Skip to content

तीन मानसिक अवस्था र मानसपटल

  • by


(अचेतन मन)

आज म मौन छु
नितान्त शान्त, अनि एक्लो छु
बोलिरहेको छु तर आवाज विहीन छु
सोचिरहेको छु तर भाव विहीन छु
मेरो आवाज कहीं लुटिएको वा खोसिएको होइन
मेरा अनेकन् भाव
कहीं खिचिएका वा चोरिएका होइनन्
कारण छैन तर खै, म विवश छु
यी गला सुकाउन,
यी नयन रुझाउन अनि
यी भावना लुकाउन।।

म सोचको भुमरीमा फसेको छु
भुसको आगो झैँ भित्रभित्रै सल्किरहेछु
झन् ती कैयौँ यादहरूले फूः फूः गरिरहँदा
पिल्सिएको मनमा डढेलो लागिसकेछ
विचरा सोच्दा सोच्दै आफैँलाई बिर्सिसकेछु।

(अर्ध चेतन मन र चेतन मन)

[लामो सास फेर्दै]
के गरुँ! समयको वहावसँगै आफूनि वहन खोज्छु
ती घच्घचाउने यादलाई पर सार्न खोज्छु
आफैलाई भूलाउन आफ्नै मनलाई प्रतिप्रश्न गर्छु
के म साँच्चै एक्लो हुँ?
के म साँच्चै आवाज अनि भाव हिन हुँ?

(त्यही मनको दुरदराजबाट अस्पश्ट जवाफ आउँछ)

हो, तँ एक्लो छस्
तँ साँच्चैँ भाव विहीन छस्।

(फेरि अलि प्रश्ट अनि सानो आवाजमा)

तेरो सोच परिवर्तन गर्,तँ अवश्य परिवर्तन हुनेछस्।
हिजोको *तँ* र आजको *तँ*लाई दाँज्
अनि भोलिको *तँ* को कल्पना गर् तँ फेरिन्छस्।
हिजोका यादलाई एक कुनामा थाति राख् तर नभुल्
अनि जीवनलाई फड्को मारेको समयको आँखाबाट हेर्ने प्रयास गर्,
तँ पक्कै बदलिनेछस्,
तेरो सोचले पक्कै छलाङ् मार्नेछ।

(फेरि पहिलेको मनले शङ्का मान्दै प्रश्न गर्छ)

के यो सही हो ?
के म फेरि बदलिन सक्छु?

(दोस्रो मनले बुलन्द जवाफ दिन्छ)

प्रयास मात्र गरी हेर् यहाँ असम्भव भन्ने केही छैन
र समयानुसार परिवर्तित नहुनुको कुनै तुक छैन।

(यस्तै शिलशिलामा मानसटल सक्रिय हुन्छ अनि चेतन मनको अनुसरण गर्दै)

हो,
म आफ्ना सोचहरू बदल्छु,
म आफैँलाई बदल्छु,
यो दुनियालाई बुझ्ने प्रयास गर्छु,
अनि नयाँ सिराबाट जिउँछु।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *