अँझै केही महिनाहरू
बितिसकेका हुनेछन्
मैले यो कविता लेखी सक्ता
त्यति बेलासम्म
यी धानका गाबाहरू
बढेर
सुन झैं झुल्ने छन्
र
आलीभरि
पहेंलै समय फुलाएर
प्याउली फुल्ने छ
अनि
म यो बिरामी समयलाई
निर्मसी घोटेर खुवाउँदै हुनेछु
टाढाबाट छोराछोरी
तगारैनेर
आइपुगिसकेका हुनेछन्
र
यो घर ब्यूँझेर उठिसकेको हुनेछ –
चिहानबाट
दैलाको सिउरेनीबाट
सेतै अक्षता लाएका फोटाहरू
खड्केलीहरूमा
ओर्लिसकेका हुनेछन्
र
बलेनीभरि आँसु खुसीले
बगिरहेको हुनेछ
आँगनभरि पोखिने छन् –
घलेकभरिको माया
र
गोर्खा राइफलको सलामी
म जहाँ भए पनि
मैले यो कविता लेखी सक्ता
मेरो गाउँमा एक दिन
यस्तै हुनेछ ।
