हिउँद पनि दर्दले गर्मीे उदासी अवस्था
बहाई सधैं रापमा चर्को रक्तको पसिना
दुनियाँ मौजी अघाई खाई चौरासी मिष्ठान्न
बाँच्नका लागि जहिल्यै पनि फुक्का नि हुन्न
रोटीको काल जिउँका तिउँ गरिब मर्दैछन्
दुःखःको पहाड कठिन गरी आँसुले तर्दैछन्
जहाँमा गए जतामा गए यठेष्ट रुपियाँ
मेरो त लागि ढुकुटी छैन खोष्टो छ खल्तीमा
पसिना सारा ठगले खायो म भएँ विचरा
संसार तिम्रै लुटको विश्व श्रमिक कमारा
बहाना हाम्रो घडीको चल्यो उमेर घट्दैछ
घुम्रिए कति महिना बाह्र आएर जाँदैछ
समय खोलो फर्किन्न हेर बहेको बह्यैछ
कतिमा बेला सुर्किने होला भोक र प्यास छ
गरिब भोको पेटले सधैं काममा जोत्दैछन्
कहिल्यै जोहो हुन्न नि हरे त्रसित सधैंछन्
कठीन काम निशेष धन पागल मन छ
यो ज्यान दिन बाँकी छ अब हेर्छु म के हुन्छ
संसार हाँक्ने यीे दैब पनि लाचार कति छन्
कत्तिका पिर्छन् यी दुःखी लाई जलाई मार्दछन्
अब त अति भयो नि हरे केही त गर हँ
सक्दछौ भने जीवन चक्र रोकेर देखा तँ
लय :– असारे (३+२=५) + (३+२=५) + (३+३=६) जम्मा १६ अक्षर
२०७३ साउन १४ शुक्रवार
विजु सुवेदी ‘विजय’
कुलेश्वर, काठमाडौँ
bijusubedi@gmail.com
