Skip to content


राजधानीको पुरातात्विक हनुमाढोका दरवार क्षेत्र लगायत संम्पदा क्षेत्रमा वर्षौदेखि आफूभन्दा निकै ठूलो चन्द्रसूर्य अंकित नेपालको राष्ट्रिय झन्डा फहराउँदै बस्ने व्यक्ति को हो ? भन्ने धेरैलाई खुल्दुली लागेको हुन सक्छ ।

०१३ सालमा भक्तपुर १३ लाछी टोलमा जन्मनु भएका निज लक्ष्मीनारायण शिल्पकार पिता लक्ष्मीभक्त र माता रत्नमाया शिल्पकारका माहिला छोरा हुन । निजको पुर्खौली पेशा काष्ठ शिल्पिकला हुन । भक्तपुरबाट बसाइँ सरी काठ्माण्डौ १४ कालिमाटीमा घरवार हुने निजका दुई छोरा र एक छोरी छन । पत्नी मैयाँ शिल्पकारको सात वर्ष अगाडि अल्पायुमा नै निधन भैसकेको छ ।

लक्ष्मीनारायण शिल्पकार भक्तपुर रेडक्रसका उपसभापतिसम्म भै रेडक्रस अंतर्गतकै दैविक प्रकोप उद्वार समिति भक्तपुरका संयोजक समेत भै काम गरिसकेका सच्चा सामाजिक कार्यकर्ता तथा नेकपा एमालेका पूर्वसक्रिय कार्यकर्ता हुन । हाल निज कुनै पार्टीमा लागेको छैन ।

०६२/६३ को राजनीतिक परिवर्तनसँगै नयाँ नेपाल बनाई देशको काँचुली फेर्ने भन्ने तत्कालिन मुद्दामा चन्द्रसूर्य अंकित झन्डा नै फेरिनु पर्छ भन्ने राजनैतिक पार्टीका केही नेताहरूको भनाइ थियो । यो कुरा चर्चामा आएपछि धेरै स्वाभिमानी नेपालीहरूको चित्त दुखेका थियो । झन्डा फेरिने कुराले अति नै चित्त दुखाउनेमध्येका एक बृद्ध व्यक्ति काठमाण्डौको वसन्तपुर नौतले दरवारको अगाडि दुई सिंहसँगै राखिएका “चन्द फ्लायग हाउस” कासंचालक चन्द्र मिलन शाहीका पिता सूर्य शाही पनि एक थिए ।

चन्द्र मिलन शाहीको झन्डा पसलमा निज लक्ष्मीनारायण शिल्पकार, म पंक्तिकार लगायत अन्य धेरै युवा एवं बृद्धहरूको जमघट भै देशको परिवर्तित राजनीतिक अवस्थाका बरेमा चासोका साथ आ-आफ्नो तर्क वितर्क गरी बिश्लेषणसहित कुराकानी हुने गर्दथियो । त्यस ठाउँमा मानिसहरू भेलाहुनुमा एउटा कारण थियो पत्रपत्रिका पढ्ने हेर्ने । चन्द फ्ल्याग हाउसका संचालक चन्द्र शाहीले आफ्नै नीजि प्रयासमा राष्ट्रिय स्तरका सात आठवटा पत्र पत्रिकाहरू सार्वजनिक रुपमा नै सबैले पढ्न पाउने गरी राखी कुर्सी समेतको व्यवस्था गरेका थिए । हामी दैनिक रुपमा बिहान बेलुका आ-आफ्नो फुर्सदको समयमा त्यस ठाउँमा जमघट हुन्थ्यौ र पत्रपत्रिकाहरू पढेर प्रकाशित समाचार बारे तथा बदलिँदो राजनीतिक अवस्थाको बारेमा निकै चर्चा परिचर्चा गर्थ्यौँ ।

७० वर्ष नाघेका सूर्य शाही झन्डा किन्न आउने आफ्नो ग्राहक लगायतलाई त्यहाँ पत्रिका हेर्न जमघट भएका सबैलाई राष्ट्रिय झन्डा फेर्ने भन्ने विषयमा आफूलाई अति नै चित्त दु:खेको र त्यस्को गुनासो पोख्थे । साथै युवाहरूलाई चन्द्रसूर्य अंकित झन्डाको वकालत गरी झन्डा फेर्ने विषयमा बिरोधको आवाज उठाउन उक्साउँदै राष्ट्रिय झन्डाको सानो स्टिकर निशुल्करुपमा सबैको छाती छातीमा टाँसिदिन्थे ।

लक्ष्मीनारायण शिल्पकार एक चेतनशिल राजनीतिक कर्ताका साथै एक सामाजिक कार्यकर्ता समेत थिए । स्वभावत: उनको पनि चन्द्रसूर्य अंकित राष्ट्रिय झन्डा प्रति ठूलो आस्था,विश्वास र सम्नान थियो नै । भरखरै मात्र आफ्नो जीवन संगिनी गुमाएर बिरक्तिरहेका लक्ष्मीनारायण शिल्पकारजीलाई बृद्ध सूर्य शाहीको चित्त दु:खाई र गुनासोले पनि मनमा घच घचाइरहेको थियो । त्यसैले पनि उनले झन्डा पसलमा रहेको आफूभन्दा ठूलो चन्द्रसूर्य अंकित झन्डा लिएर फहराउँदै हनुमानढोका दरवार क्षेत्रमा आएका बिदेशी पर्यटक लगायत नेपालीहरूलाई सो झन्डासहित आफूलाई क्यामरामा कैद गराउन लालायित गराउँछन । पर्यटकलगायत नेपालीहरू पनि झन्डा पहउँदै गरेका लक्ष्मीनारायण शिल्पकारसँगै आफ्नी फोटी खिचाउँन लालायित हुने गर्छ्न ।

मलाई आज पनि संम्झना ताजै छ । त्यो के भने ने.सं. ११३२ को नव वर्षको उपलक्ष्यमा सदा झैं वसन्तपुरबाट सुरु हुने शुभकाना (भिंतुना) । त्यस सांस्कृतिक र्यालिमा म लेखक पनि सहभागी थिएँ । शिल्पकार समाज नेपाल, कष्ठमाण्डौका संम्पूर्ण सदस्यहरू सहित हामी सबै यसै दुई सिंह रहेको स्थानमा भेला भै सांस्कृतिक र्यालीमा सहभागी हुन जाँदा निज लक्ष्मीनारायण शिल्पकार बिहान ७ बजेदेखि नै झन्डा फहराउँदै फोटो खिच्न र खिचाउन व्यस्त देखिन्थे । त्यो दिन वहाँ र्यालीमा समेत सहभागी नभैकन नै साँझसम्म झन्डा फहराउँदै पर्यटक तथा नेपालीहरूका साथ फोटो खिच्न खिचाउन नै ब्यस्त थियो । त्यस दिन मात्रै वहाँले आफ्नो हजारौ हजार फोटो खिचाए होलान ।

जीवनसंगिनी गुमाएर बिरक्तिरहेका लक्ष्मीनारायण शिल्पकारलाई चन्द्रसूर्य अंकित झन्डा फराउँदै पर्यटकहरूसँग बसेर आफ्नो फोटो खिचाउँन रमाउँदा रमाउँदै बिदेशीहरूले त्यसरी फोटो खिचाएर आफूलाई विश्वसामु चिनाउने महत्वकांक्षा जागेको पत्तै भएन । तानमा बुनिएको नेपाली कपडाको दौरा सुरुवाल, इस्तकोट, भादगाउँले टोपीमा सजिएर आफ्नो लुगाको छतीमा चन्द्रसूर्य अंकित सानो झन्डा सबैले देख्न सक्ने गरी सिलाएर आफूभन्दा ठूलो झन्डा फहराउँदै घाम पानी, हावा हूरी केही नभनी दिनहुँ यसरी सम्पदा क्षेत्रमा देखिन्छ्न ।

यसै क्रममा राष्ट्रिय झन्डा नचिन्ने नेपालीहरू पनि फेला पर्दा ज्यादै दु:ख मान्दै उनले एउटा अठोट गरे – “म सबै नेपालीलाई राष्ट्रिय झन्डा चिनाउने काम गर्छु ।”

यसै अठोट र भावनाका साथ दत्तचित भएर लक्ष्मीनारायण शिल्पकार आफ्नो ज्ञान र क्षमताले भ्याएसम्म चन्द्रसूर्य अंकित देशको राष्ट्रिय झन्डा समस्त नेपालीलाई मात्र चिनाउने होइन कि राष्ट्र र नेपालको राष्ट्रिय झन्डालाई विश्वसामु चिनाउने जमर्कोका साथ देशव्यापी दौडाहामा हुनुहुन्छ । यो अठोट र अभियानबाट एक दिन उनको मह्त्वकांक्षा पुराहुने विश्वास गर्न सकिन्छ । नेपाल र नेपालको राष्ट्रिय झन्डालाई विश्वसामु चिनाउन सफल हुने नै छ्न । उनको अभियान सफल होस यही नै हामी नेपालीको कामना छ ।

प्रकशमान शिल्पकार
नेपाल समाचार पत्र १९ चैत २०७२

1 thought on “झन्डा फहराइरहने लक्ष्मीनारायणको अभियान”

  1. राम्रो पाठ्यसामग्री ।
    राम्रो पाठ्यसामग्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *