न्यानो हुन मलाई औधि मनपर्छ । आगोनजीक त्यसको रापसँग सम्बन्ध राख्न मेरा लालायित मांसपेसीका रेशाहरू जाडोका अनुभवले कक्रक्क पर्छन्, पर बलिरहेको आगोको तापमा ती रेशाहरूले देखेर टाढैबाट भावनामा अनुभव गर्न थाल्छन् । एक प्रकारको न्यानो तरङ्ग मेरा मांसपेशीका रेशाहरूका तारबाट मस्तिष्क भरि झड्क्रित हुन्छ । यसको अनुभव अङ्ग अवयवहरूमा संचालित भएको पाउँछु । म खुशीका मनमनै गुलियो मन पारेर हाँस्छु । मनको ओठहरू गंभीर खुशीका जलले हराभरा हुन्छन्, अनि म लुकाउनै नसकिने गरेर ओठहरूमा हराभरा व्यक्तिन्छु । मसँगै हिंडेको साथीले मलाई भन्छ – किन त्यसरी एक्लै मक्क परेकी – म त्यसलाई व्यक्त गर्दिनँ किनकि मेरा स्वयं उपस्थितिको अभिव्यक्तिको अगाडि शब्दका अभिव्यक्ति अधुरो हुन्छ भन्ने मलाई लाग्छ । म उसलाई उछिनेर त्यो रानेर पुग्न पाइला शीघ्र रूपमा बढाउँछु । मैले त्यतिबेला आगोको उज्यालो मात्र देखेको हुन्छु, त्यसको अवशेष कोइलाको कालो वा त्यसको नतीजा धूवाँको अँध्यारो देख्दिन, किनकि ती सबै आगोको न्यानो मात्र हुन्छ । म खरानी देख्दिन, किनकि खरानी अवशेष हो र भविष्य बताउने अवशेषलाई देख्ने प्रौढता र बुढौती ममा विकसित भएको छैन । त्यहाँ आगो बालेर अगाडि बसेको एउटा मानिस छ, जो हार्दिकता र स्नेहले मलाई टाढैबाट स्वागत गरिरहेछ, बोलाइरहेछ, औंलाले इशारा गरिरहेछ ।

म हिंड्दै गरेको ठाउँको र त्यस आगोको रापको ठाउँमा बाटोको दूरी निक्कै नै छ ! मेरा गोडा शीघ्रातिशीघ्र बढ्न थाल्छन् । त्यपछि झन् मेरा गोडाहरू यसरी हिड्दा-हिड्दा त्यस आगोसँग साक्षात्कार हुने ठाउँ वा जमीनको अंशमा आइपुग्छन्, जसमा म निसङ्कोचस्पष्ट रूप भएर समानान्तर सिंढीको रेखामा त्यहाँ उभिन पुग्छु । आगो प्रचण्ड रूपमा बलरहेको हुन्छ । एकछिन त आगोको ज्वालामा आफूलाई पनि प्रज्वलित पाउँछु । म त्यस रापमा आफूलाई हर्ेर्ने प्रयत्न गर्ने कोशिश गर्छु एक छिन त आनन्दी, आराम, स्वच्छ र न्यानो पाउँछु आफूलाई । त्यहीको त्यस साथीले मलाई भन्छ – “अलिक नजिक आएर बस, मेरो सँग नै ।” म स्वचालित यन्त्र जस्तो त्यतै लच्कन्छु । मलाई न्यानोको अनुभव प्रगाढ हुँदै जान्छ, मन पनि त्यसै साथ रमाउँदै जान्छ । न्यानोको पनि सङ्गीत हुँदोरहेछ प्रशस्त मेडोली भएको । मेलोडीको सरगमले भरिएका मेरा रक्त कोषाणु रापको न्यानोपन भएको अर्को मेलोडीमा मिस्सिन पुग्छन्-केन्द्रबिन्दु भएको उसको मानवीय भौतिक शरीरले बोकेका गोडातिर मेरो न्यानो पाउने उद्देश्य अझ अग्रसर हुन पुग्छ । मैले त्यतिबेला त्यहाँको त्यो आगोको न्यानो टिपिसकेको हुन्नँ, केवल रापले मात्र टाढाबाट नजिक हुँदै छोइएको हुन्छु ।

मलाई एउटा उखानको सम्झना हुन्छ,- “अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ ।” त्यतिबेला त्यहाँ प्रत्यक्ष नै एउटा बालक अज्ञानमा आगोतिर बामे र्सर्दै घस्रन्छ, उसका आँखाले देखेको उज्यालोलाई उसको हातले टिप्न खोज्छ, त्यहाँ पोल्ने खतराको सीमारेखा उसले आफ्नो मस्तिष्कमा कोरिसकेको हुँदैन । एक मुष्ट आवाजले परबाट उसलाई “ए हुन्न हुन्न, पोल्छ, हुन्न” भनेर प्रतिक्रिया जनाउँछन् । त्यस आवाजप्रति एकचोटी आफ्नो शीघ्र आगो भेट्ने गतिलाई ऊ एकाएक टक्क रोक्छ । पोल्ने कुरालाई उसले देक्दैन, आगोको उज्यालोलाई मात्र देख्छ । फेरि शीघ्र गतिमा आगोतर्फकुद्छ र आगोलाई भेटिछोड्छ । तुरन्त यातना र पीडाले अज्ञानमा ठूलो आवाजमा त्रासको बीचमा रोएर चिच्याउन थाल्छ । म त्यो जीवित घटना त्यही फेरि देख्छु जुन आफूले पनि भोगिसकेको हुन्छु । वैचारिक साधारणीकरणको स्तरमा पुगेर मनभित्र आफूले आफैंलाई भन्छु-हर बालक आगोले पोलेको पीडाको ज्ञान अनुभवबाटै गर्छ । मलाई त्यो देखेर आफैं बालक भए जस्तो लाग्छ, मलाई नै पोलेजस्तो लाग्छ । म सम्झन थाल्छु मेरो मन पनि यसै गरी बामे सरेको थियो कुनै बेला, कुनै न्यानो वस्तुको प्राप्तीमा । आगोतिर कलिलो मन अग्रसर हुँदा, “ए हुन्न, हुन्न, पोल्छ, नजाऊ” भन्ने आवाज परिवारबाट र समाजबाट सुनेको थिएँ । म त्यो बालकको रुवाईको आवाजमा आफ्नै बामे सरेको पूर्वमनको आवाज पाउँछु । म त्यतिबेला आगोमा पुग्न अग्रसर हुँदा समातेर विपरित दिशामा फ्याँकेर आगोदेखि बचाइदिने कोही नभएको सम्झन्छु । त्यस बालकले आगोमा पोलेको हात गोडालाई नियालेर हेर्छ पोलेर बचेको तर कुरूप भइसकेको आफैंवरको आफ्नै मनलाई देख्छु । म हिस्टेरिया वा न्यूरोसिसले ग्रस्त भए झैं तुरुन्त ठूलो आवाजले डाको छाडेर रुन थाल्छु, तत्क्षण त्यहीं नै । सायद ठूलो भइसकेर पनि आवाज आउने गरी रोएको पहिलो हिक्का यही नै हो, आफूले नियन्त्रण गर्न नसकेको तीव्र दुःखको आरोह त्यही नै हो । मलाइ बलिरहेको त्यस आगोले तत्क्षण त्यहीं नछोएर नै पोल्छ । मेरो अनियन्त्रित आँसुको झरीले त्यस मुढोमा बलेको आगोलाई निभाउन के सक्थ्यो, बरु आगोमा घ्यू थपेजस्तो हुन्छ, आगो झन् प्रज्वलित भएरबल्न थाल्छ । सँगै उभिएको उसले मलाई हेरिरहेको हुन्छ । म रँदै र दौडदै घर र्फकन्छ, मैले मेरो आँसु र हिक्कालाई लुकाउनै सक्तिनँ यो रूपाइको हिक्का ज्वालामुखी भएर फुट्छ, अनि फैलन्छ । सबै घटना बगैंचा भ्रमण गरिरहनु भएका आमा र बुबालाई भनिदिन्छु । मेरो हात पनि बालककालमा यसैगरी पोलेको थियो । म आफ्ना ती अज्ञान औंलारहीत हात उहाँहरूको सामू तेर्स्याएर आँसु मिश्रति प्रश्न ठड्याउँछु – “यो मेरो हात कसरी पोलिएको थियो – तपाईँहरू त्यो घटनाको कारण मलाई कहिले पनि किन बताउनु हुन्न -”

आमा रिसाएर र उदासीनता मिसिएको स्वरमा भन्नुहुन्छ “आगोले पोल्छ, तँलाई थाहा छैन -”

बुबा ऐजन स्वरमा गंभिरता थपेर बोल्नु हुन्छ – “आगोलाई ताप्न जान्नु पर्छ छोरी ! अनि आगो न्यानो हुन्छ । आगोले सबैलाई पोल्छ । तँलाई आगोले पोल्दा तँ सानी थिइस् ।”

आजकल म अक्सर त्यो आगोले खाएको कुरूप हात तेर्स्याएर कोठामा हिटरको आगोको मात्र न्यानो ताप्ने गर्छु अक्सर म हिटरको आगोको करेन्ट र राप आँखाले नाप्ने गर्छु ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *