Skip to content

कीर्तिपुर, पानी र लाजहरू


डेरामा बसेर पढ्दा पढ्दै
घर सम्झेर
पानी पानी लाजमा डुब्छे :ऊ

टीकासीका लगाएर
घुम्न निस्कन्छे – पाँगा दोबाटो
जहाँ जीवनका अनगिन्ती लाजहरू भेटिन्छन्
पानी नपाएर काकाकूल मुद्राहरूमा

नागराजाको सहरमा
पानी छैन
लज्जित भएर सोच्छे -मिना

गहिरो अनि सुश्क प्राय:
अन्तरहृदयको इनारबाट
पानी जस्तै
संवेदनाको तीर्खा तान्छे -ऊ

अभावको पानीले धोएर

आँखाहरूबाट अनिद्रा र
ओठहरूबाट अतृप्ती
पखाल्न सक्तीन

र आफ्नो अनुहारबाट ऊ
लाज पखाल्न सक्तीन
(जसरी ऊ आफ्ना किताबका पानाहरूबाट
जीवन निरपेक्ष काला अक्षर
मेट्न सक्तीन )

अनि लाजै लाजले पानी भएर
बग्न थाल्छे ऊ
जीवन पद्धतीका लिखित अलिखित
क्यानभासहरूमा

ऊ बग्छे –
विश्वविद्यालयका कक्षाहरूमा,
क्यान्टिनहरूमा, अफिसहरूमा र आयोगहरूमा

मिना
मात्र लाज पस्कन्छे सबैतिर

महासामन्त शैलीमा कीर्तिपुर
त्यही लाज पिएर लट्ठिन्छ
(जसरी यो देशका शासकहरू
नौजवानहरूको सलामी ‘विटिंग द रिट्रिट ‘
पिएर लट्ठिन्छन् )

लाग्छ-
मात्र लाजहरूको कोलाज कीर्तिपुर
लाजै मात्र सिकाउँछ

हरेक साल यी मिनाहरूलाई
बिना पानीको माछा झैं
एउटा लामो बेठबेगारीको
जीवन यात्रामा पठाउँछ

अनि बेसोमत पार्टीका
तुलहरूमा टाँगिन्छ –
यो लाजहरूको विश्वविद्यालय
या
लाजालयमा पदार्पण गर्नु भएका
सबै साथीहरूलाई स्वागत छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *