एक्लो जीवन बिताइरहेकी अधबैँसे आईमाईको जीवनमा एउटा लेखकको प्रवेशपश्चात् आइपरेको स्वर्णिम र निर्मम पललाई सँगालिएको छ ‘शून्य आकाश’मा ।
प्रेम शाश्वत छ । प्रेम आफैँमा सुन्दर र प्रिय विषय हो । टेलिभिजनको दुनियाँमा चिनिएकी संगीता श्रेष्ठले आफ्नो पहिलो कृतिको विषय प्रेम नै रोजेकी छन् । पुस्तकको नामबाटै उनको आशक्ति मेसो पाइन्छ ।
संगीता मूलत: टेलिभिजन कार्यक्रम निर्माता र प्रस्तोता हुन् । बिस्तारै म्युजिक भिडियो निर्देशनतिर लहसिन् । त्यसपछि छोटा फिल्म । बिनासंवाद कथा प्रस्तुत हुने म्युजिक भिडियोभन्दा संवादसहितको छोटा फिल्म सशक्त हुने भेउ पाइन् । अँझ पटकथा गतिलो भयो भने त सुनमा सुगन्ध । त्यसैले उनमा लेखन मोह पलायो । कथामा अल्झिएका प्रेम त्यही मोहको परिणाम हो ।
भिन्न आयामका कथा उठाए पनि कथा भन्ने शैली र भाषा आकर्षक नभएकाले यस पुस्तकले संगीतलाई म्युजिक भिडियो र छोटा फिल्म निर्देशनबाट कमाएको उचाइमा पुर्याएको छैन । यद्यपि, टेलिभिजनको रंगीन दुनियाँमा मस्त एउटी युवती लेखनमा तातिनु आफैँमा प्रशंसालायक छ ।
पुस्तकमा १० थान कथा छन् । ती सबैले फरक पात्र र परिस्थितिको प्रेमलाई प्रतिनिधित्व गर्छन् । पात्र चयनमा लेखिका सतर्क देखिन्छिन् । पात्रको नियत, मनोविज्ञान, आन्तरिक र बाह््य द्वन्द्वको हकमा उनमा द्विविधा देखिँदैन तर समस्या ती पात्रको कथालाई विश्वसनीय र मन छुने शैलीमा भन्न नसक्नु हो ।
एक्लो जीवन बिताइरहेकी अधबैँसे आईमाईको जीवनमा एउटा लेखकको प्रवेशपश्चात् आइपरेको स्वर्णिम र निर्मम पललाई सँगालिएको छ ‘शून्य आकाश’मा । टुंग्याउनी परम्परागत भए पनि यसको क्राफ्ट अब्बल छ । ‘मृत्यु’मा चाहिँ भर्खरै कलेज जीवन सुरु गरेकी रोगी किशोरीको निर्दोषपनालाई उतारिएको छ मर्मस्पर्शी शैलीमा । आफ्नो प्रेमीको पर्खाइमा रहेकी साराको भोगाइ र नियति हो ‘नयाँ सुरुआत’ ।
‘सपना’को सेटिङ अलिक भिन्न छ । यसमा यौवनमै पति गुमाएर सासू–ससुरासँग जीवन काटिरहेकी विधवाको भित्री पीडा र आकांक्षा पोखिएको छ । कथ्य संरचना र भाषाशैलीका आधारमा यसलाई संग्रहकै उत्कृष्ट कथा मान्न सकिन्छ । सशस्त्र युद्धमा सयौँ निर्दोष स्कुले किशोर–किशोरी सिकार भए, ‘आयशा’ तिनकै प्रतिनिधि कथा हो ।
चोभारलाई विम्ब बनाइएको ‘अतीत’ कथाको संरचना बलियो छ । यसमा आमा गुमाएकी बच्ची र उनका बाबुको प्रेम पोखेकी छन् लेखिकाले । घृणा र घमण्डलाई मायाले कसरी जित्छ भन्ने उदाहरण हो, ‘पहिलो प्रेम’ । भलै शीर्षक अनुसार यसले पहिलो प्रेमको रोमाञ्चकतालाई समेटेको छैन । ‘रङ नम्बर’मा रेडियो प्रस्तोताको फ्यान हुँदा जीवन बर्वाद हुनुपरेको अभागी युवतीलाई मुख्य पात्र बनाइएको छ । भौतिक सुखको लोभमा असल प्रेमलाई तिलाञ्जली दिनेको कमी छैनन् भन्ने महसुस हुन्छ ‘चाहना’ पढेपछि । संग्रहको अन्तिम कोसेली ‘सानो प्रेम कथा’मा छोटै समयमा नजिकिएका जोडीको लोभलाग्दो आत्मीयता देखाइएको छ । यो आत्मपरक शैलीको संग्रहको एक मात्र कथा हो । बाँकी कथा तृतीय पुरुषमा लेखिएको छ ।
संगीताले अधिकांश कथालाई वियोगान्त मोडमा लगेर टुंग्याएकी छन् । प्रेम प्राप्ति मात्र होइन भन्ने मान्यताको पक्षपाती देखिन्छिन् उनी । लेखेकी छन्, ‘सबै प्रेम गन्तव्यमा पुग्छन् भन्नु गलत हुन्छ तर गन्तव्यमा नपुगेका प्रेमलाई प्रेम होइन पनि म भन्दिनँ । कसैलाई माया गर्नु र कसैलाई पाउनु नितान्त अलग कुरा हो ।’ कथाका स्वरूप भिन्न भए पनि उनको पुस्तकको मूल सार यही हो ।
संगीताले प्रेमलाई वयस्क उमेर समूहका रोमान्टिक र रुमानी सम्बन्धमा मात्र सीमित गरेकी छैनन्, उनले कोरेको प्रेमको क्यानभासमा स्कुले नानी, अनाथ बच्चादेखि पाँच दशक टेक्दै गरेकी महिलासम्म अटाएका छन् । तिनले हाम्रो समाजका फरक आयामका प्रेम र प्रेमलाई हेर्ने दृष्टिकोणलाई आत्मसात् गर्छन् ।
पात्रको जीवनमा ठूलो तनाव आइलाग्दा पनि पाठकको संवेदना क्यास गर्न नसक्नु एउटा लेखकको ठूलो कमजोरी मानिन्छ । पुस्तकमा यस्ता कमजोरी बग्रेल्ती भेटिन्छन् । जस्तो : ‘रङ नम्बर’की मूल पात्र अनु बलात्कृत हुन्छिन् तर यति अमूर्त र हतारिएर कथा भनिएको छ कि पाठकको आँखा मात्र दौडिन्छ, मुटुको धड्कन बढ्दैन । ठ्याक्कै यस्तै हुन्छ, ‘शून्य आकाश’की अनुराधाले आत्महत्या गर्दा पनि । पुस्तक आद्योपान्त पढेपछि यस्तो लाग्छ, उनको लेखनको मूल समस्या भनेकै उनी पात्रका जीवनमा ठूलो उतारचढाव ल्याउन खोज्छिन् तर सोही अनुरुप माहौल बनाउन चुक्छिन्, त्यसैले जति ठूला घटना भए पनि पाठकको अन्तरमनमा डेरा जमाउन सक्दैनन् । कति कथामा त ‘स्किप’को स्किम पनि दिएकी छन् ।
हिजोआज प्रेमका नाममा बिकाउ साहित्यको बोलवाला बढेको छ, जहाँ प्रेमलाई प्रेमिल र गहनभन्दा बजारु र यौनिकतालाई प्रधान मानेर लेखिएको हुन्छ । तर, कथामा अल्झिएका प्रेम यो कोटीमा पर्दैन ।
प्रकाशित: फाल्गुन २८, २०७२
http://nepal.ekantipur.com/news/2016-03-11/20160311122152.html
