सानो हुँदा र पढ्ने रहर जाग्दा हिन्दीमा कतै पढेको थिएँ –बिती हुई कल । मानिसको जीवनमा उसको बितेर गएको समयले निकै माने राख्छ । अहिले सम्झँदा त्यो कुराको वास्तविकता बुझिँदैछ । बाल्यवस्था र वाल्यजीवन बाँकी जीवनका लागि सम्झँदै बाँच्नका लागि पूँजी हुन्छ –हरेक मानिसका लागि । मानिसलाई उसले विगत्मा बिताएका पलको असाध्यै माया र खसखस लाग्छ । समय हो । आफ्नो बुतामा नरहने । समयसँगै हिँउद्वर्षा गरी परिवर्तन हुनै पर्ने । जीवनको सोपानमा चढ्दा उमेर र ऊर्जाका पाइलाहरू बदलिँदै पनि जाने । नदी रहेछ जीवन । कहिलेकाहीँ ती बितेका जीवनका पाइलाहरू सम्झँदा पनि नोष्टाल्जिक हुन पुग्छु ।
—-
यो चाहिँ चालिसको दसकको सामान्य घटना हो । जसका केही साहित्यिक पहेलीहरू रहेकाले यहाँ यी अक्षरहरूमा सम्झँने कोसिस गरेको छु ।
भन्न मन लागेको छ । देख्नु र लेख्नुमा पउल फरक हुँदो रहेछ । देखेर मात्र पनि चित्त बुझाउन सकिन्छ –कतिपय कुराहरूमा । कुनै कुराहरू देखेरै मात्र पनि चित्त नबुझ्ने रैछन् । तिनीहरूलाई आफ्ना अक्षर कलामा लिपिबद्ध गर्नै पर्दो रहेछ ।
मनले नमानेपछि म अहिले सोही कार्य गरिरहेछु । साहित्यकार मदनदेव भट्टराईका बारेमा लेख्नु अहिले मेरा लागि उपरोक्त अवस्थाकै क्षण भएको छ । हल्का नोष्टाल्जिक भएको छु म यतिखेर ।
म वहाँलाई यसअघि साहित्यकारभन्दा पनि नेपालका यिनेगिनेका साहित्यिक पत्रकारका नामले बढी चिन्दथेँ । ‘रत्नश्री’ पत्रिकासँग वहाँको नाम निकै लामो समयदेखि जोडिएर आएको थियो । यद्यपि वहाँका ६ वटा मौलिक कृतिहरू मदनदेव भट्टराईका संस्मरणहरू, फुस्केको इँजार, समयको प्रतिविम्ब, दृश्य र द्रष्टा, जीवन स्मृति (काव्योद्गार) र रत्नपार्क विभिन्न समयमा प्रकाशित भएका थिए । वहाँ नेपाली साहित्यमा ती कृतिहरू माझबाट बाँची सधैं अमर रहिरहनु हुनेछ । त्यसका अलाबा वहाँले आफ्नो जीवन कालमा रत्नश्रीसँग गाँसिएर गरेको निकै लामो पत्रकारिताको इतिहासमा विभिन्न विशेषाङ्कहरूको प्रकाशनले वहाँलाई रत्नश्रीको साथै आफ्नो समेत नाम साहित्यिक पत्रकारिताको इतिहासमा सुरक्षित तवरले राख्न मद्दत गरेको छ । यो नेपाली पत्रकारिताको इतिहासका लागि निकै गौरवको कुरा हो ।
म चाहिँ रत्नश्रीलाई करिब २०४२ सालदेखि सम्झन्छु । करिब तीसवर्ष अघिको झिनो सम्झना मात्र रहेको छ –रत्नश्रीसँग मेरो । सम्झने मलोमेसो यस अघि कहिल्यै आएको पनि थिएन । मैले सो बारेमा उल्लेख गरेर कतै केही लेखेको पनि थिएन । लेख्न पाउँला जस्तो पनि लागेको थिएन । तर समयले अहिले त्यही सानो र खिरिलो सम्झनालाई लेख्नै पर्ने बनाएको छ । हामी लेखकहरूका लागि योभन्दा खुसीको कुरा के हुन सक्ला र ?
बयालीस सालमा म मेरो आइए द्वितीय वर्षको परीक्षा मैजारो गरेपछि राजधानी घुम्न आएको थिएँ । मैले सोभन्दा पहिले एकपटक अढ्तीस सालमा राजधानी मजैले घुम्ने अवसर पाएको थिएँ । सो बेलामा म राजधानी मेरो उपनयन गर्ने शिलशिलामा आएको थिएँ । पिताजीको साथ लागेर कन्काई बसमा बाइरोडको बाटोबाट राजधानी आउनुको मजा नै बेग्लै थियो । जसले मलाई राजधानी प्रतिको जिज्ञासा मेटाइदिने काम गरेको थियो । मेरो उपनयन कार्य पाशुपत क्षेत्रमा रहेको पशुपतिको मन्दिर दक्षिणपट्टि अवस्थित उन्मत्त भैरव मन्दिरमा भएको थियो । सो बेलामा हामीले मेरी आमाले गर्नुभएको भाकलअनुसार लाख बत्ती बाल्ने काम पनि सम्पन्न गरेका थियौँ । सो समयको राजधानीलाई मैले मेरो किशोरवयको आँखाले भलिभाँती हेर्ने मौका पाएँ । जसबेला राजधानीमा लामा साझा बस र ट्रली बस चल्ने गर्दथे । उसबेला मलाई ती दुवै नयाँ सवारी साधन लागेथे ।
करिब दस दिनको भ्रमणमा हामी बाबुछोरा आफ्नो हाके ताकेको काम फत्ते गरेर चार भङ्ज्याङ् खाल्डोबाट त्यसरी नै निस्किएका थियौं जसरी माहुरी मधु संकलनका लागि फूलमा बसेर आफ्नो काम सकेर फुत्त उडेर आफ्नो धारतर्फ जानेगर्छ । राजधानी आउँदा हाम्रो यात्रा कन्काई बसमा भएको थियो भने फर्कंदा राजदूत बसमा भएको थियो । ती दिनमा दिवा बसहरू मात्र संचालन हुन्थे । रात्रीबसको सुरूआत भएजस्तो लागेन । धार्मिक र सांस्कारिक कार्य सुसम्पन्न भएपछि हामी बाबुछोराले निकै दिन आफन्त कहाँ घुम्ने र भेटघाटमा रमाउने काम गरेका थियौँ । तिनताकको राजधानी वातावरणीय हिसाबले यति बिटुलो भइसकेको थिएन । सम्झँदा राजधानी यति सफा थियो कि यहाँको हावामा मजाले सास लिन सकिन्थ्यो । अहिले त्यो लगभग कथाको विषयजस्तो बनेको छ ।
दोस्रापटक बयालीस सालमा राजधानी आएको बेलाचाहिँ मेरो बसाइ लगभग यायावरझैँ भएको थियो । म एक्लै आएको थिएँ जीवन बुझ्न । मलाई जीवन के हो भन्ने कुरा केही थाहा थिएन । म एक ठाउँमा खाने र अर्को ठाउँमा सुत्ने गर्दथेँ । मेरा पिताजीको सानीमाका छोरा विनोदरञ्जन बराल (नाताले पिताका भाइ र मेरा काका) त्यतिखेर राष्ट्रिय वाणिज्य बैँक, केन्द्रीय कार्यालय, नक्सालमा अधिकृत तहमा काम गर्नु हुन्थ्यो । वहाँले आफ्नो किरायाको बासस्थान डिल्लीबजारमा राख्नुभएको थियो । त्यसबेलामा पूर्वेलीहरूको जमघट र भेला हुने ठाउँ कि त मैतीदेवी थियो कि त डिल्लीबजार । काका परिवारसहित डेरामा बस्नु भएकाले त्यहाँ वहाँका दुई छोरा र एक छोरीसहित काकी पनिरहनु भएको थियो । मेरो मेस त्यहाँ थियो भने सो डेरा अलिक साँघुरो भएकाले सुत्नेबस्ने काम चाहिँ म मेरा सुनसरीका बालसखा सुनील पौडेलको डेरामा गर्थेँ । उनी त्यसबेला उनका काका दिलीप पौडेलसँग भर्खरभर्खर लेखापढी व्यवसाय सिकेर काकाकै फर्म डिल्लीबजारमा काम गर्थे ।
दिलिप पौडेलसँग मेरो अर्को नाता पनि थियो । उहाँ मेरो जीवनको अक्षरारम्भका गुरु हुनुहुन्थ्यो । अठ्ठाइस साल श्रीपञ्चमीका दिन वहाँले नै मलाई सुनसरीको मेरो त्यसबेलाको घरमा अक्षर चिनाउनु भएको थियो अरे । सो कारणले पनि म वहाँको चेलो थिएँ र अदबका साथ आदर गर्दथेँ ।
दिनभरि सुनील अफिसमा व्यस्त हुन्थ्यो । कहिलेकाहीँ म पनि उसलाइसकेको मद्दत गर्नेगर्थेँ । हामी चारखाल अड्डामा गएर रजिष्ट्रेसन पास लगायतका अन्य सानातिना काममा व्यस्त हुन्थ्यौं । जसले हामीलाई पकेट मनि जुटाइदिन मद्दत त गर्दथ्यो नै साथै कार्यालयीय कामको समेत जानकारी क्रमशः दिन्थ्यो । मैले त्यसबेलामा करिब दुई महिनाको राजधानी बसाईमा घरबाट लगेको खर्चबाहेक सुनीलसँग सिकेको कामबाट आफ्नो खर्च चलाएको थिएँ । अलिअलि खर्च विनोद काकाले दिनुहुन्थ्यो । वहाँ सारै जाती हुनुहुन्थ्यो । धेरै नबोल्ने अन्तर्मुखी स्वभावको विनोद काकाले मलाई धेरै क्षेत्रमा शिक्षा दिनु भएकोछ । वहाँ गणितमा तेज मानिस भएकाले वहाँको कमाइ पनि निकै थियो । अलिअलि सम्झना छ वहाँ नेपोथीन उद्योगको उद्योगपतिका दुईजना छोरालाई घरैमा गएर होम ट्युसन पढाउनु हुन्थ्यो । जो उसबेला अमृत साइन्स कलेजमा आइएससीमा अध्ययन गर्दथे । मैले त्यो कुरा थाहा पाएको त्यहीँ रहँदाबस्दा हो । म विनोद काकाकहाँ खाना खान्थे । मैले काकीलाई भान्साको सामान्य काममा मद्दत गरे हुन्थ्यो । जो मेरो ऐच्छिक सेवा थियो । करबल केही थिएन । म आफूलाई व्यस्त राख्न पनि त्यस्ता सहयोगी काममा आफूलाई लगाइरहन्थे ।
हो, त्यसबेलै हो, रत्नश्रीसँग मेरो अलिअलि सम्झना गाँसिएको । डिल्लीबजारदेखि दक्षिणपट्टि बाँयातिर मैतीदेवी नपुग्दै मोडिने गल्लीमा रत्नश्रीको अफिस थियो । त्यो साहित्यकार तथा साहित्यिक पत्रकार मदनदेव भट्टराईको निवास स्थान समेत रहेको थियो । जहाँ रत्नश्रीको बोर्ड झुन्डिएको हुन्थ्यो । हामी कम्पाउन्ड बाहिरबाटै हेर्दथ्यौं सो बोर्डलाई अनि बजारमा आएका पत्रिकाका अंकलाई पढ्ने गर्दथ्यौं । एक प्रकारको आनन्द मिल्थ्यो । सम्पादक प्रकाशकमा रहेका मदनदेव भट्टराईलाई न हामीले अनुहारले चिनेका थियौं । न त देखेका नै थियौं । तैपनि मैलो वहाँको एक प्रकारको मनोछवि मेरा आफ्ना मनमा बनाएको थिएँ ।
खास गरेर भाषा र साहित्य पठनको सन्तुष्टि लिनका लागि हामी रत्नश्री पढ्ने गर्थ्यौं । त्यसबेलामा मधुपर्क, गरिमा, अभिव्यक्ति र रचनाले पनि साहित्यको राम्रो सेवा गरेकाथिए । रत्नश्रीका केही अंक मैले खरिद गरेर मनोयोगपूर्वक अध्ययन गरेको थिएँ –त्यसबेलाको राजधानी बसाइका क्रममा ।
सुनीलको डेरामा बसाइ र काकाको डेरामा भएको खुवाइले मलाई करिब दुई महिनाको समय बितेको पत्तै भएन । पछि पेटको केही रोगी भएर अनि म बयालीस सालको जेठ अन्तिमतिर सुनसरी इनरुवाको घर फर्किएँ । राजधानीको बसाइले मलाई केही दिव्यज्ञान पनि दिएको थियो । मैले सो बेलामा एकजना इनरुवा सुनसरीकै लिम्बू थरका दाजुसँग राम्रो सम्बन्ध गाँसेको थिएँ । वहाँहरूको डेरा घट्टेकुलोमा थियो । दुईतीनजना सँगसँगै बस्नुहुन्थ्यो । कहिलेकाहीँ म वहाँहरूको डेरामा पनि बस्ने गर्थें । जो त्यसबेलामा इनरुवाकै र राजधानीमै सामान्य काम गर्ने अर्का दाइ स्वर्गबहादुर विष्ट नाम गरेका दाइसँग बस्नुभएको थियो ।
मैले सो बेलाको राजधानी घुमाइका क्रममा जीवनका बारेमा, लेखनका बारेमा, रत्नश्री पत्रिकाका बारेमा, नेपाली साहित्यकारका बारेमा निकै गतिलोसँग अध्ययन गर्न नसेके पनि यसो सानोतिनो अध्ययन गर्ने मेलोमेसो पाएको थिएँ । जसको कारण मेरा तिनै काकाश्री हुनुहुन्थ्यो । वहाँ अध्ययन र चिन्तनमा लीन हुने स्वभावको हुनुहुने भएकाले मैले पत्रपत्रिकामा त्यति धेरै खजाना खर्चिनु पनि परेन । त्यसैबेलमा थाहा भएको एउटा कुरा मलाई अहिले पनि घत परिरहेछ । एउटा घरमा एकजना मात्र पढ्नेलेख्ने मानिस हुने हो भने त्यस घरपरिवारका मानिसहरूले सजिलै पढ्नलेख्न सक्ने रहेछन् । एउटाको बल मद्दतले आफ्नो घर परिवारका सदस्यहरूलाई राम्रा कुराहरू सिक्न मद्दत पुग्दो रहेछ ।
अहिलेको मेरो घरको पठन संस्कृतिको विकास हुनुमा मैले साहित्य पठनलाई नै जश दिएको छु । यो क्रममा मलाई रत्नश्रीको स्मरण जहिलै पनिरहिरहनेछ ।
धन्यवाद ! पत्रिकाका सम्पादक÷प्रकाशक मदनदेव भट्टराईका नामका स्थापित मदनशीला प्रतिष्ठानलाई अनि यो संस्मरणात्मक लेख लेख्न घच्घच्याउने सोही प्रतिष्ठानका उपाध्यक्ष तथा कवि महेश प्रसाईंलाई जसका उत्प्ररणाले मैले यतिको सम्झनाका गुत्थीहरूलाइरहरका सुपर ग्लुले जोडेर लेखेँ ।
झिनो सम्झना भए पनि पोख्न पाएकामा मन हलौं भएको छ ।
पेशल आचार्य
सहायक प्राचार्य, मन्थली उमावि, मन्थली ।
