बा !
यहाँ सबै तपाईंजस्तै भैदिए
तपाईंले जन्माएका सन्तानहरू
तपाईंले जस्तै सपनाहरू देख्थे भने
पक्कै पनि यो देश शोकमा हुने थिएन
हुने थिएन सडकको जिन्दगी ।।
–
तपाईंले सोचेजस्तो सरकार भैदिए
आज तपाईंले नै छोडेर
जानू भएका विधवा आमाहरू
सडकमा उभिएको सालिक हेर्दै
रुने थिएनन् सिउँदो र देश सम्झेर
मुल फुट्ने थिएन आँखाबाट
बगाउने थिएन आफ्नै आँसुले जिन्दगी
ओइलिनु पर्ने थिएन लज्जावी फूल
फुङ्ग उड्ने थिएन नाङ्गो पहाड जसरी
यी साना केटाकेटीहरूको रङ्गीन सपनाहरू ।।
–
आकाशको भार थेग्न सक्ने छाती
सगरमाथालाई बोक्न सक्ने थाप्लो
माटोको रङ्गले रंगाउने जिन्दगी
खै कता हरायो / कस्ले खोसेर लग्यो
बचपनमै लाउरे सपनाहरू ?
–
मेरो बा
घरपरिवारको माया खुत्रुक्के मुटुमा राखेर
अलिकति मुस्कानको दुवो उमारेर
हिँडेका हुन् त्यतिबेला
देश बनाउने सपना बोकेर
जानुभएको थियो यो उकालै उकालो
पसिनाका रङ्गहरूले रङ्गाउँदै पाखाहरू ।।
–
तर फर्केनु भएन आजसम्म पनि घर
जाँदासँगै लिएर जानू भएछ आफ्नो छाया
मलाई आमाकै गर्भमा छाडेर
धेरैले सोधेका हुन् तेरो बा खोई ?
म धेरै पटक रोएको छु
आमाको मुस्कान हराएको अनुहार हेरेर
धेरै झरेका छन् आँखाबाट
हिरा जडित आँसुका ढिकाहरू
सायद यतिका वर्षसम्म थुपारेर राखेको भए
बन्ने थियो छो- रोल्पा हिमतालभन्दा पनि ठूलो
तर विलाएर गए
असिना जस्तै गरी मेरो सपनाहरू ।।
–
मलाई देख्नेहरू जति भनिदिन्छन्
मेरो अनुहार बा को जस्तै छ
म विश्वास कसरी गरौँ र भनुँ म बा जस्तै छु
मेरो आँखाहरू बादल भित्र लुकेका
जून तारा जस्तो छ
देख्न सक्दैन ऐनाबिना आफ्नै जिन्दगी
म अन्योलमा छु यतिबेला
मेरो अभागी निधार
मेरो जस्तो कि बा को जस्तो ?
–
आमा भन्नुहुन्छ
बाबू ! तेरो बा घर छाडेर जाँदा
यो घरको ढोका, झ्याल, टुँडाल सबसब
पुराना भएर पनि नयाँ थिए
अब त घरको छानो पनि हुरीले उडाइ लग्यो
घरका भित्ताभरि तेरो बाका
प्रत्येक औँलाको डाम थियो
अब त यी सबसब पुरियो घर भत्किएर
तँलाई त्यो तेरो बा हो भनेर
चिनाउने आधार केही छैन मसँग
मसँग भएको मेरै आँखा पनि गुमाइसकेको छु
हो बाबू ! अब त मसँग पनि
तेरो बा को स्पर्श मात्र बाँकी छ
छ न त तँसँग पनि छ तेरो बा को स्पर्श
तर तँलाई चिनाउनै पाइनँ
बाबू ! यदि म नै मरे भनेँ
अब कस्ले भनी देला
तेरो बा यही रामलाल हो भनेर ।।
****
विक्रम पवन
बेथान-४, रामेछाप
