ने गर्थ्यो ।
उफ् ! कसरी गर्न सकेकी त्यति धेरै प्रेम ? के उनको मृत्युको कारण त्यही प्रेम हो ?

‘प्रेमको तृप्ति एउटा मृत्यु ! जुन दिन म मायामा पूर्ण हुनेछु, त्यही दिन मेरो अन्त्य हुनेछ ।’ उसले सिरानीमा राखेर राइटरलाई अथाह प्रेम गरेका ती शब्द उठायो । र, विसर्जनका लागि हिँड्यो ।

प्रकाशित: वैशाख २, २०७३

http://nepal.ekantipur.com/news/2016-04-14/20160414171248.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *