‘जगत्की अपार अभियन्ता आमा ।
संसारकी सौष्ठव सार आमा ।
सृष्टिकी शश्यशालिनी व्योम आमा ।
वात्सल्यकी प्रशान्त गहिराइ आमा ।
चेतन अजेय परा र अपरा विद्यामा आमा ।
आदि र अनादि इतिहासकी ऊर्जामय धरा आमा ।
अशेष युग्म प्रतीकहरूमा आमा । समष्टि विम्बाकृतिमा आमा ।
एकअनेक पाश्र्वमा आमा ।
आमा । आमा । आमा ।’
आमाको वर्णनातिरेक शब्दहरू यो धरा र सम्पूर्ण कसमसमा पनि सम्भव छैनन् । आमाले नगरेका र नभोगेका अहर्निष स्वप्निल दुःखहरू संसारमा हुँदैनन् । आमाले आफू मिटाएर आफूलाई नभनी, नराखी हामीलाई जेजति दिन्छिन् । त्यसैका राप र तापले हामी आज हामी भएका छौं ।
कोखबाट उत्सर्जित भएका सर्वनामरुपि हामीलाई हर्षाश्रुमय नयनले हेर्दै नाम दिएकी उनै आमालाई पुष्पगुच्छामय केही शब्दका पहेलीहरू सम्झनास्वरूप नमन गरिँदै छ ।
आमाले नभोगेका र नकहेका दुःखका कहिरनहरू यो भवमा सायद् छैनन् । यो लोक र परलोकमा पनि छैनन् । उनी तृप्त नभए पनि परितृप्तताको सुस्तसुस्त स्वाश फेर्छिन् तर कसैलाई फिराद गर्दिनन् । उनी रित्तो भए पनि आफ्नो मायावी आँचलबाट सधैंसधैं पसर र अँजुली झिकेर दिन्छिन् । छैन र पुगेन कहिल्यै भनिनन् । आफू मिटाएर पर हितार्थ हुने आमाले नै इहलोकमा सधैं दान र क्षमादान सिकाएकी हुन् ।
गुरु हुन् –आमा । व्यास हुन् –आमा ।
नाखुसमा पनि खुसी । अभावमा पनि भाव । दिल र दिमाग दिएर आमाले परितोषिक नगरेको भए आज अनुजहरू यति माथि यति प्राञ्जलमय चम्किला हुने थिएनन् । जोकोहीले पनि आमाका बन्दनीय ऋचाहरू अभिषेक गर्न सक्छन् । आमाको भक्ति जहाँ पनि गाउँदा हुन्छ । जसरी गाउँदा पनि हुन्छ । जहिले गाउँदा पनि हुन्छ । जानी नजानी गाएको गाथा र गानमा अँझ बढी भक्ति छ । शक्ति छ ।
अँझ म त भन्छु –ईश्वरको तस्वीर हटाएर आमाको तस्वीर टाँग्ने हो भने त्यो अत्यन्त सान्दर्भिक हुन्छ ।
अन्त्यहीन अक्षर हवनमा आमाका सवालमा केही धृष्टतासाथ लेखिएका यी अक्षरहरू केवल अकिञ्चन प्रलाप मात्रै हुन सक्छन् –यतिखेर ।
अनजान र अज्ञानी सन्ततिका कलेवरमा उभिएर ।
आमालाई नित्य नवीन शैलीमा हामीले श्रद्धासम्मिलन गर्नु अत्यावश्यक छ । न्योछावर गरेर हाम्रा दृगबाट उनलाई सदा शुभ्र, शान्त र स्निग्ध राख्नु वाञ्छनीय पनि छ ।
आमाका बारेमा बोल्न, लेख्न र कथ्न सन्दर्भ र जन्मोत्सव नै आउनु पर्छ भन्ने छैन । उभिएर सम्झेदिए पुग्छ । बसेर कल्पिदिए पनि पुग्छ । जसलाई जसरी अनुकूल त्यो त्यसरी नै गरिदिए पनि हुन्छ ।
यतिखेर म सूत्रधार अभिनयमा जानीनजानी आमालाई सम्झने कोसिस गरिरहेको छु ।
अँझ आमा भूमिकाका गर्तमा आफूलाई आहालआहाल डुबाएर पनि उनका बारेमा न कुनै भूमिका चाहिन्छ । भूमिकामा बाँध्नु मूर्खताका सिकन्जा हुन् –सन्ततिका । सन्तान जहिल्यै आयात चाहने अनि आमा नित्यअनित्य निर्यात गर्ने/गरिरहने यो कलेवर संसारका सबै जीवजीवात्मामा सन्निहित छन् ।
खोज र आविष्कारले सत्य बोल्न सक्छन् । सबैभन्दा मौलिक सत्य कल्पनामा छ ।
अन्यहरू विषय र वासनाहरू भएर दिन्छन् । तोला र मासामा अड्कलेर मापन मूल्याङ्कन गर्छन् । आमा नभएरै दिने सामर्थ्य राख्छिन् । उनमा भाका र बन्धन हुँदैन । केवल दिइरहन्छिन् । कतै भाषामा, कतै भावमा र कतै मूक शैलीमा ।
मूकाभिमुक शैलीमा आमाका मुहार हेर्न लायक हुन्छन् ।
आमाले आँखाले सुन्छिन् । नाकले हेर्छिन् । कानले बास्ना लिन्छिन् । क्लिष्टमय शैली र जटिल सोपान आमामा आएर सरल बनेका छन् । बन्ने कोसिसमा छन् ।
यो अक्षर कर्म पनि आमालाई नित्यनवीन तबरले पुकार्ने र सम्बोधन गर्ने शैली हो । जसको आरम्भ भयो । त्यो स्तुत्य छ । अवर्णनीय छ । अचिन्त्य छ । चिन्मय र प्राची शैलीमा विमोचित छ । उद्भाषित छ । संकथित छ ।
आमाले संसारलाई हराभरा गर्दै हँसाएकी छन् । आमाले संसारलाई त्यस्तो प्रकाशवान् ऊर्जा दिएकी छन् जसको मेदिनीका कुनै संतत्वसँग पनि तुलनीय तुलना हुनै सक्दैन । भएको पनि छैन । हुनु पनि हुँदैन ।
अपार । असार । निराकार ।
भाषामा आमालाई नमन गर्नु । भावमा आमालाई अभिषेक गर्नु । कला र गलामा आमालाई प्राञ्जलमय बनाउनु त्यो सुपुत्रहरूको मात्र कर्म हो । त्यो शक्त र शब्दकलाका अतीव पारखीहरूको मात्र पाइन हो । तिजोरीमा रहेका शब्दांशका अश्रुअञ्जलीहरूलाई संकथन र परिच्छेदहरूमा आमाका हितमा जति मिहीन र व्यतिरेकी पाराले मीमांशा गरे पनि त्यो लघु हुन जान्छ । परमाणु र अणुका रौंचारा दर्शनले आमाका वात्सत्य पर्गेल्न सक्दैनन् ।
पारितोषिक वृत्तिमा आमालाई भँजाउने कर्म वृथा सावित हुन सक्छ । अनर्गल र असहिष्णु हुन जान्छ । जो अहिलेको विश्वका कुनै छेउ कुनामा भएको होला । नहुनु पर्ने त्यस्ता कार्यान्वितिका परिच्छेदहरूले स्मरण गराएका हुन सक्छन् । ती नादान सन्तानका कर्म हुन् । तर ती सबै कर्मलाई आमा हाँसीहाँसी माफी मिनाहा दिन पनि उत्कट रहन्छिन् ।
न क्षुधा छ । न हर्षातिरेक समासका विग्रहहरू नै छन् –आमा अघिल्तिर । जे छ त्यो उनको सशरीर आगे छ । नहुँदाको पीडाका पिरामिडहरूले पनि आमाका सम्झनामा उकुच पल्टाउन सक्दैनन् । हुँदाको खुसहाल स्थितिमा पनि आमाको कम उपस्थिति कवै हुन सक्दैन । यो आमाको वर्तमानको आभा र इतिहासको सार हो ।
स्त्री कलेवरमा सौम्य उपस्थिति जनाइन् आमाले । यो मेदिनीमा । यो भृत्यलोकमा । आदिअनादि वैखरी र वाणिहरूमा । हामी परा र पश्यन्ति भावोद्गारमा उनको सम्मानपूर्वक उत्सव मनाउन चुकिरहेका छौं । अल्प सोच र विद्याका सरहद्ले हामीलाई गजबार हालेर रोकिरहेछ ।
भाइ भाइमा आज क्लेष छ । बन्धु बन्धुमा द्वन्द्व छ । सगोत्री सगोत्रीमा कटुता छ । लौह भीमकाय दुन्दुभि बजेको छ । रोमहर्ष गरिन्छन् –दमडीमा । आमालाई साक्षी राखेर भौतिक सम्पन्नताहरू यहाँ बोलकबोलमा चडाइन्छन् । तर ती फगत नाद र निनाद हुन् । बोगस हुन् –ती वयेलिएका विचारहरू ।
सरहद र डिमार्केसनले आमालाई बेग्ल्याएको देखिन्छ । कतै ससिम र कतै भौतिक कित्ताकाटहरू गर्दै सुखका लागि आमालाई फकाएर फुस्ल्याएर वृद्धालय लैजाने बौद्धिक पण्डितहरू पनि सन्तानका अभिनयमा हाम्रै समाजमा राजगरिरहेका छन् होलान् । तिनीहरूमा कवै शुभसंसा दिन सकिन्नँ । हुन्नँ ।
आमा बनेकी स्त्री र आमा नबनेकी स्त्रीमा कति ठूलो फासला हुन्छ त्यो आजसम्मको सन्धाताले सन्धान गर्न सकेकै होवैन ।
खोजीका जिज्ञासु कलम र करले अब नयाँ सभ्यता अन्माउनु परेको छ । अब नूतन शैली अख्तियार गर्नु परेको छु ।
सम्मान र सम्झनाका अलगथलग शैलीका पाश्र्वले पनि आमालाई पर्गेल्नु पर्ने हाम्रो दायित्व रहेको छ ।
सकिन्छ –दसधारा दूधको मनितो गरौं । सकिन्नँ आमाका बारेमा मौन नबसौं । केही नयाँ चिन्तन गरौं । वृथाभिमानमा समयको आलोकलाई खेर नफालौं । मौलिक र फरकपनाले आमालाई उद्भाषित गरौं ।
संसारकी सबै आमाहरूलाई एकै लवजमा नमन गर्छु । जय आमा ।
