रामेछापमा जन्मेर रामेछाप मै आफ्नो कर्मक्षेत्र बनाएर कविता लेख्ने अँझ त्यसमा पनि झ्याउरे छन्दमा कविता लेख्ने कविहरूमा उद्धव आचार्य अविचलको नाम अघिल्लो लहरमा आउँछ । यिनले विगत्मा कक्षा ८ अध्ययन गर्दाताका नै मन्थली उमाविमा सम्पन्न भएका विभिन्न कविता प्रतियोगिताहरूमा उच्च र अब्बल स्थान ल्याएर कवितात्मक ह्याट्रिक हानिसकेका हुन् । सो क्रमलाई अविचल गतिमा अघि बढाउँदै अविचलले यतिखेरसम्म हाम्रासामु तीनवटा काव्यहरू पस्किसकेका छन् । यही परिप्रेक्ष्यमा उनको काव्यगत् चिनारीको मेसोको उद्घाटन गर्न खोजिएको हो । यो क्रम भविष्यका दिनहरूमा पनि क्रमिक रुपले जारी रहनेछ ।
संसारको निर्माणकर्ता कवि हो । उत्ताल तरङ्ले चित्रण गर्ने कविर्मनिषिहरू ज्गत्का अन्तरकुन्तरमा नभएका भए यो संसार यति राम्रोसँग खिल्खिलाउने थिएन । फक्रने र सुगन्ध छर्ने थिएन ।
कवि नियन्ता मात्र होइन अभियन्ता समेत हो । कवि सिर्जनागर्ने व्यक्ति मात्र होइन समन्वय गर्ने व्यक्ति पनि हो । मैले कवितालाई सभ्यता र संस्कृतिको नमन गर्दै जीवन सत्यलाई परमानन्दका रूपमा आराधना गर्ने व्यक्तिका रूपमा कविलाई देखेको छु । लिएको छु । सन्धान गरेको छु ।
संसारका कालजयी काव्यिक सिर्जनाले सो व्यक्त्याएको छ । समूल रुपमा मानवलाई उच्च मानवीय थेरापीको ओखती नै साहित्य हो । अँझ कवितारुपि एन्टी बायोटिक ट्याबलेट हो । आफ्ना अभिमत र तर्कलाई पुष्टि गर्नका लागि संसारका नामी कविद्वारा रचित कविता शक्ति कै सहारा लिन सकिन्छ ।
कवि विश्व ग्रामको नागरिक हो । उसको जात, देश, राष्ट्रियता, धर्म र स्थानीय आवरणमा परिचय हुँदैन । कविताले सम्बोधन गर्न नसकेका सन्दर्भ भवसागरमै पाइँदैनन् । कविताका मिसिलमा मैले कवि उद्धव अविचलका ‘विदेशी भूमिमा’, ‘डोरीको पासो’ र ‘मन्थली’ काव्यका बारेमा समानान्तर तवरले लेखेको छु । विदेशी भूमिमा यिनको सिकारु अवस्थाको काव्य थियो जसले आफ्नो देशबाट पारिवारिक दानापानीका लागि विदेश जाने युवाहरूका कथालाई कवितालाई कवितात्मक रुप दिएका थिए । त्यसैगरी यो मन्थली नामक शैक्षिक संस्थाको ऐतिहासिक र वर्तमान वर्णनात्मक विषयवस्तु भएको परिचयात्मक काव्यमा पनि भूमिकाकै तहमा केही प्राक्कथनहरू लेखेको थिएँ । त्यसपछि आयो यिनको डोरीको पासो जहाँ यिनले आफ्नी ममतामयी आमाका बारेमा भएको अप्रत्यासित र दुःखद् निधनाका बारेमा काव्यात्मक दुखानुभूति कवितात्मक शैलीमा कथेका थिए ।
—
कविले चेतनाको चरू हवन गर्ने गर्छ । कवि कल्पनाको किल्लोरी समातेर फूलहरूको साम्राज्यका नाकानाका चहार्ने गर्छ । अनि गर्छ कवि प्रेमको पहरेदारी र समाजको सत्य निरुपण ।
कवि यो संसारको सार हो । कवि यो संसारको बहार हो । अनि हो संसाररूपि भवसागरको नौका जो नित्यनवीन शनैःशनैः बहाइरहन्छ कल्पनाको समुद्रमा भोगाइ र यथार्थका बहनाले ।
मैले नेपाली साहित्यका आदिकवि भनिएका भानुभक्त आचार्य र आदिकवि नभनिएका कवि सुवानन्द दासदेखि अहिले यो सानो भूमिका लेखिएका युवाकवि तथा खण्डकाव्यकार उद्धवप्रसाद आचार्य अविचलसम्मका कवितालाई हेर्दा के थाहापत्तो पाएँ भने कविहरूले कि त आफ्नो स्वान्त सुखायलाई लिएर कविता लेख्दा रहेछन् कि त अरूको परहितायलाई लिएर कविता लेख्दा रहेछन् ।
ज्ञानी, ध्यानी, जपी र तपी सबै प्रकारका मानिसहरूको मनषा, वाचा र कर्मणा भनेकै मानवात्माको सम्पूर्ण दुःखको मोक्ष हो । यो संसारका सबै मानिसको मूलभूत ध्येय भनेको आनन्दको खोजी हो । अँझ भनौ परमानन्दको खोजी हो । कोही भौतिक सुखबाट त्यसको खोजी गर्दछन् भने कोही अध्यात्म सुखबाट । जे होस् बाटो फरक भए पनि प्राप्तिको चिज एउटै हुन्छ । त्यो हो विषय । सत्यबाट विषयको समिप पुग्न सकिन्छ । विषयको समिप पुगेपछि ज्ञानको ज्योतिले हृदय पक्षलाई उज्यालो बनाएको प्रतित हुन्छ ।
यो सबैलाई हुँदैन । जसलाई हुन्छ त्यो ज्ञानी हो ।
सन्दर्भ, के छ भने जो ज्ञानी छ ऊ नै आनन्दको खोजी गर्छ । जसमा अज्ञान छ ज्ञानको ऊ खोजीनीति गर्दैन । जो आनन्दको खोजी गर्दैन । त्यो माटो हो । निर्जीव हो । माटो र निर्जीवमा न त कुनै प्रकारको जीवन हुन्छ न कुनै संवेदना ।
उद्धवले एकपटक फेरि यहाँ ‘मन्थली’ नामक काव्यमा संवेदना खन्याएका छन् । झ्याउरे शैलीमा । आफ्नो विगतातित समयको लेखाजोखा गरेका छन् । अनि गरेका छन् भावनाको फोटोग्राफी अति मिहीन शैलीमा । कविता भावनामा बाँच्छ । त्यो कविलाई थाहा हुन्छ । उद्धवमा अब्बल कविमा हुने गुणहरू क्रमशः विकसित हुँदै गएको पाएको छु – मैले ।
आफू हुर्किएको स्थान विशेषका नाममा अनेकौं कविताहरू रचिएका छन् –संसारमा अनि नेपालीमा पनि । ‘जन्मभूमि र जन्मिएको स्थान स्वर्गभन्दा पनि प्यारा हुन्छन्’ भनी रामायणमा लेखिएको छ । हो, अब मानिसले यो ग्लोबलाइजेसनको जमानामा आफ्नो स्थान विशेषलाई मात्र हेरेर हुँदैन । संसारलाई वैश्विक मायाममता खन्याउन सक्नुपर्छ । तर पनि आफ्नो हरेक चिज भनेको आफ्नै हुन्छ । त्यही भएर कवि उद्धवले यो ‘मन्थली’ नामक परिचयात्मक खण्डकाव्यमा यति तरल भाव द्रवित भएर पोखेका छन् । मानौ ठूलो साँझमा आस्थाको साँझ बत्ती बालेर हतारहतार पवित्र जल अभिषेक गरिन्छ –त्यो दीपशिखामा । उनको युवाकाल बितेको मन्थली उमावि र क्याम्पस उनका लागि साँच्चिकै दीपशिखा हो जो आफू बलेर उद्धवहरूजस्ताको पथप्रर्दशन गर्ने गर्छ ।
यो काव्य उनको आफ्नो संस्थाप्रतिको असीम भावोद्गार हो ।
उनका कवित्वका बारेमा राम्रा र सुधार गर्नु पर्ने पक्षका बारेमा खुट्याएको छु । हौसला र प्रेरणा दिएको छु । नेपाली खण्डकाव्य साहित्यमा उनको नवोदित र नवीन यात्रालाई चरैवेती चरैवेती समेत भनेको छु ।
मैले नवोदित कवि भाइ उद्धवप्रति धेरै भनेको छु । विस्तारमा लेखेको छु । विगत्मा पनि धेरै लेखेको छु । ऐन मौकामा फेरि पनि भन्ने र लेख्ने वाचाका साथ आजलाई यति भन्न चाहन्छु । उनको लेखन यात्राले अँझ गतिलोसँग मूल बाटो पक्रियोस् अनि त्यो फूलहरूको राजा गुलाफझैँ स्वच्छन्द भएर नेपाली वागमा अटल भएर फक्रियोस् ।
मध्यम आकार र आवरणको ‘मन्थली’ परिचयात्मक काव्य सफल त बनेकै हो । यो भविष्यका पुस्ताका लागि आफ्नो अध्ययन स्थललाई नमन गर्ने नूतन शैली बनोस् ।
शुभकामना छ, कवि उद्धव अविचललाई ।
पेशल आचार्य
उपप्राध्यापक, नेपाली
मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस ।
