Skip to content

आमाको माया


चार छोरापछि छोरीको जन्म भएको थियो । वास्तवमा छोरीको आगमन हामीलाई लक्ष्मीको आगमनभन्दा बढी लागेको थियो । पूर्णिमाकी जून जस्ती हाम्री छोरी साच्चै नै साह्रै सुन्दरी थिइन् ।

दिन बित्दै गए । छोरी ठूली हुँदै गइन । के गर्नु छोरी एउटै हुन भनेर बिहे नगरीकन राखेर नहुने रहेछ । नजिकै चिने जानेको ठाउँबाट कुरा आयो, छोरीको उमेर सानै छ भनेर हामीले छोड्न सकेनौँ र छोरीलाई विवाह गरेर दियौँ ।

केही वर्षको अन्तरालमा नातिनातिना जन्मे । ज्वाइँको बिदेशमा नोकरी राम्रै थियो । राम्रोसँग चलेको थियो परिवार । सानो उमेरमा नै बिहे गरेर दिएपनि कुनै पछुतो थिएन ।

समयको चक्र केही थाहै नहुने रहेछ । ज्वाइँ अचानक एकदिन कै बिमारले जानुभयो । अनि हामीलाई ठूलो पछुतो भयो । सानैमा बिहे गरिदियौँ । नातिनातिना बेलैमा भएपनि छोरीको उमेर खासै धेरै भएको थिएन ।

दैवको लिला जे परेपनि जसो परेपनि सहनै पर्ने रहेछ । समय बित्दै गयो । झन् लाउँ लाउँ र खाउँ खाउँ भन्ने उमेरमा छोरीको जीवन एक्लो देख्दा उराठ लाग्थ्यो ।

एकदिन हामी लगायत आफ्ना सबै इष्टमित्र भएर छोरीको भविष्य माथि छलफल गर्यौँ र पुनः बिहे गरिदिने निर्णय गर्यौँ र छोरीलाई सोध्यौँ ।

ऊ केही पनि बोलिन । स्वीकृति नै होला ठान्यौँ र कुरा अगाडि बढायौँ । कुरा अगाडि बढाउँदासम्म पनि छोरी केही बोलिन । दिन नजिकिँदै गए । खै छोरी किन हो बोल्नै छाडी, उसले खाना पनि राम्रोसँग नखाने भई । तर केही भनिन ।

बिहेको तयारी भइरहेकै थियो । म लगायत केही आफन्तहरू पनि तयारीमा जुटेका थियौँ । त्यही क्रममा छोरी आई र भनी, “आमा म छोराछोरी छाडेर बस्न सक्दिन । छोराछोरी सहित यही घरमा बस्न मिल्ने भए मात्रै गर्छु नत्र गर्दिन् पुनर्विवाह……. ।”

शारदा पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *