मलाई महलको सपना देख्नु छैन
त्यो महल छिनभरमा ढल्न सक्छ
प्रकृतिले दिएको भव्य महलमा
रमाउन सिक्छु
खुला आकाश र खुल्ला धर्ती
मेरो लागि महल
अनि सिरक डसना
कहिल्यै नफाँट्ने र नच्यातिने
नत भत्केला वा चोरले लैजाला भन्ने डर
मलाई केही डर छैन
किनकि म सडक बालक
अँझ भनौँ खाते बालक ।
शिक्षाको ज्योतिले छोप्नु छैन मलाई
होडबाजीको दुनियाँमा
हात जोर्दै हजुर हजुर भन्न
मपाइँत्वको भावमा
दुनियाँमा आफैलाई मात्र देख्नुछैन
त्यसैले
हिड्छु र भौतारिन्छु
सडकका गल्ली गल्लीमा
पेटीपेटीमा
चोक
र फोहोरका डुङ्गुरहरूमा
खोज्छु फालिएका चिज
बेच्छु खानका लागि
एक मुठी सास धान्नका लागि
म सडक बालक
अँझै भनौँ
खाते बालक ।
सफा चिटिक्क परेर हिड्ने
साथीको चाह छैन मलाई
तिनीको संसारको डाह छैन
मलाई
मलाई केबल मेरो संसार प्यारो छ
जहाँ झिंगा रमाइरहेका हुन्छन्
भुस्यहा कुकुरहरूले
आहार खोज्नका लागि
चार खुट्टा खेलाइरहेका हुन्छन्
हो तिनै हुन्छन् मेरा साथी
र
त्यही हुन्छ मेरो आहार
किनकि म सडक बालक
अँझै भनौँ
खाते बालक ।
मलाई मिठा सपना बुन्नु छैन
कल्पनाका अलासिन महल बनाउनु छैन
छ त केबल
गल्ली गल्ली,
चोक चोक
सडकका पेटी पेटीमा
डुल्न सक्नु छ
जहाँ हजारौँ फोहोरका डङ्गुरहरूले
मेरो प्रतीक्षा गरेका हुन्छन्
मलाई बिरामी पर्नु छैन
न त अस्पताल जानू नै छ
किनकि
म राष्ट्र नभएको बालक
पहिचान गुमाएको बालक
नत मातृत्वले ढाक्न सक्यो
नत पितृत्वले छोप्न सक्यो
कसैको कामुकताका खातिर
कसैको मुर्खताका खातिर
जन्मिदिएको
म सडक बालक
अँझै भनौँ
खाते बालक ।
ए मान्छे हो
मेरो पहिचान खोज्छौ
खोज
त्यहाँ खोज
हरेक सडकमा पेटी खोज
हरेक चोक र मठमन्दिरका वरिपरि खोज
आबारहरूको हुलमा खोज
लागू औषध सेवन गर्ने अखडाहरूमा खोज
जब म लागू औषधसँगै
राष्ट्रियता पाएको हुन्छु
मेरो पहिचानले सिंहदरबारदेखि
संसद भवन गुञ्जायमान हुन्छ
बाबू आमाको काखमा लुट्पुटिएको हुन्छु
एउटा भव्य महलमा
चौरासी व्यञ्जनका साथ
मसक्क मुस्कुराएको हुन्छु
अफचोस्
जब नसाको असर हट्छ
पिच्च थुक्छन् महोदयहरूले
अनि
उड्छ सपना झिंगासँगै
सक्दिन खोज्न राष्ट्र
पाउँदिन मेरो पहिचान
अनि सम्झन्छु भविष्य
झस्किन्छु र थचक्क बस्छु
म सडक बालक
अँझै भनौँ
खाते बालक ।
