मेरै छेउ हुँदै जान्छ हिंड्ने बाटो तिम्रो
थाह छ मलाई तर म लक्ष्य होइन तिम्रो
तै पनि मलाई किन छ प्रतिक्षा तिम्रो
न आउँदा तिमी कहिल्यै मन त्यसै अत्तालिन्छ
सन्चो पो भएन कि भनी पिरोलिन्छु साह्रै
यति धेरै मलाई किन छ माया तिम्रो
तिमी कहिल्यै मेरो नजिकै भएर हिंड्दा
आँखा चिम्लेर कल्पन्छु आफू तिमीसँगै हिडिरहेको
यति धेरै मलाई किन छ विश्वास तिम्रो
म मनमनै तिमीलाई नै चाहिरहेकै छु
जब कि आफ्नै आँखाले देखेको छु तिमी पराइ भएको
तै पनि मलाई किन छ आश तिम्रो
सधैं झैं अझै तिमी मेरै छेउ भएर हिंड्दछौ
मेरो कल्पनाले ओगटेको ठाउँमा अरु नै कोही हिंडिरहेको हुन्छ
अँझै पनि मलाई किन छ मोह तिम्रो
-नीहारिका
