Skip to content


पर्ख… । एकैछिन
हातको सयपत्री कतै नचढाउ
विद्रोहको आगो निभाइ नहाल
समयको सङ्घर्ष विसाइ नहाल
अब यात्राको गन्तव्य हाम्रै हो भनेर
विश्वासको दियालो सल्काउँदै
खुसीको सपना देख्न निदाइ नहाल
धेरै सपनाहरू सपनै हुन्छन्
हाम्रो विश्वास भ्रम हुन के बेर
प्रत्येक भविष्य अनिश्चित छ
बिहानी प्रभातमा ग्रहण लाग्न के बेर
त्यसैले .. पर्ख… एकैछिन
अब पीडाको नदी हाम्रो पैतलामुनि
बग्छ कि बग्दैन ?
समय साँधु भएर यो भवसागर
उठ्छ कि उठ्दैन ?
पखालिएका सिउँदोहरूमा
लालीगुराँसले रङ्ग भर्छ कि भर्दैन ?
घाइते वर्तमानले मलम पाउँछ कि पाउँदैन ?
छोराको भोको पेटभित्र
सुन्तलीको चुल्हो बल्छ कि बल्दैन ?
त्यो बिहान हेर्नै बाँकी छ
भिजेका चोलीहरू फेर्नै बाँकी छ
त्यसैले अलिकति घामले क्षितिज रङ्ग्याउँदा
साहसको सगरमाथा नदी नबनाउ
चेतनाको बस्तीलाई सुत्न नदेऊ
विश्वासको धरोहरमा
धमिरा लाग्न सक्छ
आस्थाका पुजारीले लगौँटी फुकाल्न सक्छन्
नाङ्गो नाच फेरि नाचिन के बेर
हाम्रो विजयले पराजय भोग्न सक्छ
खबरदारी त हामीले गर्नैपर्छ
पर्ख एकैछिन् ।

-वुटवल

Leave a Reply

Your email address will not be published. Required fields are marked *