सानै छँदा आमाको परलोकपश्चात टाक्सेको लाम्टो चुसाएर बजैले हुर्काको मलाई । सात आठ वर्षको हुँदा बजै मेरो टाउकोको लिखालाई ठुँग हान्दै सम्झाउँदै भन्नुहुन्थ्यो, “चमेरेपारीको सखुवाको रूखमा झुल्के घाम, मध्यनी र अस्ताउदो घाममा कहिल्यै नजानु ।”
“किन हजुर आमा ?”म स्पष्ट हुन खोज्थेँ ।
उहाँ मलिम स्वरले पर्गेल्नु हुन्थयो “उहिलेनै मामलो हिडेकी पन्ध्र वर्षकी दिदी र आठ वर्षकी बहिनी त्यही रूखमा आइपुग्दा झमक्कै साँझ परेछ र त्यहीँ बास बसेछन् । आगो बाल्न थैलीबाट झुलो चक्मक निकाल्न खोज्दा चक्मक घरमै छोडेको रैछन् रे । दिदी पीर मान्न थालिछे । तर दिदीलाई अँगालो मार्दै बहिनीले भनिछे, “रात काट्न तपाई र म साच्चीकै हारजीतको झ्याउरे गीतमा जुहाडी खेलौं, पालै पालो नाचौं ।”
“किन र सानी?” दिदी छक्क पर्दै सोध्छे ।
“त्यसो गर्दा डर लाग्दैन, निद्रा लाग्दैन । अनि केही घोँचा र झटारो काटेर राखौँ ।”
बहिनीले भने झैँ गरी दिदीले पनि ।
रात छिपियो । दिदीबहिनीको स्वर वनको सुन्य परिवेशलाई झक्झकाउदै गुँञ्जिन थाल्यो । मध्येजंगलबाट आइरहेको कोकिल स्वरलाई धेरैले तर्साको भने ।
तर मध्ये राततिर खुट्टा नभएको निशाचर आएर भनेछ “दिदी खाम कि बहिनी खाम?”
त्यसलाई घोँचाले कुटेरै भगाएछन् ।
फेरि धेरै खुट्टा भएको जीव आएर भनेछ, “हामी तिमीहरूलाई खान्छौं ।”
तिनीहरूलाई झटारो हान्दै खेदेछन् ।
दिदीबहिनी गीत गाउँदा, नाच्दा र निशाचरसँग लड्डी गर्दा फतकै गलेर सुस्ताको मात्रै थिए दुईखूट्टे जनावर आएर भन्यो, “ए केटी हो, दुइटीमा एउटी खान्छु । भन को तयार छौ?”
दिदीबहिनी दुई खुट्टेसँग जुधे । तर हारेर बहिनीले भनिछे, “मलाई खाऊ मेरो मासु कमुलो छ, दिदी छिपिए कि हड्डि मात्रै छिन् ।”
“बहिनीलाई होइन मलाई खाओ,” भनी दिदीले ।
तर बहिनीले मलाई खाऊ भन्दै अघि लागी । दिदी रुन थाली बहिनीको मायाले । खोला छेऊमा पुगेर दुई खुट्टेले बहिनीलाई भन्यो “अब तलाई खान्छु ।”
“पहिले मलाई कुनै पनि विषयको तर्कमा हराएर खानु अँझै स्वादिष्ट हुन्छु,” बहिनीले सर्त राखी ।
मान्यो दुई खुट्टेले पनि प्रस्तावलाई, केटाकटी सोचेर । तर्क गर्दा गर्दै उज्यालो भएपछि दुई खुट्टे हारेर भाग्यो । बहिनी दिदी भाठाँ आउदा दिदी थिइन । मामाको घर पनि थिएन । घर पनि पुगेन । सबैले लखाएछन् त्यही रूखबाट तस्करले लग्यो । त्यही दिदी छ्यास्छ्यास्सी छ रे ।
अनि म त्यही हजुरआमाको तर्साउने रूखतिर गइन किश्वोर अवस्था नकटुन्जेल । आज त्यही रूखको फेंदमा बसेर यो कथा लेखिरहेको छु, गाह्रुँगो मन लिएर ।
टंकबहादुर आलेमगर
२०७३ भदौ ०५
