Skip to content


भूकम्पले चर्काएको मेरो माइती घर
अनि भत्काएको डाँडैको चौतारी
घाइते बनाएका मेरा इष्टमित्र
संगी साथी
संघीयताको नाममा मृ्त्युवरण गरेका
आफन्तजन
सबैको याद दिलाउँदै
आयो त्यो तीज
माइती घर मर्मत भैसकेकै छैन
पाल र पानीको तालबाट छुट्कारा
पाइसके कै छैन
हिजोसम्म राहतको लागि हात
पसार्दै हुनुहुन्थ्यो आमा
चौतारी बनाउन ढुङ्गा बटुल्दै
हुनुहुन्थ्यो बा
सानो भाइको वियोगमा छट्पट्याउँदै
थिई मेरी साथी
मधेश आन्दोलनमा ज्यान गुमाएका
काकाको यादमा रुँदै थिइन् काकी
यी सबको व्यथा छैन आजको तीजमा
नत कथा नै छ कुनै गीतमा
कुनैलाई पोइला जान पर्यो अरे
कुनैलाई साहुकी छोरी पछि
आइ अरे
हाम्रो तीज हाम्रो संस्कृति भन्नेहरूले
विकृति भित्राएको देख्दा
रुँदै भन्न मन लाग्छ
भयो तीज नआइज अब
तर अँझै छ साहस
त्यसैले भन्छु,
आमा म आउँछु अब माइती
हातमा सीप लिएर आउँछु
पाखुरीमा बल

हिम्मत लिएर आउँछु
अनि खन्नेछु बाँझो फलाउनेछु अन्न
पसार्न पर्ने छैन हात वैरीकासामु
उठाउनेछु ढुङ्गा चिनाउनेछु चौतारी

ठोक्नेछु मादल जगाउनेछु दुनियाँ
गाउँने छु गीत अत्याचारको
ब्यूँझाउने छु पीडित
दिलाउने छु अधिकार
र भन्ने छु
तीज फेरि
आइज अत्याचारका विरुद्ध
आवाज लिएर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *