Skip to content

भाषा शुद्धी अभियान


सर ! हामी भाषा शुद्धी अभियानमा चेतना जगाइरहेका छौं । सरलाई हामीले पहिले पनि थुप्रै सुझाव दिएका थियौं तर हामीलाई योभन्दा दुःख लाग्छ कि सरले एउटा कमा पनि एताको उता चेन्ज गर्नु भएन ।

भाइले भन्नुभएको ठिक थिएन, त्यसैले मैले एउटा डिको पनि परिवर्तन गरिन । जस्तो कि बिनामेहनत लेख्दा यसरी नै लेखिन्छ । बिना र मेहनत छुट्याएर लेखिन्न । मान्छेहरूलाई अरुलाई ठिक छैन भनेर प्रतिक्रिया दिएपछि आफू ठुलो हुने भ्रम छ । तपाईंहरूमा पनि यस्तो छ । तपाईंको एउटा पनि सुझाव ठिक थिएन के गर्ने मैले । अबमा यस्तो नगर्नुहोला ल भाइ ?

ओ माइ गड ! तपाईं त कत्ति घमण्डी ।

म घमण्डी होइन । तपाईंले लेखनमा त अलि भए पनि शुद्ध लेख्नुहुन्छ तर यहाँ कमा, सर,चेन्ज भन्ने शब्दहरूको नेपाली शब्दमा प्रयोग गर्नुपर्छ अनि हुन्छ तपाईंहरू भाषा शुद्धी अभियानका अभियन्ता,”ओ माइ गड !” हैन “हे भगवान् !” भन्न सिक्नुस् अनि हुन्छ सार्थक ।

हैन सर । लेखनमा नि गरौं न पहिले ।

तपाईंहरू जान्नु नि हुन्न । मेरो सुझाव के भने यो भाषा शुद्धी अभियानमा म नै बस्नु पर्छ भन्न खोजेको होइन तर अहिलेसम्म के कस्ता नयाँ व्याकरणहरू आए त्यसको ज्ञान भएका व्यक्तिहरू यस अभियानमा लाग्नुपर्छ मात्र भन्न खोजेको ।

प्लिज सर यस्तो घमण्ड नगर्नुहोस् । के तपाईंले कुनै मिस्टेक नै गर्नुभएको छैन भन्न खोज्नुभएको ?

खयर छोडौं अब पुग्यो मलाई । प्लिज होइन कृपया भन्न सिक्नुहोस् । मिस्टेक होइन अशुद्धी भन्न सिक्नुहोस् ।

हे सर ! बोल्नमा त यस्तो भइहाल्छ नि । वर्ड पो नबिगारौं भनेको नि । मैले त हाँसो थाम्नै सकिन । जोक धेरै गर्नुभयो सरले । बरु सर हाँस्य कलाकारमा भर्ती हुनुहोस् । सरले सबैलाई पछार्नुहुनेछ ।

ल भो भो तपाईंहरूको भाषा शुद्धी अभियान गैर सरकारी संगठन रहेछ । बरु मेरो एउटा मात्र अन्तिम सुझाव छ, तपाईहरूले यसलाई मात्र यस अभियानमा कृपया जोड दिइदिनुहोला । त्यो के भने जथाभावी शब्द प्रयोग गरेर लेखेकोलाई कृपया शृङ्गार रसका शब्द नभनिदिनुहोला ।

सर ! यसरी भने त आजकाल पाखे भन्छन् । “गैर सरकारी संगठन” होइन सर एनजिओ भन्नुहोस् । हो नि सर ! हाम्रो यो भभियान एनजिओ जस्तै त हो नि सर । अनि जथाभावी शब्द प्रयोगलाई होइन सर ! भल्गर वर्ड युजलाई हामी शृङ्गार शब्द भन्छौं । यो ध्रुवशत्य हो ।

ल ल बधाई छ । तपाईंहरूले धेरै बुझ्नुभएको रहेछ । यहाँहरूको यो अभियानलाई अपार सफलता प्राप्त होस् । अरु के भन्ने मैले ।

२०७३ भदौ १७
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *