केटाकेटी छँदा चिचिला लागे देखि नै मेरो बास लौसि, अंबा लगायत फलफुलका रुखमुनी हुन्थ्यो । लाठोको प्रहारले चिचिलाभन्दा बढी पात र हाँगाहरू झर्थे । दुई चार दाना यसो टोक्ने प्रयास गर्यो मिल्कायो । आज म आफै रुख भएको छु । तर फलफुल फल्ने रुख नभएर लेज, किण्डर जोई, क्याडबरी लगायतका थुफ्रै जंकफुडहरू फल्ने रुख । हिजो शनिबार । बिहान उठे देखि साँझ नपरेसम्म छोरीले आठ दश पटक प्रहार गरी र पाँच छ पटक आफ्ना आवश्यकताका बस्तु झार्न सफल पनि भई ।
“हिजोको डेटिङ त लास्टै बबाल भयो नि दाइ ।” सौगात केही परबाट बोल्दै आएर अगाडिको कुर्सीमा बस्यो ।
“तर आधा महिनाको तलब भने झ्वा म ।” मैले बनावटी प्रसन्नता व्यक्त गर्दै खाने मुख तन्काएर उस्को अनुहार पढ्ने कोसिश गरे । महिनाको पहिलो शनिबार नै आधा तलब एकै दिन सक्काएको उसको अनुहारमा चिन्ताको सट्टा विजय भाव देखिन्थ्यो ।
“अब प्रञ्जिलाले फ्याट्ट मानी भने कसरी मेनेज गर्छौ सौगात ?” प्रश्न पुरा गरी नसक्दै आफ्नो मध्यम वर्गीय खिच्चो मानसिकता प्रति ग्लानि महसुस गरेँ । मैले उसलाई प्रश्न गर्नु अघि याद गर्नु जरुरी थियो कि ऊ एक उच्च वर्गीय परिवारको एक मात्र छोरो हो । घर चलाउने त के उसको निजी खर्चको पुरा हिस्सा पनि हुदैन उसको तलब । यस बैकको ब्रान्च मेनेजरकोभन्दा धेरै खर्चिलो छ उसको जीवन शैली । नजरमा आएका प्रत्येक राम्री र हटसँग डेट जाने एक मात्र उस्को लक्ष । उस्को घर पनि आर्थिक रुपमा आफै सक्षम र स्वतन्त्र छ ।
“प्रञ्जिलाले मानी भने त दाइ यो चेन बेचेर भए पनि मेनेज गर्छु ।” घाँटीको मोटो सिक्रि देखाउदै सन्किएर गयो । मलाई हिनताबोध भयो । छोरीका लागि दुई सय खर्च गरेपछि दुई घण्टा टोलाउने काठमाण्डौ बासी मध्यम वर्गीय मान्छे म, मेरो घरकीको नाक कान बुच्चै पारेर फुली समेत गाले पनि त्यत्रो सिक्रि बनाउन सक्दिन ।
अफिस छुटेर डेरा पुग्दा प्राय सधैं अँध्यारो भै सक्छ । भित्र छिर्न लाग्दा मुल ढोकैमा लाले दाइकी बुढी भेटिइन् । कुनै प्रतियोगिता जितेपश्चात झुण्डिएको तक्मा झै उनको छातीमा नयाँ जन्तर टाँगिएको थियो ।
“ओहो भाउजू ! सुन किन्नु भएछ ।” काई परेका पँहेला दाँत देखाउदै भाउजू ङिच्च हाँसिन् ।
“अैले सुन सस्तो भा बेलाँ जोड्या नि बाउ ।” सुनको भाउ घट्दा मलाई लुतो न कन्याई । बरु लसुनको भाउ घटे केही राहत हुन्थ्यो ।
लाले दाइ तिनै पात्र हुन् जो गाउँमा छँदा एक पेट खान नपुगेर बाध्यताले शहर पसेका थिए । अहिले नारनथानको भिआइपी एरियामा घडेरी किनिसके । शहर निकै फापेको छ उनलाई । काम उति गाह्रो नभए पनि आजसम्म प्रतिस्पर्धा महसुस गर्नु परेको छैन लाले दाइले । प्राय वर्गीकृतमा उनको बिज्ञापन टुट्दैन, “ढल, मंगाल, ट्वाईलेट जाम भएमा…..।” लाले दाइका लागि अरब मुलुकभन्दा कम छैन काठमाण्डौ । खास गरी टालिएका शौचालय खुलाउने काम गर्छन् लालेदाइ ।
‘काम सानो ठुलो कहिल्यै हुदैन । दिशा पिसाब नचलाउने को छ र ? फरक यत्ति हो अरु आफ्ना मात्र चलाँउछन्, म अरुको पनि चलाउछु…….. ’ उच्च विचारका धनी लाले दाइलाई विदेश भासिनुभन्दा मलमुत्रको ढल भित्र पसेर काम गर्नु धेरै जाती लाग्छ । त्यसैले बीच सडकमा मंगाल भित्र डुबेर काम गरिरहेको पनि भेटिन्छ कहिले काहीँ । हुर्कदै गएका लाले दाइका सन्तानहरू भने उनको पेशाको बैरी बन्न थालेका छन् । साथीसंगीका अगाडि बाउले इज्जत फाले भनेर गन गन गर्छन् । एक पल्ट शौचालय खुलाउने क्रममा आफूले एक तर्फी मन पराएकी केटीका घरमा पुगेको भन्दै ढल खोल्दा प्रयोग गर्ने खन्ती लिएर झम्टिसकेको छ छोरोले । कहिले काहीँ हामी ब्यङ्गात्मक पारामा जिस्किन्छौ, “कुन दिनबाट लालेदाइ कार चढेर ट्वाईलेट खोल्न जान्छन्, हामी भने….।”
भित्र पस्न पाएको छैन, घरबेटी पच्छ्याउँदै भाडा लिन आइसकेछ । मन्छिएर पठाएँ । द्ुई चार आना गर्दै टुक्रिएको आफनो जमिनमा बास गाडेकाहरू र म जस्तो डेराबासीलाई देखाउदै चार पाङ्ग्रेमा हुइँकिनु मै मख्ख छ मेरो घरबेटी । पैत्रिक सम्पत्तीलाई कित्ताकाट गरेर आफ्नो आर्थिक हैसियत उकासिएको सम्झिन्छ । वास्तबमा बिषम परिस्थिति आई परेमा जीवन जिउने कला नै छैन यो काँठेसँग । लालेदाइ र यो घरबेटी बीच आर्थिक असमानताको दूरी घट्दो छ । काठमाण्डौमा सबैभन्दा महंगो भनेको श्रम हो । श्रमजीवी लालेदाइको मानसिक स्तर उकासिन नसके पनि आर्थिक स्तर भने फष्टाइरहेको छ । सुकिलो लगाएर गाडि चढ्नु र सफलता फरक फरक कुरा हुन् भन्ने बुझ्न चाँहदैन मेरो घरबेटी । मलाई लालेदाइ जस्तो स्वाभिमानी सँघ आफूलाई उभ्याउने लालसा सधैं रहिरह्यो तर दयाको पात्र परजीवि काँठे घरबेटीसँघ कहिल्यै ईष्र्या भएन । तैपनि उच्च वर्ग र निम्न वर्गको बीचमा चेपिएरै सिध्यिने भयो म जस्तो मध्यम वर्ग । म पढेलेखेको मान्छे न त लाले दाइले जस्तो तल्लो स्तरको काम नै गर्न सक्छु न त भ्यागुतो उफ्राईले सौगातको जस्तो आथिर्क हैसियत हाँसिल गर्न नै सक्छु । डिभि भर्दा भर्दा थाकेर अहिले क्यानडाको पिआरको प्रकृया सुरु गरेको छु ।
भित्र पस्दा छोरी सधैं निदाउन खोजी सक्छे । निदाउन खोजेकी छोरीलाई चङ्गा बनाएर गृहकार्य सुरु गर्छु । स्कुलले दिएको गृहकार्य पैसट्ठी प्रतिशत मेरै लागि हुन् भन्ने राम्रोसँग बुझेको छु मैले । उच्च शिक्षा हाँसिल गरेको करिब दशक पछि पूर्व प्राथमिक तहको शिक्षाका लागि फेरि घोटिइदै छु । स्कुलमै ट्युसन राखेर गृहकार्य गराउन सकिने व्यगवस्था नभएको होइन । तर कमिलालाई मूतको पैरो भने जस्तो मासिक शुल्कको जोहो गर्न नै हम्मे पर्ने मेरा लागि ट्युसनको थप भार बहन गर्ने कुरा कोरा कल्पना मात्र हो । लाले दाइको छोरो समाजसेवी उत्तम सञ्जेलद्वारा सञ्चालित समता स्कुलमा मासिक सय रुपैया तिरेर बाह्र कक्षामा पढ्छ । प्रत्येक वर्षको नतिजा हेर्दा मैले छोरी पढाउने स्कुलभन्दा कम छैन समता । तर निम्न वर्गका विद्यार्थीका लागि खोलिएको समता स्कुलमा छोरी पढाएर आफ्नो स्तर अवनति गर्न मेरो अह्मले दिँदैन । घरभाडा, खाना खर्च, छोरीका स्कुल सम्बन्धी खर्चहरू, लुगाफाटा लगायतका नियमित खर्चहरू कै भार बहन क्षमता नभएको मेरो सानो परिवारलाई औषधी उपचार जस्ता अप्रत्यासित खर्चहरूले बेला बेलामा मर्माहत बनाउँछ । त्यति बेला मलहम लागाउन आई पुग्छन् उनै लाले दाइ । लालेदाइको कामलाई हेय दृष्टिले हेर्ने म त्यही कामको आर्जनबाट संरक्षित गर्छु । तर क्यानडाको पिआर पाएँ भने म पनि त लाले दाइ नै बन्ने त होला नि ! “क्यानडाको लालेदाइ ।”
आजभोलि काठमाण्डौमा हुने खाने भनेका निम्न र उच्च वर्गका मानिसहरू हुन्, मध्यम वर्ग चाहिं हुँदा खाने मात्र हुन् । तर पनि खानका लागि नबाँचेर बाँच्नका लागि खानु पर्छ भन्ने आदर्श भने बनएको छु मैले । तर यो आर्दश स्याललाई अंगुर अमिलो भए जस्तो मात्र पनि हुन सक्छ । लालेदाइले जस्तो सधैं मासु भात त खाको खाई हो दुई जनाले गरेर मुस्किलले तिस हजार कमाउने म जस्तो काठमाण्डौ बासी मध्यम वर्गीय परिवारले । त्यसैले लालेदाइको भान्छाबाट आएको मासुको बास्ना नसकिदै हतार हतार मुन्टाको झोल र भात खाएर सुत्छौ ।
प्रमोद प्याकुरेल
जोरपाटी, काठमाण्डौ
९८४१४४६२३३
छ्योर्तेन राष्ट्रिय मासिक बर्ष १२, पुर्णाङ्क १२६ मंसिर २०७३
2016-08-06 12:43:18 +0000
