Skip to content


कतिमा राम्रो गाउँ यो प्यारो खुसीले झुम्दैछु
धरती राम्रो, आकाश राम्रो लागेको आजै हो
सुवास हावा लाग्यो नि हेर फरर शीत्तल
प्रेमकी खानी प्रकृति यहीँ जननी सबैका

विरुवा बोट पशु र पञ्छी भएका फुरुङ्ग
त्यसैले म त बनाई घर बस्नेछु यहीँ नि
रङ्गले सयौं रङ्गिन फूल फक्रेका गजब
यहाँका हर वासिन्दा फूलै लाग्यो नि मलाई

आउँदा यहाँ जो कोही किन फर्केर जान्छन् र
त्यसैले जहाँ गएता पनि यही छु गाउँमै
यहीँको ठाउँ सँगको नाता जनम जनम
भोक र प्यास कुराको आज चालनै पाइन

मिलेर बसी मगन सबै रमाई रमाई
दिलैको कुरा गर्छन् नि यहाँ छैनन् नि पराइ
यहाँ त सबै एक भै बस्ने जहान भएका
मोहक कति मलाई लाग्यो सबका सब नै

धपक्क जूनै टाँसेको जस्तो सबैको मुहार
सुन्दर कति राम्रो नि अति टलक्क सबैका
ननाच्ने कुनै पञ्छी नै छैन आज यो ठाउँमा
संगीत जोड्ने हरेक स्वर यहाँका जीवन्त

लय :– (३+२)=५, (३+२)=५, (३+३)= ६ जम्मा १६ मात्रा असारे

२०७३ साउन ६ बिहीवार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *