दर्जनौँ कथाको रचना र तिनीहरूको शृंखलाबद्ध संयोजन हुने भएकाले होला, उपन्यास लेखनलाई साहित्य लेखनको सबैभन्दा कठिन विधा मानिन्छ । तर, कृष्ण धरावासीका लागि उपन्यास लेखन बायाँ हातको खेलजस्तो लाग्छ । ०५६ सालमा पहिलो उपन्यासका रूपमा शरणार्थी प्रकाशित गरेयता १६ वर्षमा धरावासीका आधा दर्जन उपन्यास आइसकेका छन् । उनको पछिल्लो उपन्यासका रूपमा आएको छ, ग्रेटफल्स ।

खासमा ग्रेटफल्स भर्जिनिया (अमेरिका)को पोटामेक नदीले छाँगोका रूपमा गरेको सुन्दर रचना हो । तर, धरावासीले यसलाई विम्बका रूपमा प्रयोग गरी अलिक फरक रूपमा ग्रेटफल्सलाई अर्थ्याएका छन् । उनका अनुसार संसारभरका मानिसहरू अमेरिकालाई ग्रेट मान्छन् र एकपल्ट घुमेर आफ्नै मातृभूमिमा फर्कने योजनाका साथ हुँदो नहुँदो गरी अमेरिका पस्छन् । यसरी अमेरिका पसेकाहरू त्यहाँ यसरी फस्न पुग्छन् कि उम्कनै सक्दैनन् । यही उम्किन नसकिने फसाइलाई धरावासीले ग्रेटफल्स भनेका छन् ।

अमेरिका पुगेका नेपालीको सुखदु:ख र पति–पत्नीबीच कसरी विग्रह हुँदैछ भन्ने विषयवस्तु नै उपन्यासको केन्द्रविन्दु हो । यसका लागि उनले आफ्नो क्याम्पस जीवनकी साथी दीपमाला र उनका पति विश्व केसीबीचको सम्बन्धलाई अघि सारेका छन् । थप अध्ययनका लागि अमेरिका पुगेकी पद्मकन्या क्याम्पसमा प्राध्यापनरत दीपमाला जब अमेरिकामा दह्रोसँग खुट्टा टेक्न सक्ने हुन्छिन्, त्रिचन्द्रमा अंग्रेजीका प्राध्यापक पति विश्व र छोरी श्रीमालालाई अमेरिका बोलाउँछिन् । तर, दीपमाला–विश्वबीचको सम्बन्ध केही महिनापछि झन्डै डिभोर्सको तहमा पुग्छ ।

‘नेपालमा त म अंग्रेजीको प्राध्यापक हुँ नि !’ भन्ने अहंका कारण विश्व अमेरिका पुगेपछि आमनेपालीसरह श्रम गर्न चाहन्नन् । काम पाएकै दिन त्यो जागिर छाड्छन् । फेसबुकमा भेटिने युवतीहरूसँग अन्तरंग कुराकानी गर्दै दिन बिताउँछन् । दीपमालाको पनि रुसी मूलका आन्द्रेइ नामका केटा साथीसँग उस्तै अन्तरंग कुराकानी भइरहेको हुन्छ, फेसबुकमा । दुवैले आफ्नो फेसबुक लगआउट गर्न बिर्सेकाले एकअर्काका रोमान्सयुक्त कुराकानी हेर्न पुग्छन् । यिनै कारण श्रीमान्–श्रीमतीबीचको खटपट यति तन्किन्छ, विश्वले दीपमालालाई छाडेर एक्लै बस्न थाल्छन् ।

गृहस्थीकासामु फेसबुकमा हुने यस्ता सस्ता संवादको कुनै महत्त्व हुँदैन भन्ने सन्देश दिँदै धरावासी दीपमाला र विश्वबीचको दाम्पत्य पूर्ववत् अवस्थामा ल्याउन भूमिका खेल्छन् । यसमा उनी सफल पनि हुन्छन् । खासमा, दीपमाला र विश्वबीच खटपटको सिर्जना गरेर लेखकले अमेरिकी भूमिमा टेकेपछि अधिकांश दाम्पत्य जीवनमा किन विग्रह आउँछ भन्ने कुरा देखाउन खोजेका छन् । हरेक कुरा व्यक्तिगत रूपमा डिल हुनुलाई नै लेखकले यसको मूल कारण ठहर्‍याएका छन् ।

अमेरिका टेकिसकेपछि लोग्ने–स्वास्नी व्यवहार र भावनामा बिस्तारै एक्लिन थाल्छन् । त्यसपछि ‘आफूलाई एक्लो देखेर स्वास्नीले हेप्न थालेको’ भन्न थाल्छ लोग्ने । स्वास्नीलाई लोग्नेले आफ्नो स्वतन्त्रता खप्नै सकेन भन्ने लाग्छ । परम्परागत विश्वास र मान्यता भत्कँदै गएकाले दाम्पत्य जीवनमा पनि अनौठो रंग देखिन थाल्छ । त्यसलाई व्यवस्थापन गर्न नसक्नेहरू पारिवारिक विघटनको दुर्घटना नाघ्दै अघि बढ्न बाध्य हुन्छन् ।

यो त भयो नेपालीमा परेको अमेरिकी विकृतिको प्रभाव । थुप्रै नेपाली केही बिकृति यताबाट बोकेर अमेरिका पुगेका छन् र तिनलाई उतै रोपेका पनि छन् । त्यसमध्येको एउटा प्रमुख हो, उता पनि नेपालका राजनीतिक दलका भ्रातृसंगठनका रूपमा भूमिगत गतिविधि गर्नु र महाधिवेशनमा प्रतिनिधि बनेर यता आउनु । जबकि, कानूनी रूपमा उनीहरू अमेरिकी नागरिक हुन् । यस्तै अर्को विकृति हो, अमेरिकामा पुन:स्थापित भुटानीलाई नेपालमा शरणार्थी हुँदा गरिएजस्तै हेय व्यवहार ।

‘नेपाल, भारत, बर्मा, भुटान जहाँ–जहाँबाट अमेरिका आएको भए पनि भाषिक र सांस्कृतिक हिसाबले हामी सबै नेपाली एक हुनुपर्ने हो । त्यसो भए यहाँ हाम्रो जनसंख्या पनि ठूलो हुन्छ । हाम्रो भाषा र संस्कृतिको पनि जगेर्ना हुन्छ । अरू चिनियाँ, भारतीयहरूको जस्तो संगठित शक्ति बन्न सक्छ,’ अमेरिकामा पुन:स्थापित भुटानी कुमार गुरुङ मार्मिक पारामा भन्छन्, ‘सबैभन्दा चित्त त त्यतिबेला दुख्छ, जतिबेला हाम्रै नेपाली दाजुभाइले हामीलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्छन् । यो पीर हामीलाई क्याम्पमा हुँदा त थियो थियो, अमेरिका आउँदा पनि ज्यूँका त्यूँ छ ।’

आफ्नै अघिल्ला कृति वा अरू कुनै लेखकका कृतिका पात्रलाई आफ्ना कृतिमा विभिन्न भूमिकामा निरन्तरता दिनु धरावासीको लेखनको एउटा विशेषता हो । इन्द्रबहादुर राईको जयमाया एक्लै लिखापानी आइपुगी भन्ने कथाकी जयमाया धरावासीको शरणार्थी उपन्यासमा एउटा प्रमुख पात्रका रूपमा देखिएकी थिइन् । यो उपन्यासमा पनि जयमाया सक्रिय रूपमा उपस्थित छन् । पुन:स्थापित भएर अमेरिका पुगेका भुटानीहरूले त्यहाँ भोगेका धेरै सुखदु:खका वास्तविकता लेखकले जयमायाको मुखबाट सुनाएका छन् ।

अमेरिकामा सुख छ, सुविधा छ । जागिर छ । गाडी छ । यस्ता भौतिक सुविधा र अवसरका कारण धेरै नेपाली युवाको सपना बनेको छ अमेरिका । यी कुरा त होलान् अमेरिकामा । तर, सुख र सम्पन्नताबाहेक त्यहाँ पनि दु:ख छ । निराशा छ । समस्याका पहाड छन् । यी वास्तविकता बताउँदै लेखकले अधिकांश शिक्षित नेपालीले कल्पना गर्ने अमेरिकाको सम्पन्नता एक हिसाबले भ्रम मात्र हो भन्ने देखाउन खोजेका छन् उपन्यासमार्फत । र, यसमा सफल पनि देखिएका छन् ।

ग्रेटफल्स
स्रष्टा : कृष्ण धरावासी
प्रकाशक : पैरवी बुक हाउस
पृष्ठ : ३३५
मूल्य : ४५० रुपियाँ
प्रकाशित: चैत्र १२, २०७२

http://nepal.ekantipur.com/news/2016-03-25/20160325151432.html

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *