Skip to content


गाउँमा कक्षा आठ पढ्नको लागि सुबिधा नभएकोले बुबाआमाले मलाई जिल्ला सदरमुकाममा बसेर पढ्ने व्यवस्था मिलाइदिनु भयो । सदरमुकाममा गएर पढ्न पाउँदा म पनि निकै खुशी थिएँ । कोठाबाट करिब पन्ध्र मिनेटको पैदल यात्रापछि विद्यालयमा पुगिन्थ्यो ।

बुबाआमाले छोराको चाहना राख्दा राख्दै हामी दिदीबहिनी अलि धेरै नै हुन पुगेछौँ । वास्तवमा मलाई पनि दाजुभाइको चाह नभएको होइन । अरुका दाजुबहिनी र दिदीभाइ देख्दा मनै नरमाइलो लाग्थ्यो ।

मेरो बस्ने कोठामाथिको तलामा छ र सातमा पढ्दै गरेका दुई भाइहरू थिए । उनीहरू र म पढ्ने ठाउँ एउटै हुनाले प्रायः सँगसँगै जान्थ्यौँ । क्रमिक रुपमा तिनीहरूको र मेरोबीचमा दिदीभाइको सम्बन्ध झाँङ्गिदै गयो । उनीहरू मेरो कोठामा दिदी भन्दै आउँदा झन् बढी माया लागेर आउँथ्यो ।

जब उनीहरूले आफ्नो वास्तविकता भने अनि थाहा पाएँ कि उनीहरूकी आमाले यस धर्तीबाट बिदा लिइसक्नुभएको रहेछ । कहिलेकाहीँ अंकललाई मात्र देख्दा आन्टी माइती जानुभएको रहेछ कि भन्ठान्थेँ । हामी एक अर्काका कोठामा विना हिच्किच्याहट आउन जान थाल्यौँ । मलाई प्रायः अंकल भएको बेलामा जान मन लाग्दैन्थ्यो । क्रमिक रुपमा अंकलसँग घुलमिल हुँदै गयो मैले उहाँलाई अंकल भनेर सम्बोधन गर्थें भने उहाँले अंकल नभनी दाइ भन्न आग्रह गर्नुहुन्थ्यो ।

बस्दै जाँदा त्यही ठाउँ प्यारो लाग्न थाल्यो । बिदामा कहिलेकाहीँ घर जान्थेँ कहिलेकाहीँ बुबाआमा आउनु हुन्थ्यो । समय कति छिटो गएछ पत्तै हुँदो रहेनछ । दशैको समापन तिहारको आगमन हुन लागेको थियो । यसपाली त हामी दिदीसँग भाइ टीका लगाउने हो भनेर उनीहरू खुशीले उफ्रेका थिए भने मेरो पनि पहिलो तिहारको टीका खुशीको सीमा थिएन । बुबाआमाको अनुमति लिएर म भाइहरूलाई टीका लगाउन भनेर कोठामा नै बसेँ ।

तिहार बिदामा हामी सब‌ै मिलेर मिठा मिठा खानेकुरा खायौँ । लक्ष्मी पूजा पनि सबै मिलेर गरौँ । हामी दिदीभाइ तिहारमा उपहार के किन्ने भन्ने विषयमा छलफल गरिरहेका थियौँ त्यही बेला मेरो कोठामा अंकलले प्रवेश गर्नुभयो । हामी चुप लाग्यौ पछि अंकलले शुन्यतालाई चिर्दै यो कागज तिम्रो लागि उपहार भनेर दिनुभयो र भाइहरूलाई लानु भयो ।

के उपहार रहेछ भनेर निकै उत्साहकासाथ खोलेँ र पढेँ लेखिएको थियो । जब मैले तिमीलाई देखेँ आफूलाई भाग्यमानी ठानेँ । छोराहरू झन् तिमीसँग रमाउँदा साह्रै हर्षित हुन्छु यदि मान्छ्यौ भने आज लक्ष्मीपूजाको दिन लक्ष्मी बनेर मेरो जीवनमा भित्रिए । हामी छोरी जन्माउँला,सानो घर बनाएर बसौँला अनि यी मेरा छोरा तिमीलाई भाइको रुपमा होइन छोराको रुपमा उपहार दिँदैछु ।

शारदा पौडेल

1 thought on “उपहार”

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *