(लामो सास फेर्दै)
उफ् सोच्दा पनि कहाली लागेर आउँछ
कतै तिमी टाढा हुन्छौ कि भनेर
छाँगाबाट खङ्ग्रयाङ्ग खसे जस्तै हुन्छ मुटु
कतै तिम्रो आँखा रसाउँछ कि भनेर ।
खै तर आज आफै विवश छु,
जानाजान तिम्रो आँखाको कसिङ्गर बनेँ म
जानाजान तिम्रो मुटुमा पत्थर बनेर बसेँ म
जानाजान आफ्नै मुटुलाई चिरा पारेँ मैले
अफ्सोस लाग्छ आफैँसँग,
थक्क थक्क हुन्छ मन,
आफैँलाई धिक्कार्छु म,
कति ठूलो गल्ती गरेँ भनेर ।
अनायासै आँशु खस्छन् यी आँखाबाट
चाहेर पनि रोक्न सक्दिन अनि,
अनि चाहेर पनि भूल्न सक्दिनँ म,
कति ठूलो चोट दिएँ भनेर ।
भन्छन् नि गल्ती मान्छेबाटै हुन्छ
चाहे सानो या ठूलो,
हो मैले पनि गरेँ,
तर अब हृदयदेखि प्रण गर्छु
सत्य तिम्रो मुटु दुखाउँदिन म,
हो तिम्रो आँखाको फूल त बन्न सक्दिन,
तर तिम्रो मुटुमा बिझेको काँडा झिक्ने प्रयास गर्नेछु,
तिमीलाई खुसी हेर्ने आशमा बाँच्नेछु,
भगवानसँग तिम्रै खुसी माग्नेछु र
प्रण गर्छु एक असल व्यक्तित्व बन्नेछु ।
(समाजमा घट्ने सामाजिक “कु”मा संलग्न भई अन्तयमा पश्चाताप गर्ने अमुक “म” पात्रको नाउँमा लिखित)
