Skip to content


भोटो कछाड लगाएर,
बाङ्गो लठ्ठी टेकी ।
तल माथि हिंडिराछन,
मैले जान्दादेखि ।
मैलो झोला काँधमाथि,
भिरी हिड्ने धन्दा ।
जजमानको ख्याल राख्छन,
सधैँ आफ्नु भन्दा ।

झोलाभित्र थोत्रो किताब,
चस्मा राख्ने भाँडो ।
चौरासीको उमेर भयो,
हिड्छन कति चाडो ।
सास बढोस् खुट्टा गलोस्,
मतलब केही छैन ।
चप्पल लगाई हिडी राछन,
जुत्ता चाहिंदैन ।

जजमानको घरमा गई,
कर्म काण्ड गर्दा ।
सबैभन्दा खुशी हुन्छन,
भैँमा रेखी छर्दा ।
सिदा सर्दाम पोको पारी,
घरतिर फिर्दा ।
अँझ बढी खुशी हुन्छन,
घर भित्र छिर्दा ।

तिथि सराद कण्ठै हुन्छ,
कस्को घरमा कहिले ।
बुढाबुढी घरमा

बसी,
हिसाब गर्छन अहिले ।
खानु पर्ने मिठो चोखो,
तर्कारी र खीर ।
एक दिन फुर्सद मिल्यो भने,
मान्छन सारै पिर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *