मान्छे तिमी, मान्छे भई बाँच
छाती तन्काई, स्वाभिमान साँची बाँच
सच्चाइको अखण्ड वत्ती, निरन्तर बाली बाँच
उही स्वर्ग तिमी छुने, दृढ सङ्कल्प लिई बाँच ।
औसीको रातको त्यो, घनघोर बरसातमा
मेघ गर्जनबीच परी, असिनाको मारमा
लतारिँदै पछारिँदै, भयङ्कर आँधी-तूफानमा
विजय छ तिम्रो निश्चय, बढिरहे कर्तव्यपथमा ।
तरबारको धारमा, हिँड्न पर्ला त के भो ?
पैतालमा हजारौँ, काँढा बिझ्लान् त के भो ?
डढेलोको रापले, छालामासु डढे त के भो ?
जीवन बाँच्नु यस्तो, तब पो जीवन भो
कर्कलाको पानीजस्तो, जीवन हो त के भो ?
जोवन त झनै अझ, पलभरको न हो
कछुवाको जस्तो लामो, जीवन किन चाहियो ?
गुलाफझैँ सुवास छरी, अनि मर्नु पो जीवन हो ।
-इस्लामावाद, पाकिस्तान
