Skip to content


(यस सर्गमा गरुडपुराण प्रथम अध्याय सारभावको समीक्षात्मक प्रस्तुति प्रस्तुत गरिएको छ)

उपकारी गुणीव्यक्ति धर्मका हुन् सार
भगवानले लिने गर्छन् विविध अवतार
उनकै संतुलनले चलेको छ यो संसार
यस्ता दीनदयालको गरौं जय जयकार

सबका अधिपतिलाई कल्पवृक्ष ठानौ
धर्मलाई यही वृक्षको मूल जरो मानौ
वेद काण्ड, पुराण शाखा, यज्ञ हुन पुष्प
यही पुष्पबाट प्राप्तफल मोक्ष भनी जानौ

एक समय

देव क्षेत्र नैमिषारण्यमा ऋषि जम्मा हुन्छन्
स्वर्गलोकलाई प्राप्त गर्न यज्ञ गर्न थाल्छन्
सहस्रबर्ष लाग्ने यज्ञ थालनीको साथै
सूतजीको ज्ञानामृत रसपान गर्न माग्छन्

एक दिनको विहानीमा हवन कार्य सकी
महामुनि सूतजीलाई आसनमा राखी
शौनकादि सोध्न थाल्छन् यम यात्रा मार्ग
यमलोकको ज्ञान पाउँ अमृत बाणी चाखी

यममार्ग भयावह हुन्छ भन्छन् सब
महान ज्ञाता हजुरले मर्जी हवस् अब
देवमार्ग सहजमा हाम्ले सुनी सकेम्
यममार्ग सहज–सरल जान्न पाउँ तब

हजुरलाई सुखदुःखको सहजमै छ ज्ञान
यहलोक परलोकको गर्ने समाधान
सत्यतथ्य भई बगोस् सबै सुधारस
यही हाम्रो धारणा छ पवित्र होस् कान

ऋषि बचन प्रवाह भयो सूत चरणमा
सूतजी त खुसी भए ऋषि धारणामा
विष्णुजीले गरुडमा सुनाएको सार
सूतजीको आज्ञा भयो विष्णु भावनामा

वैकुन्ठमा श्रीहरि आनन्दमा थिए
गरुडले नम्ररूपमा आग्रह गरिलिए
सुने मैले प्रभुबाट भक्ति मार्ग सबै
यममार्ग सुन्ने इच्छा प्रकट गरिदिए

भक्तिर्मार्ग सहजमा प्रदान गर्नु भयो
कर्म गति प्राप्त गर्ने मार्ग दिनु भयो
यसै गरी यमयात्रा सहजको साथमा
श्रवणको तीव्र इच्छा सन्तोषको गाथमा

भगवानले भन्नु हुन्छ–पक्षीन्द्रलाई
पापीजन जाने गर्छन् यहीमार्ग धाइ
जसले सुन्छ यो मार्ग अति डराउँछ
भन्छु मैले सुन तिम्ले दत्तचित्त लगाई

नरकको मार्ग हेर पापी जनले धर्छ
स्वकर्मको परिणति ऊ त नरक पर्छ
जो व्यक्ति सदा हुन्छ पाप परायणमा
नारायणको जप त्यागि नरकतिर सर्छ

दया धर्म हीन हुन्छ
दुष्ट सङ्गतिमा लाग्छ
शास्त्रज्ञान सबै त्यागी
धर्मबाट टाढै भाग्छ

स्वप्रतिष्ठित ठान्नेवाला
वेबिचार नै मान्नेवाला
धन–मानको लागि मर्छ
त्यस्तो व्यक्ति नरक पर्छ

आसुरी शक्तिले पूर्ण हुन्छ
दैवीसम्पत्ति रहित हुन्छ

अनेक विषयमा लोलुपता
चित्तबाटै हुन्छ विभ्रान्तता
मोहजालमा छ समावृता
कामभोगमा छ सशक्तता

यस्ता व्यक्ति नरक भोग्छन्
वैतरणीमा खस्छन् खस्छन्

परम गति हुन्छ ज्ञानशीलको
नरक गति हुन्छ पापशीलको

इहलोक परलोक हुन्छ दुबै कष्टदाइ
पापी जन हिड्नु पर्छ यममार्ग समाइ

यम–मार्ग यात्रा गर्दा दुख कष्ट मिल्छ
केशवको नाम जप्दा स्वर्ग मार्ग लिन्छ
जानी जानी सर्ब कर्म पनि पाप गर्छ
यस्ता नराधमलाई धिक्कार्नु नै पर्छ

परमगति प्राप्त गर्ने समय

सुकृत दुष्कृत यथोपार्जित पूर्वजन्मकर्म
भोग्नु पर्छ नर–नारी सबै पाप अनि धर्म

लाग्न थाल्छ आधिव्याधि नरको गाथमा
जीवनमा बाँच्ने रहर भावनाको साथमा
जानकारी दिन्न उस्ले आइ बेर्न थाल्छ
यात्राकाल थाहा हुन्न दिन हो या रातमा

तर पनि मानवमा कालको ख्याल छैन
खानपिनमा फराक पर्दा पनि बुझ्दैन
मृत्यु उसलाई डसीराछ, विरक्ति भैन
रूप रङ बद्लीराछ थाहा हुन गैन

अपमानित हुनजान्छ घरका जनजनमा
हिंडडूल गर्न पनि शक्ति छैन तनमा

जसलाई भरण पोषण गरेको हो हिजो
उनैद्वारा पोषित छ मानिमानि झिजो

श्रद्धारहित दिएको खाना खानुपर्छ
कुकुरसरि खाएर दिनरात काट्छ

विकृति पूर्ण छ मरणाभिमुर्ख
कसैगरी उस्ले पाउँदैन सुख

अर्कैको दयामा ऊ बाँच्नु पर्छ
तपतप आँसु झार्दै दिनरात टर्छ

जठराग्नि मन्द हुन्छ
खानामात्रा कम हुन्छ
रोगबाट ग्रस्त भई
चेष्टा पनि कमै हुन्छ

वायुले लिन्छ उध्र्वगति
आँखा–नानी जान्छ माथि
कफ–दमले दिन्छ शास्ति
ध्वार ध्वार स्वर दिनराती

आफन्तहरू चिन्तित हुन्छन्
बन्धुबान्धव भेट्न आउँछन्
बरबर त्यहाँ आँसु झार्छन्
भरण पोषण उसको गर्छन्

बाँधिन्छ ऊ कालपाशमा
बोली बन्द उस्को साथमा
कुटुम्बको ऊ आशक्तिमा
रुन थाल्छ ऊ वेदनामा

चेतना शून्य हुन जान्छ
लम्पसार भै खुट्टा तान्छ
परिवारको माझ बाटै
प्राणवायु उस्ले लान्छ

विष्णुजीले गरुडलाई त्यहाँ भन्नु हुन्छ
मरण–काल समयमा देवदृष्टि धर्छ
देख्छ लोक परलोक एकत्रको साथमा
बोल्न भने चाहदैन चकित भने पर्छ

इन्द्रिय जति व्याकुल हुन्छन्
ज्ञान–चेत जडीभूत हुन्छन्
यमदूत उसको अघि आउँछ
डराइ डराइ प्राण जान्छ

आतुरकालमा प्राणवायु जब ठाउँ छोड्छ
एकक्षण पनि कल्प बन्छ अनि प्राण तोड्छ
शतबिच्छीको टोकाइको डहन पीडा भोग्दै
मरणासन्न अवस्थामा फीँज पनि काड्छ

-यालै-यालले रोगी मुख भरिनपो जान्छ
प्राण जाने वेला भयो आतुरताले तान्छ
पापी जनको प्राण जान्छ हेर गुदाबाट
अन्तिम स्वास लिन अति कठिन ठान्छ

रिसपूर्ण डरलाग्दो हुन्छ प्रदर्शित रूप
यमदूतले दाँतलाई कटकटाउने खुप
उध्र्वकेश काककृष्ण बक्रतुण्ड काया
अस्त्रशस्त्र पाश देख्छ रोगी बन्छ चुप

भयङ्कर तिन्को दर्शन बिमारीले गर्छ
मरणासन्न अवस्थामा अत्यन्त नै डर्छ
यै डरको कारणले दिशा पिसाव झर्छ
रुँदै रुँदै अन्तिममा अङ्गुष्ठ रूपमा सर्छ

पञ्चभूत शरीर त्याग्दा रुन्छ ह्वाँह्वाँ गर्दै
यमदूतको पाशमा पर्छ घरतिर हेर्दै
यमदूतको कष्टदाइ यातनालाई भोग्दै
यमदूतले समाउँछन् गलफन्दाले वेर्दै

राज–पुलिसले दण्डनीय व्यक्ति लगेसरि
पापीलाई यमदूतले लान्छन् उस्तै गरी
यमदूतले नरककष्ट बताउँदै लान्छन्
कुम्भीपाक नरक लान डोरीले नै तान्छन्

चाँडो चाँडो हिड्न भन्छन्
तिन्ले त्यहाँ डर दिन्छन्
नरक्र–डर बताउँछन्
छिटो हिड्न लगाउँछन्

यमदूतको रुखो बोली उस्ले त्यहाँ सुन्छ
भाइबन्धुको रोदन पनि त्यस्ले त्यहाँ सुन्छ
यस्तो मार्मिक यात्रामा ऊ आँफै रुन्छ
यमदूतको बाटोमा पिटाइ पनि हुन्छ

यमदूतले उसलाई डर देखाउँछन्
नरक–भय देखाएर अझ धेरै डाँट्छन्
यमलोकमा पुग्नलाई छिटो हिड्न भन्छन्
कुम्भीपाक नर्क लाने पनि कुरा गर्छन्

यमदूतले यातना अति धेरै दिन्छ
यातना धेरै हुँदा मुटु छिया पर्छ
तन काप्न थाल्छ कुकुरले टोक्छ
पापलाई सम्झँदै यमपथमा हिड्छ

भोक तीर्खा बाट पीडित नै हुन्छ
रवि किरणले तन त्यस्को धुन्छ
दावाग्नि जल्छ वायु पनि बग्छ
कोर्राको पिटाइमा ऊ त साह्रै रुन्छ

वाध्यता हो यममार्ग उस्लाई हिड्नु पर्छ
कष्टकर पीडा हुँदा सहन गर्नु पर्छ
तातो तातो बालुवा छ बस्नेठाउँ छैन
असमर्थ पदयात्रा सहज पार्नु पर्छ

थाक्न गइ बटोमा ठाउँ ठाउँमा लड्छ
लड्दा लड्दै बाटोमा मुर्छा पनि पर्छ
अतिसय पापमय तमपूर्ण बाटोबाट
यमदूतको साथ लाग्दै यमलोकमा पुग्छ

दुई तीन मुहूर्तमा यमलोकमा पुग्छ
घोर नरक यातनालाई पनि त्यहाँ देख्छ
यमराजलाई देखी र यातनालाई भोगी
आज्ञापाई यमराजको इहलोकमा आउँछ

अनादि वासनाले बाँधिएको जीव
इह लोकमा आइ प्रवेश मार्ग खोज्छ
देहमा प्रवेश हुने इच्छा राखे पनि
यमदूतको बन्धने प्रवेशनै रोक छ

भोकाउँछ , तिर्खाउँछ अति कष्ट मिल्छ
भोक खप्न नसकी पीडित भइ रून्छ
आतुरकालको दान पिण्ड उस्ले खान्छ
त्यसबाट त्यो पापी तृप्त कहाँ हुन्छ ?

पापीष्टले पाउँदैन श्राद्ध, जलाञ्जली
यदि पायो भने पनि पेट बन्छ खाली
भोक प्यास लागि ऊ व्याकुल नै हुन्छ
व्याकुलताको साथमा यात्रा गर्नु पर्छ

पिण्ड दान नगर्दामा प्राणी प्रेत बन्छ
प्रेतरूपमा कल्पपर्यन्तसम्म
घनघोर वनमा
अत्यान्त पीडित भएर
भ्रमण गरिरहन्छन् ।

कर्मको भोग गर्नै पर्छ
कर्मफल नाश हुँदैन,
सुकर्मको सुफल
कुकर्मको कुफल
यो फलको उपभोग गर्न
सैकडौं करोडौं कल्प बित्न सक्छन्
कर्मफल उपभोग जबसम्म हुन्न
तबसम्म मानिसको शरीर प्राप्त हुन्न ।

पिण्डदान किन त ?

कर्मको फल अविनाशी छ
जीवले कर्मफललाई भोग्नै पर्छ
मानव जीवन तुच्छ हैन
प्राप्त गर्न सहज हुँदैन
अमूल्य मानव जीवन प्राप्त गर्न
आफ्ना पितृलाई सहज तार्न
पुत्रले पिण्ड दिनै पर्छ
क्रिया कर्म गर्नै पर्छ

दशदिन तक पिण्ड दान
आवश्यक छ सबले जान
त्यो पिण्ड बन्छ चार भाग
पिण्डबाटै बन्छ प्रेत तन

प्रत्येक दिनको पिण्ड चार भाग लाग्छ
पञ्चभूत बन्नलाई दुई भाग जान्छ
तेस्रोभाग पिण्डलाई यमदूतले पाउँछ
चौथो भाग पिण्डलाई प्रेतले खान्छ

तन बन्नलाई नौ दिनरात लाग्छ
दशौं दिनमा तनले शक्ति पाउँछ
यसरि दिईने पिण्डदान बाट
एक हातको तन बन्न जान्छ

यही तनले शुभ अशुभ जे जति छन्
स्वकर्मफल उसले भोग्छ –

पिण्डबाट निमार्ण हुने तनको विवरण
पहिलो दिनमा शिर
दोस्रो दिनमा घाँटी
तेस्रो दिनमा हृदय
चौथो दिनमा पिठ्यूँ
पाँचौं दिनमा नाइटो
छैटौं दिनमा कम्मर
सातौ दिनमा गुह्य
आठौं दिनमा जाँघ
नवौं दिनमा घुँडा र पैर
यसरि नौ दिन सम्म दिएका पिण्डले
प्रेतको शरीर बन्छ
दशौदिनको पिण्डले
भोक र प्यास जागरण गर्छ
पिण्डबाट निर्मित त्यो प्रेत तनले
एघारौ–ंबाह्रौं पिण्ड खान सक्छ

तेह्रौं दिनमा प्रेत एक्लै यममार्ग समाउँछ
पीडाहरू बोक्दै बोक्दै यातनालाई सजाउँछ ।

यम मार्ग र यसको दूरीको विवरण
विष्णु गरुड चल्न थाल्छ यममार्ग बार्ता
पारगर्ने दूरी कति कस्तो हुन्छ यात्रा
छयासीहजार योजन छ यममार्ग–दूरी
वैतरणीलाई छोडी हिड्न पर्ने पुरापुरी

प्रेतलाई हिड्नुपर्छ हेर दिन रात
दुईसय सैंतालीस योजनको साथ
मार्गमा पर्न जान्छन् सोह्रवटा्र नगर
पारगर्दै पुगिन्छ है यम–प्रासाद पास

बाटोमा पर्ने नगरहरू

प्रथममा सौम्यपुर दोस्रोमा पर्छ सौरिपुर
नरेन्द्र भवन तेस्रोमा चौथो पर्छ गन्धर्वपुर
पाँचौमा शैलागम छैटौंमा पर्छ क्रौञ्चपुर
सातौमा क्रूरपुर आठौमा विचित्रभवन नगर

नवौंमा पर्छ बह्वापदपुर
दशौंमा पर्ने दुःखपुर
एघारौ पदयात्रा नानाक्रन्दपुर आउँछ
सुप्त भवन, रौद्रपुर बाह्रौ र तेह्रौ पुर
चौधौ पुर भनेको हो पयोवर्षणपुर
शीताढ्यपुर पार गर्दै पुग्ने भित्री पुर
यिनै पुर पार गर्दै, पुग्ने धर्मराज–भवन
बाँधिएको पापी जीव गर्छ अति क्रन्दन

गर्न पर्ने मानवले जिउँदो छँदै सुकर्म हो
सुमार्ग त्याग्न गए हुन जाने कुकर्म हो
केशवको कथनलाई गरुडले सुन्नु भयो
यममार्ग–पीडा सुनी मनमनै गुन्नु भयो ।

(स्वर्गको बाटो – समीक्षात्मक पौराणिक महाकाव्य)

Leave a Reply

Your email address will not be published. Required fields are marked *