मानव कत्ति फरक हेर भेसक्यो लफङ्गा
जता नि हेर्यो त्यता नि देख्छु बेसर्मी ऊ नङ्गा
झगडा गर्ने लुटेर खाने ताण्डव जता नि
धर्मको भेष भ्रमको खेती पाखण्ड जता नि
चेला ऊ कहीँ भगवान् मान्ने हिन्दु पो बन्दछ
चेला ऊ कहीँ अल्लाह मान्ने मुस्लिम ठान्दछ
चेला ऊ कहीँ जिसस मान्ने इसाइ भन्दछ
यी सबै एक परमात्मा भन्दा लखेट्न थाल्दछ
गर्छन् जो धर्म उनैले थाल्छ दङ्गा र फसाद
कालो नै कालो तिनको मन पार्दछन् सन्त्रास
आफू नै धर्मी अरु त पापी कस्तो यो दर्शन
मिलेको कुरा बिगार्छन् हरे खलल अमन
कत्तिको घर उजाडे अनि बनाई सन्न्यासी
आमाको माया बाबाको माया छुटाई तर्साई
बर्बाद गर्यो धर्मले हरे नरक देखाई
यो जन्म हैन अरु नै भनी स्वर्गले लोभ्याई
संसार हेर हालत बिग्र्यो कस्तो यो बेहाल
भैसके सबै स्वार्थका धनी आफूनै विशाल
दैवको श्रेष्ठ रचना धत् छि कस्तो यो मानव
कति छन् भिन्न परन्तु तर भैसक्यो दानव
उही छ सूर्य प्रकाश दिन्छ उज्यालो पार्दछ
उही छ चन्द्र कलाले घुम्छ शित्तल पार्दछ
आकाश त्यही , धरती त्यही कहिल्यै जोडेन
तरल पानी , दन्किने आगो नियम तोडेन
लय :– असारे (३+२=५), (३+२=५) , (३+३=६)जम्मा १६ अक्षर
२०७३ साउन १६ आइतवार
विजु सुवेदी ‘विजय’
कुलेश्वर, काठमाण्डौँ
bijusubedi@gmail.com
