“सिङ्गापुरे लाहुरेनी म”
मैले मेरो सिरमा
सिरफूल झलल बोकेर हिंडे भने
मेरो श्रीमानको ताराहरु खस्न सक्छन्
हो म त्यै भूगोलमा बाँचेकी
जून बिनाकी नारी हुँ
मैले मेरो जिऊ
मेख्लीले पुरै छोपेर हिंडे भने
मेरो श्रीमानको बर्दी खस्न सक्छ
हो त्यै भएर त म
दिनहुँ दिनहुँ नाङ्गिरहेकी छु
र सबैले हेरिरहेछन
अलिकती कुहिरोले छोपेको
मेरो दुई टाकुरा
मैले मुस्कुराउँदा पनि
चोइटिन्छ मेरो श्रीमानको फक्ताङ्लुङ
तर पनि ऊ हाम्रै निम्ती हाँसिरहन्छ
मुकुम्लुङले छेकेको एउटा अधुरो मुस्कान
मलाई तीर्खा लाग्दाखेरी
आफू भित्रको संलो मैवा खोला सुकाएर
मेरै श्रीमानको रगत र पसिनाले
मेटि रहेकी छु किनाराको प्यास
र घटाइ रहेकी छु
माछापोखरीको गहिर्याइ
तमोरको गतिशिल छालहरू सम्झिंदै
सेक्मुरी फूल फुलाउने सपना बोकेर
यो बिरानो देशमा
म पछ्याइ रहेकी छु
राम्द्वाली भीरको साँघुरो ढुङ्गे गोरेटोहरु
यसरी
आफ्नै सिरमा जून लुकाएर
म कहिलेसम्म बाँच्नु ?
मेख्लीहरु सोकेशमा सजाएर
के म अझै नाङ्गिरहुँ ?
मैले प्यास मेट्नको निम्ति
माछापोखरीको गहिर्याइ
कहिलेसम्म घटाइ रहुँ ?
अनी मुस्कुराउँदा कहिलेसम्म चोइट्याइ रहनु
मैले आफ्नै श्रीमानको फक्ताङ्लुङ ?
यथार्थहरु चोइटिंदा
बिरुप बनेको सपनाहरु संगालेर
म कतिञ्जेल हिंडिरहरनु यहाँ
राम्द्वाली भीरको साँघुरो ढुङ्गे गोरेटो ?
लुलो लहरामा घोचा बेरिए झैं
म कहिलेसम्म हल्लिरहुँ जिन्दगीको लिङ्गे पिङमा !
अब मैले नमच्चाए,
कसले मच्चाउँछ त दोहोरी जिन्दगीको लिंगे पिङ !
चाँगे : ५, नेसुम, ताप्लेजुङ्
हाल : सिंगापुर
