गाउँको चित्र केवल नक्सामा मात्र देखिने भो । बयान बाआमाको मुखबाट मात्र सुन्न पाइने भो । खबरहरू पत्रिकामा मात्र पढ्न पाइने भो । गाउँको बासना एउटा सिसीमा कैद भएर आउने घिउ अनि पोकोमा गुटमुटिएर आउने गुन्द्रुकसँग मात्र आइपुग्ने भो । वास्तविक मानेमा गाउँ विस्मृतिको कुहिरोभित्र छिरिसकेछ । सहरमा मान्छे यति खुम्चिन्छ कि गाउँलाई मनमस्तिष्कभरि फिँजाउन पनि पाउँदैन । जहाँ मान्छे आफूलाई धरी बिर्सिन्छ, त्यहाँ उसले गाउँ के सम्झियोस् !

गाउँ सम्झनुपर्छ । सम्झनु मात्र होइन, बेला–बेला जानुपर्छ । जाने मात्र होइन, गाउँका लागि केही गर्नुपर्छ । यसखाले विचारले रहरको एउटा घडा निर्माण गर्‍यो । रहरको त्यो घडामा मेरो युवा जोस टिलपिल भरिएर आयो, जसरी भरिएर आउँछन् गाउँकै पुराना स्मृतिमा मेरा बा र आमाका आँखाहरू ।

अन्तत: म जाने भएँ मेरो गाउँ खोटाङ । एक जना भाइ पनि सँगै जाने । र, सुरु भयो मेरो ग्रामयात्रा ।

प्लेन सुविधा थियो तर हामीले पदमार्ग नै रोज्यौँ । दुई दिन हिँडेर पाइने मजा २०/२५ मिनेटको हवाईयात्रामा कहाँ पाइएला ? प्लेनबाट कहाँ स्पर्श गर्न पाइन्छ सुनकोसी, सावाखोलाको निर्मल पानी अनि कहाँ उक्लिन पाइन्छ पौवाको उकालो ? प्लेनबाट छुइलाको उकालो चढ्दा कहाँ कति पसिना आउँछ ? प्लेन चढ्नेलाई के थाहा, राती ब्वाँखोलाको किनारमा बास बस्दा सुसाएको खोलाको आवाज कस्तो सुनिन्छ ? प्लेन चढ्नेलाई के थाहा होस् खनियाबासको स्यानो दोकानमा खाएको कोदोको जाँड र चटपटेको स्वाद ? कहाँ अनुभव गर्न पाइन्छ कोसीकिनारको बालुवामाथि हिँड्दा पैताला धसिएको ? कहाँ अनुभव गर्न पाइन्छ प्लेनमा, ब्वाँ खोलाको तीरमा घन्टौँ हिँड्दा ढुंगाले बिझाएको अनुभव ? प्लेनले केवल एकैछिनमा कैयौँ डाँडाकाँडा, खोला, नदीहरू मात्र फड्काउँदैन, फड्काउँछ मीठा, स्मृति अनि चिरकालसम्म सम्झना भई बसिरहने अनुभूतिहरू पनि ।

करिब १५ वर्षअगाडि बा–आमालाई पछ्याउँदै गएको अनुभव थियो । बाटोघाटो त्यही स्मृतिको भरमा पहिल्याउनुपर्ने । भाइका अगाडि फूर्ति गरेँ, ‘सप्पै बाटो मेरो दिमागमा छापिया छ, सुर्ता नगर् !’

न ऊ सुर्ता गरिरहेको थियो, न मेरो दिमागमा सबै बाटो छापिया थियो । मलाई यस्सै जान्ने भइपल्टिनुपर्‍या ।

वीरेन्द्र बजारमा टन्न खाना खाएर हामी बडो अल्छे पारामा सुगाचरीतिर चढ्यौँ । यात्रा दिनैभरि चलिरह्यो । छुइला हुँदै कुलाबाँधमा पुगेर त्यस दिनको यात्राको बिट मार्‍यौँ । खोलाको किनारमा छाप्रोहरूको एउटा धर्सोमा आठ–दसवटा दोकान थिए । जसमध्ये पुछारको छाप्रोमा बास माग्यौँ ।

रातभरि खोला सुसाएको मीठो आवाज आइरहे पनि दिनभरि हिँडेकाले शान्तसँग निदायौँ ।

अर्को दिन बिहान झिसमिसेमै हिँड्यौँ । बगरैबगर । दुई घन्टाजति हिँडिसकेपछि फेदी भन्ने ठाउँ पुगेर चिया/नास्ता गर्‍यौँ । त्यहाँ जम्मा चार–पाँच छाप्रा थिए । राई/लिम्बूहरूले चलाएको होटल । सुँगुरका बच्चाहरू खुर्ररखुर्रर ओहोरदोहोर गरिरहेथे । छेउबाट ब्वाँ खोला बगी नै रहेको थियो । सुँगुरको मासु मीठो लागे तापनि जिउँदो सुँगुरले गरेको फोहोर र चुल्होसम्मैको हस्तक्षेपले दिगमिग लागिरह्यो । त्यसैले हामीले चिया र बिस्कुटभन्दा बढ्ता अरू केही खाने हिम्मत गर्न सकेनौँ । हो, यहीँनेर हाम्रो भूल भयो ।

पेटमा केही त पक्कै पुगेको थियो । अब हामीलाई चढ्नु थियो पौवाको उकालो । उहिले महेन्द्रमालामा तारानाथ शर्माको घनघस्याको टोपी खस्ने उकालो भनेर पढिया थियो, त्यसलाई बिर्साउने उकालो हुँदो हो पौवाको । त्यो उकालो सप्पै छिचोल्नलाई ६ घन्टा लाग्यो । एक ठाउँमा चटपटे र अर्को ठाउँमा चाउचाउ उमाल्न लगाएर खाइयो, नभए अर्थोक केही खाइया होइन ।

चिसापानी भन्ने ठाउँ पुग्दा बेलुकाको ४, साढे ४ यस्तै भाथ्यो । चिसापानीबाट पारिको डाँडामा हाम्रो घर थियो । तर, ठ्याक्कै कति समय लाग्छ, मसँग कुनै आइडिया भएन । दिमागले आइडिया टिप्न नसके पनि फोनले नेटवर्क भने मज्जाले टिपेको थियो । घरमा फोन लगाएँ, उठिहाल्यो ।

“कहाँ आइपुगिस् ?” फोन उठ्नासाथ काकाको प्रश्न ।

“चिसापानी,” प्रश्न आउनासाथ मेरो उत्तर अनि फेरि प्रश्न, “के गरौँ ? यहीँ बसौँ कि हिँडौँ ? कति समय लाग्छ ?”

“दुई–अढाइ घन्टामा आइहालिन्छ नि !” काकाले भने ।

हामीले केही नसोची, कतै नबसी कस्सिएर हिँड्ने प्लान गर्‍यौँ ।

दिनभरिको हिँडाइले शरीर ऊर्जानिवृत्त भइसकेको भए तापनि चिसापानीबाट पारि देखिएको खोटाङ बजारको डाँडो देखेर निवृत्त ऊर्जा शरीरमा फिर्ता आएर प्रवेश गरेझैँ लाग्यो ।

चिसापानीबाट ओह्रालो झर्दै गर्दा एउटा अग्लो केटो भेटियो । मुसाबारी भन्ने ठाउँको न्यौपाने रै’छ ।

“कतासम्म हो ?” गाउँघरतिर यस्तै हो, हामीले बुझिसकेका थियौँ । नचिने पनि कोही अपरिचित कतै आफ्नो हो कि झैँ लाग्छ र बोल्न मन लाग्छ । धेरै बेर निर्जन ठाउँ हिँडिसकेपछि केही बस्ती या घर आउँथ्यो, घरघरबाट ‘गाउँमा को आएछन्’ भनेर हामीलाई चिहाइचिहाइ हेर्थे । हामी असहज मानेर नदेखेझैँ गरेर आफ्नो बाटो लाग्थ्यौँ । कसैकसैले त सोध्थे पनि, “कहाँसम्म ?” “को हौ ?” “कसका छोरा ?” “कसका नाति ?” तीनपुस्ते विवरण, लोकसेवाको फारम भर्‍याजत्तिकै हुन्थ्यो ।

