Skip to content


बा !
यहाँ सबै तपाईंजस्तै भैदिए
तपाईंले जन्माएका सन्तानहरू
तपाईंले जस्तै सपनाहरू देख्थे भने
पक्कै पनि यो देश शोकमा हुने थिएन
हुने थिएन सडकको जिन्दगी ।।

तपाईंले सोचेजस्तो सरकार भैदिए
आज तपाईंले नै छोडेर
जानू भएका विधवा आमाहरू
सडकमा उभिएको सालिक हेर्दै
रुने थिएनन् सिउँदो र देश सम्झेर
मुल फुट्ने थिएन आँखाबाट
बगाउने थिएन आफ्नै आँसुले जिन्दगी
ओइलिनु पर्ने थिएन लज्जावी फूल
फुङ्ग उड्ने थिएन नाङ्गो पहाड जसरी
यी साना केटाकेटीहरूको रङ्गीन सपनाहरू ।।

आकाशको भार थेग्न सक्ने छाती
सगरमाथालाई बोक्न सक्ने थाप्लो
माटोको रङ्गले रंगाउने जिन्दगी
खै कता हरायो / कस्ले खोसेर लग्यो
बचपनमै लाउरे सपनाहरू ?

मेरो बा
घरपरिवारको माया खुत्रुक्के मुटुमा राखेर
अलिकति मुस्कानको दुवो उमारेर
हिँडेका हुन् त्यतिबेला
देश बनाउने सपना बोकेर
जानुभएको थियो यो उकालै उकालो
पसिनाका रङ्गहरूले रङ्गाउँदै पाखाहरू ।।

तर फर्केनु भएन आजसम्म पनि घर
जाँदासँगै लिएर जानू भएछ आफ्नो छाया
मलाई आमाकै गर्भमा छाडेर
धेरैले सोधेका हुन् तेरो बा खोई ?
म धेरै पटक रोएको छु
आमाको मुस्कान हराएको अनुहार हेरेर
धेरै झरेका छन् आँखाबाट
हिरा जडित आँसुका ढिकाहरू
सायद यतिका वर्षसम्म थुपारेर राखेको भए
बन्ने थियो छो- रोल्पा हिमतालभन्दा पनि ठूलो
तर विलाएर गए
असिना जस्तै गरी मेरो सपनाहरू ।।

मलाई देख्नेहरू जति भनिदिन्छन्
मेरो अनुहार बा को जस्तै छ
म विश्वास कसरी गरौँ र भनुँ म बा जस्तै छु
मेरो आँखाहरू बादल भित्र लुकेका
जून तारा जस्तो छ
देख्न सक्दैन ऐनाबिना आफ्नै जिन्दगी
म अन्योलमा छु यतिबेला
मेरो अभागी निधार
मेरो जस्तो कि बा को जस्तो ?

आमा भन्नुहुन्छ
बाबू ! तेरो बा घर छाडेर जाँदा
यो घरको ढोका, झ्याल, टुँडाल सबसब
पुराना भएर पनि नयाँ थिए
अब त घरको छानो पनि हुरीले उडाइ लग्यो
घरका भित्ताभरि तेरो बाका
प्रत्येक औँलाको डाम थियो
अब त यी सबसब पुरियो घर भत्किएर
तँलाई त्यो तेरो बा हो भनेर
चिनाउने आधार केही छैन मसँग
मसँग भएको मेरै आँखा पनि गुमाइसकेको छु
हो बाबू ! अब त मसँग पनि
तेरो बा को स्पर्श मात्र बाँकी छ
छ न त तँसँग पनि छ तेरो बा को स्पर्श
तर तँलाई चिनाउनै पाइनँ
बाबू ! यदि म नै मरे भनेँ
अब कस्ले भनी देला
तेरो बा यही रामलाल हो भनेर ।।
****
विक्रम पवन
बेथान-४, रामेछाप

Leave a Reply

Your email address will not be published. Required fields are marked *