भूकम्पले चर्काएको मेरो माइती घर
अनि भत्काएको डाँडैको चौतारी
घाइते बनाएका मेरा इष्टमित्र
संगी साथी
संघीयताको नाममा मृ्त्युवरण गरेका
आफन्तजन
सबैको याद दिलाउँदै
आयो त्यो तीज
माइती घर मर्मत भैसकेकै छैन
पाल र पानीको तालबाट छुट्कारा
पाइसके कै छैन
हिजोसम्म राहतको लागि हात
पसार्दै हुनुहुन्थ्यो आमा
चौतारी बनाउन ढुङ्गा बटुल्दै
हुनुहुन्थ्यो बा
सानो भाइको वियोगमा छट्पट्याउँदै
थिई मेरी साथी
मधेश आन्दोलनमा ज्यान गुमाएका
काकाको यादमा रुँदै थिइन् काकी
यी सबको व्यथा छैन आजको तीजमा
नत कथा नै छ कुनै गीतमा
कुनैलाई पोइला जान पर्यो अरे
कुनैलाई साहुकी छोरी पछि
आइ अरे
हाम्रो तीज हाम्रो संस्कृति भन्नेहरूले
विकृति भित्राएको देख्दा
रुँदै भन्न मन लाग्छ
भयो तीज नआइज अब
तर अँझै छ साहस
त्यसैले भन्छु,
आमा म आउँछु अब माइती
हातमा सीप लिएर आउँछु
पाखुरीमा बल
र
हिम्मत लिएर आउँछु
अनि खन्नेछु बाँझो फलाउनेछु अन्न
पसार्न पर्ने छैन हात वैरीकासामु
उठाउनेछु ढुङ्गा चिनाउनेछु चौतारी
र
ठोक्नेछु मादल जगाउनेछु दुनियाँ
गाउँने छु गीत अत्याचारको
ब्यूँझाउने छु पीडित
दिलाउने छु अधिकार
र भन्ने छु
तीज फेरि
आइज अत्याचारका विरुद्ध
आवाज लिएर ।
