कविताहरूको जुलुशमा
कविता झुन्ड्याएर बुख्याँचाहरूमा
चुर बेर्ने खोसेलाहरूमा
न्यानु फेरहरूमा
लेखियो इतिहास कविताको
भोका पेटका कविताहरू
नाङ्गा आँगका कविताहरू
शिशिरमा आकाश ओढिएका कविताहरू
जुलुशमा जुलुम
जिन्दावाद अनि मुर्दावाद्का कविताहरू
जे पनि देखियो जे पनि लेखियो
कविता लेखियो
हिमालको सुन्दरताको बखानमा
मधेश झुलेको पंहेलिएर
पहाड भने पहाड लेखियो
देश भने कवितामा देश देखियो
तर एउटा कविता
त्यो कहिल्यै लेखिएन
अनि कतै देखिएन
कविताहरू सब्जी बजारमा
ठेलाहरूमा जलेवी भुटनसँग पनि देखियो
आँशुहरूसँग कविता साटेर
प्रेम प्रणयमा गीत बनाउदै
सिरानी भिजुन्जेल सपनाहरू नसुति
कविता बिपनामै लेखियो
कविता ! कविता यसरी आँशुहरूमा झरे
कविता प्रेमहरूमा फले
मुस्कानहरू साटेर
खुल्ला आकाशमा
कविताहरूले चुम्बन पनि साटे
लेखियो ठेलीका ठेली लेखियो
तर
अहिलेसम्म त्यो
एउटा कविता लेखिएन
अँझै त्यो कविता कहीं कतै भेटिएन
खुसीसँगै आँगन नाघेर
सपनाहरू बुनेर
विवशतामा कान्लो उफ्रिएर
रहरहरू भक्कानिएर
भविष्य खोज्ने कविताहरू
लश्करै भूगोल काटेर
विरहका कविताहरू कति लेखिए कति लेखिए
बाकस भएर फर्किएका कविताहरू
कहिले रेटिएर बगरमा
माया चोइटिएर
चुराका झुर्काहरूले बगाएको रगतले
धेरै कविताहरू लेखिए
आमा मुर्छित भएर देश रोएका कविताहरू
कालो छाएर बुद्ध हराएका कविताहरू
बाका कविताहरू
आमाका कविताहरू
मनभरी भेटिए
कविता भरि भेटिए
तर
एउटा कविता
अनि अँझै कहीं कतै लेखिएन
खोइ त्यो कविता कतै किन भेटिएन
सम्भोग साटेर कलमले पानाहरूमा
रात ओच्छ्याएका
मालतीहरूका कथाको कविता
विद्रोहको आवाजहरूमा
घन ठोकेर कोलाहालको
कति कति कविता लेखिए
कति कति कविताहरू देखिए
तर
एउटा कविता अँझै लेख्न सकिएन
त्यो कविता अँझै कतै देख्न सकिएन
कविताहरू फुलेर फुलसँगै
लटरम्म भएर भंवरासँगै
सिंचित भएर परागहरूमा
कविता बथानसँगै हिडेर टिउरासँगै
डुबुल्की मार्दै पोखरीहरूमा
लेखिए कविता लेखिए
युद्धहरूमा रक्तरंजित
मलामीहरूमा लाम लागेर
कविहरू कवितामै झुन्डिएर
लेखिए कविताहरू कथाहरूमा
तर
अझै त्यो कविता लेखिएन
एउटा कविता किन कतै भेटिएन
एउटा कविता अझै लेख्न सकिएन
त्यो कविता अझै कतै देख्न सकिएन !!
————————
शान्तिराम ढकाल
दमक झापा
हाल – लसएञ्जलस अमेरिका
2016-07-14 04:19:55 +0000