अत: चिसापानीमा भेटिएको त्यो अग्लो केटोलाई जवाफ फर्काउँदा यो कुरा पत्तो लाग्यो, त्यो केटोले मेरो तीन पुस्तै चिन्दोरहेछ ।

अग्लो केटो हामीसँग गफ गर्दै लमक–लमक हिँड्दैथ्यो ।

“म छँदैछु नि,” उसले एकदमै साख्य व्यवहार देखायो,
“घरैसम्म छाडिदिन्छु ।”

यहाँ पनि न हामीले उसलाई घर छाड्दिन आग्रह गरेका थियौँ, न उसले छाडिदेलाजस्तो लाग्यो । यो यसकारणले कि ऊ तीन पाइला हिँड्दा हामी जम्मा एक पाइला मात्र हिँड्ने सामर्थ्य राख्थ्यौँ ।

करिब २० मिनेट नहिँड्दै ‘खुटा’ भन्ने ठाउँ आयो । ओह्रालो झर्दाझर्दा हाम्रो खुट्टा र त्यो केटोको प्रतिबद्धता दुवै धरमराउन थाले ।

केटोले ‘तपाईंहरू यतै बस्नूस्, म भन्दिउँला कतै, मलाई ढिलो हुन्छ, तपाईंहरू आउँदै गर्नूस्’को साटोमा भन्यो ।

“होइन, तपाईंलाई हतार भए जानूस्,” मैले भनेँ, “हामी बिस्तारै आउँला ।”

केटो बिदा मागेर लम्कियो । हाम्रो आफ्नै किसिमको रफ्तार थियो । हेर्दाहेर्दै एकैछिनमा केटो त पल्सरलाई बिर्साउने रफ्तारमा हुइँकियो ।

सावाखोला पुग्दा झमक्कै रात पर्‍यो । जति ओह्रालो झरियो, त्यति नै उकालो चढ्नु थियो । भोकले भुँडी बटारिन थालिसकेको थियो । न झोलातिर केही छ, न कतै दोकान नै छ । फेरि त्यहाँ कतै एउटा पुल हुनुपर्नेजस्तो लागेको थियो, त्यो पुल मरिगए भेटिएन । जुत्तामोजा खोलेर खोलै तर्‍यौँ ।

उकालो चढ्न थाल्यौँ । एक ठाउँमा गएपछि हामीलेबाटै थाहा पाउन सकेनौँ । कहाँ घना जंगलभित्र छिरेपछि पत्तो लाग्यो, त्यहाँबाट कतै जाने बाटो थिएन । उसै पनि रात परेको, झन् जंगलभित्र । अँध्यारोको मात्रा दोब्बर भयो । केटाकेटी बेलामा धृतराष्ट्रको नक्कल गरिन्थ्यो, अहिले सक्कलै स्थिति भयो ।

जंगलभित्र घरीघरी खस्य्राकखुस्रुक गर्थ्यो । भोक आफ्नो ठाउँमा थियो, प्यास आफ्नो ठाउँमा । डरभन्दा अगाडि जित हुन्छ भन्थे, भोक र प्यासचाहिँ डरभन्दा पछाडि हुँदोरहेछ । लागे पनि चुप गरायो ।

करिब एक घन्टाको खोजतलासपछि जंगलबाट निकास पायौँ । केहीबेर उक्लिएपछि एउटा गोठ फेला पार्‍यौँ । गोठमा एउटा मात्र गाई थियो । घर भने कता हो कता ? हाम्रो आँखाले भ्याउने ठाउँसम्म थिएन । भोकले रन्थनिने अवस्था भइसकेको थियो ।

“म गाई दुहुन्छु,” भाइ राँक्कियो, “पेट भरिएपछि आनन्द हुन्छ, कम्तीमा आजलाई बाँचिन्छ । ” पेटमा आगो लागेपछि मान्छेले गाईको थुन पनि नछाड्ने रै’छ ।

गयो केटो त गाईका थुन समाउन । तर, मज्जाले एक लात्ता खायो र रन्थनिँदै फर्किहाल्यो ।

कहाँ आइयो, कुन ठाउँ हो, जानुपर्ने कता हो, सब गोलमाल । घरैअगाडि लगिदिए मात्रै हो, नभए मैले घर पत्तो लगाउने कुनै गुन्जायस नै रहेन । आँखा पनि धमिलो देख्न थालिसक्या थिएँ ।

आधा घन्टा हिँडेपछि बल्ल एउटा घर देखियो । आधा रात भइसकेको थियो । सुतिसकेका हुँदा हुन्, हामीले कराइ कराइ ब्यूँझायौँ ।

“खानेकुरा केही छ ?”

“छैन !”

“च्युरा त होला ?”

“छैन !”

“चामल पनि छैन ? अनि मकै ?”

“छैन !”

शंका र डरमिश्रित जवाफ । जनयुद्ध सकिएर राजतन्त्र हटिसकेको भए तापनि मान्छेभित्रको डर हट्न भ्याएको रहेनछ ।

एक ठाउँमा त कुकुरले परैसम्म लखेट्यो । अर्को ठाउँमा पनि दिएनन् । गाउँमा कसैले चिन्ला भन्ने भयले आफू कतै परै लुकेर भाइलाई अघि सारेर सोध्न लगाएँ । ऊ मेरो मावलीतिरको भाइ हुनाले चिन्ने सम्भावना थिएन ।

हामीलाई झोँक चल्यो । त्यसपछि कसैका घरमा केही मागेनौँ ।

बाटोमा निक्कै ध्यान दिएर हिँड्यौँ । सुन्तला वा केराको बोक्रा भेटे पनि नछोड्ने सल्लाह हामीले गरिसकेका थियौँ । ती पनि भेटिएनन् । गोजी छामेर हेरेको, एउटा सुपारीको टुक्रो थियो । त्यसैलाई फोरेर दुई फ्याक्ला पारेर खाइयो । भोकको दस पर्सेन्ट तिर्सना मेटेको अनुभव हामी दुवैलाई भयो ।

निकैबेर हिँडेपछि एउटा घर आयो । यसपालि हामीले सहयोग मागेनौँ । केवल ‘फलानाको घर कता हो ?’ भनी आफ्नै काकाको नाउँ लिएर सोध्यौँ ।

उँभो काँ हो त ? उँधो जानूस् ! ऊ त्यो पछाडिको मूलबाटो नछोडी जानूस् आधा घन्टामा आउँछ ।”

हामी उसले भनेबमोजिम उँधो हिँड्यौँ । आधा के ? ४० मिनेट बित्यो । बाटो फेरि बिर्सिएर खेतका आलीआली हिँड्यौँ ।

फेरि अर्को घरमा सोध्यौँ । अनुहार नदेखाई घरभित्रैबाट ‘उँधो जानूस्’ भन्ने जवाफ दिन्थे ।

फेरि त्यही गर्‍यौँ । अर्को घर आयो । जवाफ फेरि अर्को आधा घन्टा हिँड्नुपर्ने । त्यस्ता आधा घन्टा त कति हिँडियो कति ! कसो रिँगटा छुटेन ! उत्तर, दक्षिण, पूर्व, पश्चिम केही मेसो पाउन छाडियो । घरिघरि काकाको ‘दुई–अढाइ घन्टा लाग्छ’ भन्ने वाक्य दिमागमा झिँगा भन्किएसरि भुनभुनाइरहेको थियो । त्यसबेला बूढालाई भकुर्नुजस्तो हुन्थ्यो ।

एउटा खेतमा गएर भाइ डङ्रंग पछारियो । पछारिन त मलाई पनि मन थियो तर केही परबाट एउटा मान्छे आउँदै गरेको देखेँ ।

हतपत उसैलाई गएर सोधेँ, “फलानाको घर कुन हो ?”

“ऊ त्यही घर त हो,” चोरी औँलाले चार–पाँच घर पर देखाउँदै उसले भन्यो ।

परपरसम्म कुकुर भुकेकोबाहेक अरू केही आवाज थिएन ।

भाइलाई उठाएँ ।

घर देखेर भाइ झस्कियो । किनभने, यो त्यही सुरुको घरहरूमध्येको घर थियो, जहाँ केवल बेच्ने केही कुरा छ भनी सोध्दा भित्रबाट एउटा पुरुष स्वर आएको थियो, “छैन !”

प्रकाशित: फाल्गुन ६, २०७२

http://nepal.ekantipur.com/news/2016-02-18/20160218123333.html

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *