Skip to content


लप्सीफेदीका लौसीराम बाजेलाई छोटकरीमा ‘लौराबा’ भन्ने थुप्रै छन् । हिटलर कट जुँगा, हिटलरको भाइजस्तो अनुहार, लप्सीको छाला र मासुजस्तै अमिलो स्वभाव, लप्सीको हड्डीजस्तै दरिद्र मानसिकताले गर्दा उहाँको सम्पूर्ण जीउडाल लप्सीको गेडोजस्तो देखिन्थ्यो । उहाँको स्वघोषित फुर्ति नायकजस्तो थियो तर व्यवहार सधैँ नालायकजस्तो । उहाँको स्वभाव छेपारोले रंग फेरेजस्तो बदलिरहन्थ्यो । मौका परे जजमानी गरेर श्राद्ध पनि खाइदिइहाल्ने, मौका नपरे अफिसमा पियनलाई पनि थर्काइरहने ।

वनको काफल वनकै चरीलाई… भन्ने गीतजस्तै उहाँ हरदम वनमै रमाइरहने सपना देखिरहनुहुुन्थ्यो । दिउँसो कहिलेकाहीँ उँघ्दा पनि वनमै घुमिरहेको देख्ने । रूखको हाँगो समाएर पुराना हिन्दी फिल्मको गीत मनमनै गुनगुनाइरहने, खुसीले । त्यति मात्र कहाँ हो र, मौका मात्र पाए उहाँ जंगलमै झूल हालेर सुत्न तयार देखिने । यसका लागि उहाँले आफूभन्दा माथिका हाकिम, नेता, मन्त्रीहरूको खूब मोल्नु भो, कथित नेताहरूलाई कर गरी गरी आफूले विदेशी दातृ संस्थाबाट चुनादाम देशमा ल्याउन पहल नगरे पनि अरूले ल्याएको पैसाबाट विदेशको शयर पनि गराउनु भो तर नतिजा भने सधैँ उल्टो ‘लोभ गरे …डा परे’ उखानजस्तै ।

विचरा उहाँको दौडधूप यति मायालाग्दो देखिन्थ्यो कि भुइँचालो आउँदा हातमा डायरी च्यापेर (मरी गए कहिल्यै डायरी नछोड्ने) कहिले खाली खुट्टै दौडिने, कहिले साइकल चढेर देशको कायापलट हुन्छ झैँ फुर्ति देखाउने, कहिले काठमाडौँ सहरलाई प्लास्टिक झोलामुक्त गराउने (अहिले काठमाडौँमा छ्यापछ्याप्ती प्लास्टिकका झोला पाइन्छन् । प्लास्टिक झोला ब्यान्ड गर्ने बहानामा उहाँले ५० लाख स्वाहा पार्नुभयो) नाटक गर्ने, कहिले नेताका कार्यकर्तालाई आवश्यक नपरे पनि गाडी र पेट्रोल टक्र्याउने जस्ता अनेकौँ रणनीति अपनाउँदा पनि वनको दौडमा उहाँ सधँै जग्गु घोडाको अघिल्तिर लद्दु घोडाझैँ पछि परिरहनु भो, बिचरा ! उहाँले आफ्नो कार्यकालमा निकै सुराकी, उहाँले सुराकी ठाने पनि ती धुपौरे थिए, सके जति धूप बाल्दै स्तुति गाउँदै हिँड्ने, तिनीहरूलाई निकै साथ दिनुभो । मैले लप्सीका बारेमा कुनै बेला एउटा कथा लेखेको थिएँ, त्यसको मर्मलाई बंग्याएर धुपौरेहरूले खुब फाइदा लिँदै विदेश हान्निए । कथा एकदम राम्रो भनेर एकातिर मेरो प्रशंसा गर्ने अनि अर्कोतिर ‘यो त साह्रै भएन हजुर, हाकिमजस्तो मान्छेलाई यस्तो लेख्ने ! यस्तालाई कि त तुरुन्त सरुवा गर्नुपर्‍यो, त्यो नभए भौतिक कारबाही गर्नुपर्‍यो’ भनेर तिनीहरूले लौसीलाई सल्लाह पनि दिएका रहेछन् । यो कुरा मैले लौसीबाटै थाहा पाएँ । तर, लौसीरामको बानी त्यही हो । पछि धुपौरेहरूलाई पनि लौसी बाजेले आफूले सकुन्जेल पेल्न थालेपछि तिनीहरू ‘तपाईंले लेखेको एकदम ठीक रहेछ’ भनेर मसँग दु:ख पोख्न पनि आए । वास्तवमै संसारमा धुपौरेहरूको अस्तित्व क्षणिक हुन्छ भन्ने तिनीहरूले कसरी सोच्न सकेनन्् ? फेरि धुपौरे भनेका यति डरलाग्दा र चलाख हुन्छन् कि मौका परे प्रधानमन्त्रीलाई पनि सल्लाह दिन तयार हुन्छन्, मौका नपरे पियनलाई पानी टक्र्याउन पनि लाज मान्दैनन् ।

लौसीराम बाजेको मुख भने सानो लिच्चीको गेडा छिर्न पनि गाह्रो हुने तर कमिसनका ठूलठूला डल्ला भने ख्वात् ख्वात् गरेर मजाले मुखबाट छिर्ने । फेरि, उहाँ झिँगा हाँसेजस्तो हाँस्ने । हाँसेको हो कि रोएको केही भेउ पाउन नसकिने । उहाँको यो बानी–बेहोरा देखेपछि जो कोही पनि हायलकायल हुने । उहाँ फेरि महिलावादी । महिला असाध्यै मन पराउने । महिला देखेपछि स्वस्थानीको कथालाई माथ गर्ने गरी गोमा ब्राह्मणीको कल्पनामा ७० वर्षको शिव शर्माले झैँ र्‍याल काढिहाल्ने । कार्यालयको कुनै विशेष कार्यक्रम भयो कि कार्यालयकै कुनै प्रतिभालाई मौका नदिएर मोडलहरू बोलाइहाल्ने । लैंगिक समानताको दृष्टिकोणबाट हेर्ने हो भने यो जायज पनि होला । तर, यो समानता हो या असमानता दैव नै जानून् ।

लौसीराम सरकारी गाडीमा अरू त अरू परिवारसमेत नराख्नोस् भनेर मिटिङमा आफूमुनिको कर्मचारीमाथि ब्रह्मास्त्र छोड्ने । अनि, आफूचाहिँ घरमा तीन–चारवटा गाडी राख्ने । मिल्ने भए उहाँ ती गाडीबाट लौसीको व्यापार गर्नुहुन्थ्यो होला । नभए ती गाडी मोडलहरूले पक्कै प्रयोग गरे होलान् । उहाँ चौबीसै घन्टा लप्सीको जंगलमा सुतिरहेको सपना देखिरहने । सधँैभरि उहाँको अनुहारमा सम्भव हुने भए लप्सीको झुप्पालाई अँगालो हालेर चमेरोजस्तै झुन्डिरहने एउटा काइते इच्छा पनि मजाले जागिरहेको देख्न सकिन्थ्यो ।

उहाँ हरियो भनेपछि जंगल मात्र देखिरहने । हरियो सागपातलाई पनि जंगल देख्ने । सागको तरकारी भएका बेला खाना खान बस्दा पनि साग मोलिरहने जंगल सम्झेर । यति मात्र हो र ! हुँदा हुँदा कौसीमा रहेका हरिया बोट–विरुवाका गमलालाई पनि जंगलै ठान्ने । घरका जहान परिवारले देख्दा पूजा पाठ गरिरहेजस्तो देखिन्थ्यो भने वास्तविकतामा उहाँ ती बोट–विरुवालाई घन्टौँ अँगालो मारेर बसिरहनु हुन्थ्यो । वनबाट अकूत सम्पत्ति कमाएका कारण कसैले वन भनेको शब्द सुन्नेबित्तिकै उहाँको कान ठाडो भएर ६ इन्चभन्दा माथि तन्किहाल्थ्यो । नाकचाहिँ पाकेको घिरौँलाजस्तो एक हात लामो र ओठ खुसीले फरफर गर्दै कन्चटसम्म तन्किन्थ्यो । उहाँको यो वन मोह असाध्यै हेर्न, सुन्न र बयान गर्न लायक थियो । वन भनेसी उहाँलाई घर, परिवार, छरछिमेकी कोही नचाहिने ।

उहाँ बोल्नमा साह्रै माहिर । आइमाई भए सारी खुस्केको पनि थाहा नपाउने । कट्टुको टाँक खुस्केपछि उहाँको बोली बन्द हुने । उहाँले बोल्दा तीन पुस्ताको छनक आउँथ्यो । मानौँ, उहाँका अघिल्लो पुस्ताले उहाँलाई बोल्नबाहेक अरू केही खान नदिएर राखेजस्तो ।

लौसीराम बाजे अर्थात् लौराबा ! जहिले पनि डायरी च्यापेर (सुत्दा पनि सायद उहाँ डायरी च्यापेरै सुत्नुहुन्छ होला !) हिँड्ने । मलाई थाहा छैन, उहाँ शौचालयमा के गर्नुहुन्थ्यो, त्यहाँ पनि डायरी च्यापेरै जानुहुन्थ्यो कि ! आफू प्रकाण्ड विद्वान् हुँ भन्ने दम्भ उहाँको अनुहारभरि छल्किरहेको देखिन्थ्यो । अरूलाई उहाँका बारेमा बोल्नुपर्दा असाध्यै अप्ठ्यारो लाग्ने । बोल्नमा उहाँ आफूलाई बाराक ओबामा नै सम्झिने । बोल्न मात्र होइन, उहाँको एउटा अर्को अनौठो बानी पनि छ । अफिसमा जो अगाडि पर्‍यो झम्टिहाल्ने, हिंस्रक जनावरजस्तो । जनावर पनि केही सोचविचार गरेर झम्टिन तयार हुन्छन् तर लौराबा तातो न छारो केही सोचविचारबिनै आफूभन्दा निर्धा कर्मचारीलाई झम्टिहाल्ने । उहाँले वनजंगलमा जनावर जति पनि शिक्षा नपाएर कमाउने धन्दा मात्र सिकेछन् क्यार !

लौराबाको अर्को विशेषता भनेको विदेश मोह । विदेश भ्रमण भनेसी उहाँ यति हतारिनु हुन्थ्यो कि प्यान्ट लाउन भ्याइएन भने कट्टुमै जान तयार हुने । अथवा जुत्ता लाउन भ्याइएन भने मोजा मात्र लगाएर हिँड्न तयार हुने । वास्तवमै उहाँको व्यक्तित्वका बारेमा १६ सय नागहरूलाई पनि वर्णन गर्न गाह्रो पर्ला, मजस्तो भुसुनाको कुरा नै के भयो र ? तर, एउटा यथार्थचाहिँ के हो भने उहाँको अनुहार देखेपछि नागहरू नै तर्सिने ।

उहाँको अर्को बानी मिडिया भनेसी असाध्य हुरुक्क हुने । त्यति मात्र होइन, मिडिया पोखरी भइदिए त्यहीँ मजाले चौबीसै घन्टा पौडी खेल्न मन पराइरहने । उहाँ कहिलेकाहीँ आफ्नो च्याम्बरमा भीडभाड भए बाथरुमै गएर अन्तर्वार्ता दिनुहुन्थ्यो । अन्तर्वार्तामा आफूले गरेको उपलब्धि सधँै जिरो अनि अरूले गरेको प्रगतिको बयान गर्ने । अन्तर्वार्ता दिने भनेसी उहाँको अनुहार सहस्र सूर्यझैँ उज्यालो हुने । कुनै मिडिया अन्तर्वार्ता लिन आउने भनेपछि कोट–टाई तन्काउने अनि आफ्नो हिटलर कट जुँगा र चाउरी परेको अनुहारलाई गर्धनसम्म तन्काएर अन्तर्वार्ताको समयअघि नै तम्तयार भइरहने ।

फुर्सदका बेला लौसीराम बाजे एक्लै त्यत्तिकै भुतभुताइरहने मानौँ झट्ट हेर्दा कुनै मन्त्र जपिरहेजस्तो देखिने तर यथार्थमा उहाँ ती कर्मचारीलाई सम्झिरहनु हुन्थ्यो, जसले गुरुभेटी टक्र्याउन बाँकी राखेका हुन्थे । उहाँको एउटा अर्को अनौठो बानी के थियो भने उहाँ बाटोमा हिँड्दा कतै लौरो देख्नु भो भने पनि नमस्कार ठोकिहाल्ने, रूखको त कुरै छाडौँ । उहाँ मन्दिरलाई एकपटक घुम्नु हुन्थ्यो भने रूखलाई दसपटक । यसरी उहाँ जीवलाई मात्र होइन, निर्जीवको पनि खुब चाकरी गर्नुहुन्थ्यो ।

लौसीराम बाजेको गाउँमा भैँसीराम नाम गरेका साथी थिए । उनी भैँसी पाल्ने, भैँसीको दूध बेच्ने, भैँसीको व्यापार पनि गर्ने भएर उनको नामै भैँसीराम भनेर प्रख्यात थियो । भैँसीराम आफ्नो छोरोलाई लौसीरामले जागिर लगाइदेलान् भनेर लौसीलाई दैनिक खुब दूध पेल्ने, त्यो पनि पानी नहालेको खाँट्टी । लौसीलाई अझ हप्ता–हप्ता दिनमा दही पनि चाहिने । महिना दिन जतिमा घिउ पनि चाहिने । दूध पनि चाहिने, दही पनि चाहिने अनि बिचरो भैँसीरामले कहाँबाट ल्याओस् घिउ ! तैपनि, बेरोजगार छोरो घरमै त्यत्तिकै लन्ठिरहेको देखेर लौसीले जागिर लगाइदिएको खण्डमा उसको उद्धारै हुने सम्झेर बजारबाट किनेर भए पनि भैँसी लौसीलाई घिउको जोहो गरिदिन्थ्यो । लौसीचाहिँ जुँगामा तर टाँसिने गरी मजाले दूध पिउने तर भैँसीराम बाजेको छोरोलाई कतै जागिर लगाइदिने कुरोसम्म ननिकाल्ने । फेरि लौसीको बानी कस्तो भने, सित्तैँमा पायो भने अलकत्रा पनि खाइदिने । लौसीको यही बानीले गर्दा गाउँमा उहाँलाई कसैले मन नपराउने । यही कारणले पछि उहाँ सहरतिर बसाइँ सर्नु भो । सहर छिरेपछि लौसीको चाकरी मोह ह्वात्तै बढ्यो । बाटोमा बरबराउँदै हिँड्ने अनि आफ्नो बोलचाल नभएको भए पनि नेता देखेपछि नमस्कार टक्रयाइहाल्ने ।

कस्तो अचम्म ! एक दिन एउटा विश्वास गर्नै गाह्रो पर्ने दृश्य देखियो । लौराबा मन्त्रीको फाटेको जुत्ता र तलुवा बोकेर यसरी हिँडिरहनुभएको थियो कि जसरी सडक विभाग असार महिनामा फाटेको सडक सिउन हतारिएर हिँडिरहेको हुन्थ्यो ।

प्रकाशित: जेष्ठ १९, २०७३
http://nepal.ekantipur.com/news/2016-06-01/20160601184109.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *