Skip to content

भागेर भूगोलभरि


भागेर भूगोलभरि
जति नै युगहरू चपाएर निले पनि
चारोको खोजीमा सुदुर उडेको चरा
आफ्नै गुँडमा फर्किए झैं
एकदिन म पनि
मेरो गाउँ फर्किनु पर्छ
मेरो शहर फर्किनु पर्छ

म मेरो शहरमा पुगेको दिन
म मेरो गाउँमा पुगेको साँझ
आफ्नै गाउँ र शहरले
तिमी को हौ ? भनेर नसोधोस्
अनि मैले दिनु नपरोस् मेरो परीचय

मैले हिंडेको गोरेटो र गल्लीहरूले
कहाँ जाने हो परदेशी ? भन्दै
नसोधोस् मेरो गन्तव्य

थकाइ मार्न बस्दा
पाटीपौवा चौतारी र फलैंचाहरूले
नगरोस् मलाई सुराकीको आशंका

यो परदेशमा
जति नै युगहरू चपाएर निले पनि
मेरो निम्ति त्यै अलिकति चारो मात्र हो
त्यै चारो च्यापेर
एकदिन म
मेरो गाउँ फर्किनु पर्छ
मेरो शहर फर्किनु पर्छ

चाँगे : ५, नेसुम, ताप्लेजुङ्
हाल : सिंगापुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *