सम्झनाको चुहुँदो झरीमा
रुझिरहन्छु
र अलिकति घाम
मै तिर हेरेर
कूट हाँसो हाँसिरहन्छ
मुंगफलीभन्दा सस्तो मेरो शरीर
सधैं झरीले मात्र भिज्छ ,
मायाले भिज्दैन
देउराली चुरुट्को अन्तिम सर्को झैं तिख्खर
उसको सम्झना
तातो बालुवा झैं पोल्ने भएर आउँछ – खाडीबाट
र मेरो छातीमा छुत्ती खेल्दै
भकभकी उम्लन्छ
यो सावगास, थातवास
सुनकेवंराको सुगन्ध
र भरेभोलि भएकी स्वास्नी छाडेर
ऊ गएको वर्षौं वित्यो
दिउँसो –
पालिको छाया डिलमा पुग्छ
र उसको सम्झना मात्र आउँछ /
राति-
यी अनिंदा आँखाहरुबाट तीनतारे अस्ताउँछ
र उसकै सम्झना मात्रै आउँछ
तपेसभरि भोक बसालेर /
यो भर्भराउँदो उमेरको लाज र रडाको धानेर
यो नादान समय पर्खी बस्दा
मीलको धूवाँले डढाएको उसको अनुहार
अब सम्झनाहरूमा मात्र आउँछ
अचेल किन किन
उसकै मृत्युको समाचार लिएर आएको
रुवाको फाहा झैं अनिश्चित
उडिरहन्छ – सम्झना